0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डले टुङ्गायो नयाँ शरणार्थी कोटा, चार मुलुकका नागरिकलाई प्राथमिकता

    सरकारले अघिल्ला दुई वर्षकै नीतिलाई निरन्तरता दिँदै सबैभन्दा जोखिममा रहेका समूहलाई प्राथमिकतामा राखेको छ।

    संक्षेपमा


    • यो वर्षका लागि ५०० जनाको शरणार्थी कोटा कायम।
    • इरान, टर्की र रुवान्डा लगायतका देशमा रहेका शरणार्थी ल्याइने।
    • महिला, बालबालिका र अपांगता भएकालाई विशेष प्राथमिकता।

    फिनल्यान्ड सरकारले सन् २०२६ का लागि शरणार्थी कोटा ५०० जना कायम गर्ने निर्णय गरेको छ। सरकारले कुन देशबाट कति र कस्ता शरणार्थी ल्याउने भन्ने विषयमा पनि स्पष्ट खाका तयार पारेको छ।

    यो वर्षको कोटा बाँडफाँड सन् २०२४ र २०२५ कै जस्तै रहेको छ। निर्णय अनुसार फिनल्यान्डले इरानमा रहेका १५० जना अफगानी र रुवान्डामा रहेका १२० जना कंगोली शरणार्थी ल्याउनेछ।

    त्यस्तै टर्कीबाट १०० जना सिरियाली र पेरुबाट ५० जना भेनेजुएलाका नागरिकलाई कोटामा समावेश गरिएको छ।

    यसका अतिरिक्त लिबियाबाट रुवान्डामा सारिएका ३० जना शरणार्थीलाई पनि फिनल्यान्ड ल्याइनेछ।

    सरकारले आपतकालीन अवस्थामा रहेका ५० जनाका लागि पनि छुट्टै कोटा सुरक्षित गरेको छ। यो समूहमा आपतकालीन उद्धार आवश्यक पर्ने कुनै पनि राष्ट्रियता वा क्षेत्रका व्यक्ति पर्न सक्नेछन्।

    कसरी हुन्छ शरणार्थी छनोट?

    शरणार्थी छनोट गर्दा स्थलगत अन्तर्वार्तालाई मुख्य आधार मानिने फिनल्यान्डको गृह मन्त्रालयले जनाएको छ।

    छनोट प्रक्रियामा सबैभन्दा जोखिममा रहेका समूह, विशेषगरी महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने सरकारी नीति छ।

    आफ्नो देशमा सांस्कृतिक वा जातीय रूपमा उत्पीडनमा परेका र शिविरहरूमा कष्टकर जीवन बिताइरहेकाहरूलाई सहयोग गर्ने उद्देश्य सरकारको रहेको छ।

    छनोट प्रक्रियामा सार्वजनिक सुव्यवस्था र राष्ट्रिय सुरक्षाको विषयलाई पनि गम्भीरतापूर्वक हेरिनेछ।

    यो प्रस्ताव गृह मन्त्रालयले रोजगार तथा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा तयार पारेको हो।

    यो क्रममा फिनिस अध्यागमन सेवा (Migri) र सुरक्षा गुप्तचर सेवा (Supo) सँग पनि परामर्श गरिएको सरकारी वक्तव्यमा उल्लेख छ।

    सन् २०२३ सम्म फिनल्यान्डको वार्षिक शरणार्थी कोटा १,०५० जना रहेको थियो, जसलाई वर्तमान सरकारले घटाएर ५०० मा झारेको हो।

    फिनिस अध्यागमन विभागको अनुमान अनुसार कोटाका अलावा सन् २०२६ भरिमा जम्मा १५०० देखि २५०० जनाले फिनल्यान्डको सिमानामा आएर शरणका लागि आवेदन दिनेछन्।

    फिनल्यान्डमा अहिले शरणका लागि आवेदन दिनेको संख्या घटिरहेको छ। सन् २०१५ मा करिब बत्तीस हजार शरणार्थीले शरणका लागि आवेदन दिएका थिए। त्यसयता उक्त संख्या घट्दै गएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप