संक्षेपमा
- हेलसिन्कीमा ‘बाटो समिट २०२६’ को आयोजना हुने।
- हुनेछ विभिन्न विज्ञ तथा लगानीकर्ताको सहभागिता।
- प्रवासी नेपालीमा उद्यमशीलताको मानसिकता जगाउने मुख्य उद्देश्य।
तपाईँसँग स्टार्टअपका लागि नयाँ आइडिया त छ, तर कसरी अगाडि बढ्ने भन्नेमा अलमलिनु भएको छ? योजना एकदम राम्रो छ, तर लगानी गर्ने मान्छे कहाँ खोज्ने भन्ने थाहा छैन? अथवा स्टार्टअप कम्पनी त सुरु गरिसक्नु भएको छ तर अरू सफल उद्यमीहरूको अनुभव र उनीहरूको यात्राको बारेमा सुन्न र बुझ्न चाहनुहुन्छ?
आगामी मार्च १३ का दिन हेलसिन्कीमा ठ्याक्कै यस्तै विषयहरू समेटिएको एउटा विशेष कार्यक्रम आयोजना गरिँदै छ, र त्यो कार्यक्रम हो: बाटो समिट २०२६
यो समिटले नर्डिक र युरोप क्षेत्रका १५० भन्दा बढी नेपाली तथा अन्तर्राष्ट्रिय संस्थापक, लगानीकर्ता र स्टार्टअप प्रेमीहरूलाई एकै ठाउँमा ल्याउनेछ।
समिटको मुख्य नारा ‘नेपाली उद्यमशील मानसिकताको निर्माण’ रहेको छ।
समिटका आयोजक Bato Oy का संस्थापक तथा प्रमुख कार्यकारी विकास गुरुङले नेपाली डायस्पोराभित्र उद्यमशीलतालाई बलियो बनाउने लक्ष्य राखेर उक्त समिटको आयोजना गरेको नेपालीलाइनेनलाई बताए।
फिनल्यान्ड र युरोपमा नेपाली समुदायमा प्रतिभा र महत्त्वाकाङ्क्षा भए पनि उद्यमशीलता अझै सुरुवाती चरणमै छ। धेरै कम व्यक्तिले मात्र कम्पनी खोल्ने वा यहाँको स्टार्टअप इकोसिस्टममा सक्रिय हुने आँट गरेका छन्।
गुरुङका अनुसार बाटो समिटले यही अवस्था परिवर्तन गर्न खोजेको हो। यसले जोखिम लिने क्षमता, दीर्घकालीन सोच र इकोसिस्टममा सक्रिय सहभागिता बढाउन मद्दत गर्नेछ। साथै यसले अर्को पुस्ताका नेपाली संस्थापकहरूका लागि उद्यमशीलतालाई एक विश्वसनीय र यथार्थपरक बाटो बनाउनेछ।
उक्त समिटलाई नेपालीलाइनेनले पनि मिडिया पार्टनरको रूपमा सघाइरहेको छ।
छोटकरीमा
के? बाटो समिट २०२६ (Bato Summit 2026)
कहिले? शुक्रवार मार्च १३ दिउँसो १२ बजेदेखि साँझ ६, साँझ ६ः३० देखि राति १२ः०० नेटवर्किङ जमघट
कहाँ? Maria 01, काम्पी, हेलसिन्की
प्रवेश शुल्कः विद्यार्थी १९ युरो, स्टार्टअप २९ युरो, अन्य सहभागी ३९ युरो, लगानीकर्ता ४९ युरो
थप जानकारी र टिकटः https://batotheroad.com/event
यस्तो हुनेछ कार्यक्रम
समिटमा स्टार्टअप र लगानी क्षेत्रका अनुभवी विज्ञहरूको बलियो उपस्थिति रहनेछ। वक्ताहरूमा फिनल्यान्डस्थित Maria01 की सिइओ सरिता रुनेबर्ग र Antler Finland का जनरल पार्टनर युस्सी कालसभुओ छन्।
हेलसिन्कीमा रहेको Maria01 नर्डिक क्षेत्रकै सबैभन्दा ठुलोमध्ये एक स्टार्टअप क्याम्पस हो।
त्यस्तै अमेरिकामा रहेको Momo VC की जनरल पार्टनर प्रीति अधिकारी र SisuCare का संस्थापक विजय बानियाँले पनि आफ्नो अनुभव बाँड्नेछन्।
फिनल्यान्डमै रहेर प्रविधि क्षेत्रमा काम गरिरहेका Resimator का संस्थापक वरुण बस्याल र डेनमार्कबाट Nordic Makers की निमा सोफिया टिसडाल पनि वक्ताका रूपमा रहनेछन्।
सहभागीहरूमध्ये धेरैजसो फिनल्यान्डका भए पनि डेनमार्क, जर्मनी, बेलायत र अमेरिकाबाट समेत उपस्थिति रहनेछ।

कार्यक्रममा मुख्य मन्तव्य, प्यानल छलफल, नेटवर्किङ र स्टार्टअप प्रदर्शनीहरू समावेश छन्। सहभागीहरूले नर्डिक स्टार्टअप र लगानीको वातावरणबारे व्यावहारिक ज्ञान र मार्गदर्शन पाउनेछन्।
समिटमा यो क्षेत्रमा कम्पनी बनाइरहेका नेपाली संस्थापकहरूको वास्तविक कथाहरूलाई पनि प्राथमिकता दिइने आयोजकले बताएको छ।
यो सम्मेलन ‘बाटो’ (Bato Oy) नामक संस्थाले आयोजना गरेको हो। यसको स्थापना सन् २०२५ मा विकास गुरुङ गरेका हुन्। गुरुङ विगत २० वर्षदेखि फिनल्यान्डमा बस्दै आएका छन् र उनी यहाँको स्टार्टअप इकोसिस्टम तथा बहुचर्चित Slush जस्ता ठुला कार्यक्रमहरूको व्यवस्थापनमा लामो अनुभव सँगालेका व्यक्ति हुन्।
फिनल्यान्ड विश्वकै उत्कृष्ट स्टार्टअप इकोसिस्टममध्ये एक मानिन्छ। यद्यपि नेपाली-मूलका व्यक्तिले खोलेका स्टार्टअपहरू भने केही सङ्ख्यामा मात्र छन्।







