फिनल्यान्डको बेरोजगारी दर सन् २००९ यताकै उच्च बिन्दुमा पुगेको छ। सरकारी तथ्याङ्क विभाग Statistics Finland का अनुसार डिसेम्बर २०२५ मा यो दर १०.७ प्रतिशत पुगेको हो।
पछिल्लो तथ्याङ्कका अनुसार अहिले फिनल्यान्डमा बेरोजगारको संख्या २ लाख ७७ हजार पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ५१ हजारले बढी हो।
युवाहरूमा बेरोजगारीको समस्या अझै गम्भीर देखिएको छ। १५ देखि २४ वर्ष उमेर समूहमा बेरोजगारी दर २२.९ प्रतिशत पुगेको पाइएको छ।
पुरुष र महिला दुवै समूहमा बेरोजगारको संख्या बढेको छ। बेरोजगार पुरुषको संख्या १ लाख ५४ हजार र महिलाको संख्या १ लाख २३ हजार रहेको छ।
एक वर्ष वा सोभन्दा बढी समयदेखि काम नपाउनेहरूको संख्या पनि उल्लेख्य बढेको छ। फिनल्यान्डमा अहिले १ लाख ३८ हजार मानिसहरू लामो समयदेखि बेरोजगार रहेको तथ्याङ्कले देखाएको छ।
तथ्याङ्क विभागका वरिष्ठ अधिकारी तातु लेस्किनेनले रोजगारीको कुल संख्यामा भने ठूलो गिरावट नआएको बताए। उनका अनुसार रोजगारीको स्तर अघिल्लो वर्षकै हाराहारीमा रहनु सकारात्मक पक्ष हो।
अहिले फिनल्यान्डमा २५ लाख ४७ हजार मानिसहरू रोजगारीमा आबद्ध छन्। यो संख्या सन् २०२४ को डिसेम्बरको तुलनामा ७ हजारले मात्र कम हो।
श्रम शक्तिमा सहभागी हुने दर भने अघिल्लो वर्षको तुलनामा केही बढेको देखिएको छ। १५ देखि ७४ वर्ष उमेर समूहका ३३ हजार मानिसहरू श्रम बजारमा नयाँ सहभागी भएका छन्।
सन् २००९ को विश्वव्यापी आर्थिक मन्दीपछि फिनल्यान्डमा बेरोजगारीले यो स्तर छोएको पहिलो पटक हो।
लामो समयदेखि काम नपाउने मानिसहरूको संख्या अघिल्लो वर्षको तुलनामा २८ हजारले बढेको छ। यसमा पनि दुई वर्षभन्दा बढी समयदेखि काम नपाउनेहरूको संख्या ६८ हजार ४ सय पुगेको छ।





