यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
अमेरिकी अरबपति तथा यौन अपराधी जेफ्री एप्स्टीनसँग सम्बन्धित नयाँ दस्ताबेजहरू सार्वजनिक भएपछि नर्वेको राजपरिवार गम्भीर नैतिक सङ्कटमा परेको छ।
भर्खरै सार्वजनिक भएका यी नयाँ दस्ताबेजहरूले नर्वेकी युवराज्ञी मेटे-मारिटको एप्स्टीनसँगको सम्बन्ध सामान्य चिनजान मात्र नभएर निकै घनिष्ठ रहेको देखाएको छ।
सार्वजनिक विवरण अनुसार युवराज्ञी मेटे-मारिटको नाम एप्स्टीनका दस्ताबेजहरूमा सयौँ पटक उल्लेख भएको पाइएको छ। उनीहरूले निरन्तर सम्पर्कमा रहेर विभिन्न विषयमा कुरा गरेको पनि खुलेको छ।
युवराज्ञीले इमेलमा एपस्टिनलाई आफ्नो पारिवारिक जीवनको बारेमा सुनाउँथिन् र सल्लाह पनि माग्थिन्। उनीहरूबिच साहित्य, अनुसन्धान, ध्यान र स्वास्थ्य लगायतका विषयमा पनि कुराकानी हुने गर्थ्यो। उनीहरूबिच ख्यालठट्टा पनि हुने गरेको थियो।
यसअघि सन् २०१९ मा नर्वेजीयन सञ्चारमाध्यमले उनीहरूको सम्बन्धबारे प्रश्न उठाउँदा युवराज्ञीले एप्स्टीनको विगतबारे आफूलाई जानकारी नभएको र सन् २०११ देखि २०१३ बिच केही पटक मात्र भेटेको बताएकी थिइन्।
उनी एप्स्टीनको अमेरिकास्थित घरमा चार दिन बसेको र एप्स्टीनले नै उनका लागि कस्मेटिक उपचारको व्यवस्था मिलाइदिएको नयाँ दस्ताबेजमा देखिएको हो।
“जेफ्री एपस्टीनले जे-जे गरे, त्यसको जिम्मेवार उनी आफै हुन्।” शुक्रवार एपस्टीनका थप कागजातहरू सार्वजनिक भएपछि युवराज्ञी मेट-मारिटले जारी गरेको विज्ञप्तिमा भनेकी छन्। “तर उनको पृष्ठभूमि राम्ररी नबुझी उनीसँग सङ्गत गरेकोमा र उनी कस्तो खालको मान्छे हुन् भनेर समयमै चिन्न नसकेकोमा चाहिँ म आफैले जिम्मेवारी लिनुपर्छ।”
युवराज्ञी मेटे-मारिटका विवाहपूर्वको सम्बन्धबाट जन्मिएका जेठा छोरा मारियस बोर्ग होइबीमाथि नर्वेमा बलात्कार र लागु औषध ओसारपसारको गम्भीर आरोप लागेकै बेला युवराज्ञीमाथि एप्स्टीनसँग गहिरो सम्बन्ध रहेको खुलासा भएको हो।
यी दुवै प्रकरण एकै पटक बाहिर आउँदा नर्वेको राजसंस्थाले अभूतपूर्व नैतिक सङ्कट खेपेको नर्वेजीयन मिडिया र विश्लेषकहरूले लेखेका छन्।
को थिए एप्स्टीन?
जेफ्री एप्स्टीन एक अमेरिकी अरबपति थिए। उनले आफ्नो “सेक्स ट्राफिकिङ” को सञ्जाल चलाउन विश्वका प्रभावशाली व्यक्तिहरूसँग सम्बन्ध बिस्तार गर्ने गरेका थिए।
उनले विश्वका शक्तिशाली नेता, व्यापारी र सेलिब्रेटीहरूसँग सम्बन्ध बनाएर उनीहरूलाई कम उमेरका किशोरीहरूसँग यौन सम्बन्ध राख्न बाध्य पार्थे।
सन् २०१९ मा हिरासतमा उनको मृत्यु (आत्महत्या गरेको भनिएको) भए पनि उनका सहयोगी घिस्लेन म्याक्सवेलको सुनुवाइपछि अदालतले एप्स्टीनसँग सम्बन्धित लाखौँ गोप्य दस्ताबेजहरू सार्वजनिक गर्ने आदेश दिएको थियो।
उनको मृत्युपछि अदालतको आदेशमा सार्वजनिक भइरहेका यी दस्ताबेजहरूले विश्वका धेरै प्रतिष्ठित व्यक्तिहरूको एप्स्टीनसँगको सम्बन्ध रहेको पर्दाफास गरिरहेको छ।
अमेरिकी पूर्व राष्ट्रपतिहरू, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि बेलायती राजकुमार एन्ड्र्यूसम्मको नाम मुछिएको छ।
एप्स्टीनको आपराधिक सञ्जाल फिनल्यान्डसम्म फैलिएको गोप्य दस्ताबेजहरूले देखाउँछन्।
फिनिस नामहरू पनि मुछिए
एप्स्टीनको आपराधिक सञ्जाल फिनल्यान्डसम्म फैलिएको गोप्य दस्ताबेजहरूले देखाउँछन्।
सार्वजनिक भएका फाइलमा नोकियाका पूर्व कार्यकारी तथा फिनल्यान्डका पूर्व राष्ट्रपति मार्ती आहतीसारीका छोरा मार्को आहतीसारीको नाम उल्लेख छ भने केही फिनिस महिलाहरूसँग एप्स्टीनले सम्पर्क बढाएको पाइएको छ।
भेन्चर क्यापिटलिस्ट जोइ इतोको प्रस्तावमा मार्को र एप्स्टीनबीच सन् २०१३ को नोभेम्बरमा भेटघाट तय भएको इमेलले देखाएको छ।
यो विषयमा फिनिस राष्ट्रिय प्रसारण संस्था YLE लाई प्रतिक्रिया दिएका मार्को आहितेसारीले उक्त भेट स्वीकार गरेका छन्। उनले त्यो भेट एकदमै छोटो र एक पटक मात्र भएको तथा त्यसपछि एप्स्टीनसँग कुनै सम्पर्क नभएको बताएका छन्।
मार्कोले एप्स्टीनसँग आफ्नो कुनै व्यावसायिक सम्बन्ध नरहेको बताउँदै एप्स्टीनका अपराधको कडा शब्दमा निन्दा गरेका छन्।
एप्स्टीनका इमेलहरूमा फिनल्यान्डका महिलाहरूको यात्रा र भेटघाटका विषयमा छलफल भएको भेटिएको छ। एक जना फिनिस महिलाले एप्स्टीनलाई भेट्नका लागि हवाई टिकट समेत प्राप्त गरेको तर अर्की एक महिलाले जागिरको खोजीमा सम्पर्क गरे पनि काम नपाएको विवरण फेला परेको छ।
एक इमेल आदानप्रदानमा नाम गोप्य राखिएका एक व्यक्तिले एप्स्टीनलाई “तपाईँले भेट्नै पर्ने” भन्दै एक फिनिस महिलाको सिफारिस गरेका थिए।
ती व्यक्तिका अनुसार फ्लोरिडामा आमाबुवा बस्ने ती महिलाको रूप रङ्गको वर्णन गरिए पनि एप्स्टीनसँग उनको भेट भए नभएको चाहिँ इमेलबाट खुल्दैन।

सन् २०१८ मा एप्स्टीनले फिनल्यान्डबाट एक निजी सहायक (असिस्टेन्ट) भर्ना गर्न खोजेको अर्को विवरण पनि फेला परेको छ।
स्काइप मार्फत् एक फिनिस युवतीसँग करिब ३० वटा सन्देश आदानप्रदान गरेका एप्स्टीनले उनको बायोडाटा (CV) र राहदानी (पासपोर्ट) को फोटोकपी मागेका थिए।
ती युवतीको उमेरमा केही द्विविधा देखिएपछि एप्स्टीनले “ट्रायलका लागि अर्को व्यक्ति राखिसकिएको” भन्ने जवाफ फर्काएका थिए।








