यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
फिनल्यान्डकी पूर्वप्रधानमन्त्री सान्ना मारिनलाई पिछा गरेर सताएको आरोपमा चलेको मुद्दाको सुनुवाइ आज हेलसिन्की जिल्ला अदालतमा सकिएको छ।
सन् २०२४ को नोभेम्बरमा हेलसिन्कीको सडकबाट सुरु भएको र हप्तौँसम्म चलेको यो उत्पीडनको घटनामा ३७ वर्षीय विदेशी मुलका आरोपीले आफ्ना वकिलमार्फत मारिनसँग माफी माग्दै आफू मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेको बताएका थिए।
जिल्ला अभियोजकले आरोपीलाई पिछा गरेको र घरको शान्ति भङ्ग गरेको अभियोगमा सजायको माग गरेका थिए। अदालतले सजाय भने २७ फेब्रुअरीमा मात्र सुनाउने छ।
अदालतको सुनुवाइमा सान्ना मारिन आफैँ उपस्थित भएर आफ्ना कुरा र अनुभव राखेकी थिइन्।
आरोपी स्वयं भने अदालतमा उपस्थित हुन सकेनन्। उनका वकिलले दिएको जानकारी अनुसार आरोपी गम्भीर मानसिक समस्यामा छन् र हाल उपचार गराइरहेका छन्।
आरोपीले आफूमाथि लागेका सबै आरोपहरू र अभियोजकले प्रस्तुत गरेको घटना विवरण स्वीकार गरेका छन्। उनले वकिलमार्फत सन्देश पठाउँदै आफूले पुर्याएको मानसिक पीडाप्रति क्षमा मागेका छन्।
आरोपीले आफूले सताएका अन्य महिलाहरूसँग पनि माफी मागेका छन्।
सान्ना मारिन सुनुवाइ सुरु हुनुभन्दा केही समयअघि अदालत पुगेकी थिइन्। उनले आफ्नो पक्षमा कुनै वकिल राखेकी थिइनन्।
“मेरो एक मात्र चाहना यो हो कि यस्तो व्यवहार म वा अरू कसैप्रति नदोहोरियोस्।” उनले माफीबारे प्रतिक्रिया दिँदै अदालतमा भनेकी थिइन्।
सुनुवाइपछि उनी सञ्चारमाध्यमलाई कुनै प्रतिक्रिया नदिई बाहिरिइन्।
अदालतमा मारिनले यस घटनाले आफू र आफ्नो परिवारलाई निकै त्रसित बनाएको बताएकी थिइन्।
भएको खास के थियो?
मारिनका अनुसार घटनाको सुरुवात तब भयो जब ती अपरिचित व्यक्तिले उनलाई हेलसिन्कीको ट्राफिक लाइटमा बाटो काट्न उभिएको देखे।
बत्ती परिवर्तन भएपछि ती व्यक्ति कराउँदै मारिनको पछि दगुरेका थिए र उनलाई रोक्ने प्रयास गरेका थिए। उनलाई मारिनले अंग्रेजी भाषामा आफूसँग समय नभएको बताएर त्यहाँबाट हिँडेकी थिइन्।
त्यसको केही समयपछि ती व्यक्ति मारिनको घर वरपर देखा पर्न थाले। एकपटक प्रहरीले मारिनलाई सम्पर्क गरेर उनको घर नजिकै अनौठो व्यवहार गर्ने व्यक्ति पक्राउ परेको जानकारी दिएको थियो।
क्रिसमसको केही दिनअघि मारिनले ती व्यक्तिलाई आफ्नो घरको झ्यालबाट चियाइरहेको अवस्थामा देखिन्।
केही दिनपछि ती व्यक्तिले ढोकाको घण्टी बजाए। मारिनका प्रेमीले ढोका खोल्दा ती व्यक्तिले “सान्ना मारिन यहाँ बस्छिन्?” भनेर सोधेका थिए।
क्रिसमसको पूर्वसन्ध्यामा ती व्यक्ति फेरि आए। मारिनले ढोकाको सानो प्वालबाट हेर्दा ती व्यक्तिले ढोका ढकढक्याउने र लेटरबक्स खोल्ने प्रयास गरिरहेको देखिन्।
मारिनले जडान गरेको क्यामेरामा ती व्यक्तिले लगातार घण्टी बजाएको र ढोकाको पिपहोलमा म्वाइँ खाएको दृश्य कैद भएको थियो। प्रहरी आएपछि ती व्यक्ति पक्राउ परेका थिए।
अदालतमा मारिनले यस घटनाले आफू र आफ्नो परिवारलाई निकै त्रसित बनाएको बताएकी थिइन्।
मारिनका अनुसार उनकी छोरी घटनाका बेला घरमै थिइन् र निकै डराएकी थिइन्।
ती व्यक्तिले मारिनले ‘सिग्नल’ एपमार्फत समेत सम्पर्क गर्ने प्रयास गरेका थिए।
प्रहरी अनुसन्धानका क्रममा सुरुमा इन्कार गरे पनि अदालतमा ती व्यक्तिले सबै आरोप स्वीकार गरे। उनले आफू वास्तुकला हेर्न र किनमेल गर्न त्यस क्षेत्रमा गएको दाबी सुरुमा गरेका थिए।
ती व्यक्तिमाथि एस्पोमा आफ्नी पूर्वपत्नी र उनको बच्चालाई मार्ने धम्की दिएको अर्को गम्भीर आरोप पनि छ। साथै अर्की एक महिलालाई निजी स्वास्थ्य संस्थामा यौन दुर्व्यवहार गरेको आरोप पनि लागेको छ।
फिनल्यान्डको कानुनअनुसार ‘भाइनोआमिनेन’ अर्थात् कसैलाई निरन्तर पिछा गरेर वा सम्पर्क गरेर त्रसित बनाउनु फौजदारी अपराध हो।
सान्ना मारिन आफ्नो कार्यकालमा विश्वकै कान्छी प्रधानमन्त्री बनेर चर्चामा आएकी थिइन्।





