संक्षेपमा
- कुर्सीमा बाँधिएकी वृद्ध महिलाको घाँटी कसिएर मृत्यु।
- अल्जाइमर पीडित महिलाको सुरक्षामा गम्भीर लापरबाहीको आशंका।
- प्रहरीद्वारा घटनालाई आपराधिक मुद्दाका रूपमा अनुसन्धान सुरु।
फिनल्यान्डको तुर्कुस्थित एस्पेरी केयर होममा एक वृद्ध महिलाको कुर्सीको पेटीले घाँटी कसिएर मृत्यु भएको छ। अल्जाइमर रोगबाट पीडित ती महिलालाई सुरक्षाका लागि भन्दै कुर्सीमा बाँधिएको अवस्थामा यो दुखद घटना घटेको हो।
तुर्कुको स्थानीय पत्रिका तुरुन सानोमातका अनुसार घटना गत डिसेम्बर ७ मा तुर्कुको रुनोसमाकी क्षेत्रमा रहेको ओत्सो (Otso) केयर होममा भएको हो। प्रहरीका अनुसार ती महिलालाई दुईवटा पेटीले कुर्सीमा बाँधिएको थियो।
प्रहरीले ती महिलाले बन्धनबाट फुत्किने प्रयास गर्दा घाँटी कसिएर ज्यान गएको हुनसक्ने आशंका गरेको छ। दक्षिण-पश्चिम फिनल्यान्ड प्रहरीले यस विषयमा अहिले विस्तृत अनुसन्धान गरिरहेको छ।
मृतकका एक आफन्तले प्रहरीले वृद्धाको घाँटीमा चोट र निलडाम फेला पारेको फिनल्यान्डको सार्वजनिक प्रसारक YLE सँगको कुराकानीमा बताएकी छन्। उनले आफ्नो परिवारलाई वृद्धालाई दिउँसोको समयमा बाँधेर राखिने कुरा पहिले थाहा नभएको पनि जानकारी दिएकी छन्।
एस्पेरी केयरले घटनाको पुष्टि गर्दै आन्तरिक छानबिन सुरु गरेको बताएको छ। यद्यपि प्रहरी अनुसन्धान जारी रहेकाले उनीहरूले अहिले थप टिप्पणी गर्न अस्वीकार गरेका छन्।
ओत्सो केयर होममा मध्यम र कडा खालको अल्जाइमर भएका करिब २० जना वृद्धवृद्धाहरू बस्ने गर्छन्। उक्त केयर होमको नियम अनुसार बिरामीको सुरक्षाका लागि मात्र अन्तिम विकल्पको रूपमा बाँध्ने प्रक्रिया अपनाइन्छ।
तर यस्तो निर्णय डाक्टरले गर्नुपर्ने र परिवारलाई अनिवार्य जानकारी दिनुपर्ने प्रावधान छ। यो घटनापछि फिनल्यान्डका केयर होमहरूमा वृद्धवृद्धाको सुरक्षा र हेरचाहको विषयमा गम्भीर प्रश्न उठेको छ।
फेरिएको छ चलन
फिनल्यान्डमा केयर होमहरूको सुरक्षा व्यवस्था र अनुगमनमा पछिल्लो समयमा ठुलो परिवर्तन आएको छ। पहिले यस्ता संस्थाहरूको प्रत्यक्ष अनुगमन सरकारी निकाय Valvira ले गर्ने गर्थ्यो।
अहिले धेरैजसो केयर होमहरूले ‘सेल्फ मनिटरिङ्ग’ अर्थात् आफ्नै आन्तरिक अनुगमन प्रणाली प्रयोग गर्छन्। यो प्रणाली अन्तर्गत संस्थाले आफैँ आफ्नो सेवाको गुणस्तर र सुरक्षाको जिम्मेवारी लिनुपर्ने हुन्छ।
अल्जाइमर जस्ता गम्भीर मानसिक रोग भएका बिरामीहरू कहिलेकाहीँ शारीरिक रूपमा सक्रिय हुने हुँदा उनीहरूलाई चोटपटकबाट जोगाउन चुनौतीपूर्ण मानिन्छ। यद्यपि बिरामीलाई बाँधेर राख्ने कार्यलाई मानव अधिकारसँग जोडेर फिनल्यान्डमा कडा कानुनी बहस हुने गरेको छ।





