संक्षेपमा
- चार जना यात्रुको सकुशल उद्धार, कारमा रहेको कुकुरको भने मृत्यु।
- दुर्घटना किनाराभन्दा निकै पर कमजोर बरफमा।
- आफ्नै खुसीले बरफमा चलाइएको थियो गाडी।
फिनल्यान्डको हाङ्कोस्थित पूर्वी बन्दरगाह नजिकै शनिबार दिउँसो एउटा कार बरफ फुटेर समुन्द्रमा डुबेको छ। कारमा सवार चारै जना मानिसहरू बाहिर निस्कन सफल भए पनि एउटा कुकुर भने कारमै फसेको छ।
फिनिस समुन्द्री रक्षकका अनुसार यो घटना दिउँसोको समयमा भएको हो। कारमा जम्मा चार जना मानिस थिए। तीमध्ये तीन जना गाडी डुब्नासाथ झ्यालबाट बाहिर निस्कन सफल भएका थिए।
चौथो व्यक्ति भने डुब्दै गरेको कारमा करिब दुई मिनेटजति फसेका थिए। अन्ततः उनी पनि बाहिर निस्किए तर केही मिनेट चिसो पानीमै रहनुपर्यो।
पछि अरूले उनलाई तानेर निकालेका थिए। दुर्भाग्यवश कारमा रहेको कुकुर भने बाहिर निस्कन सकेन र कारसँगै डुब्यो।
फिनिस समुन्द्री रक्षकले हेलसिन्की सानोमात पत्रिकालाई बताए अनुसार उक्त कार किनाराबाट निकै टाढा खुला समुन्द्रमा डुबेको हो।
कारमा सवार चार जना आफ्नै इच्छाले बरफमाथि गाडी चलाउन गएका थिए।
बाहिरबात हेर्दा बरफको अवस्था राम्रो देखिएपनि पानीको बहाव र अन्य अवस्थाका कारण बरफ अप्रत्याशित रूपमा कमजोर हुन सक्ने विज्ञहरू बताउँछन्।
घटनाको पहिलो जानकारी एक बटुवाले दिएका थिए भने कारमा रहेकाहरूले पनि आपतकालीन सेवामा खबर गरेका थिए।
डुबेको कार अहिले समुन्द्रमा पूर्ण रूपमा हराएको छ। अब उक्त कारलाई के गर्ने र त्यसबाट इन्धन चुहिएर समुन्द्रमा मिसिन्छ कि मिसिँदैन भन्ने कुराको जाँच गरिनेछ।
यो दुर्घटना निकै गम्भीर भएको र डुब्दै गरेको कारबाट सबै जना सुरक्षित निस्कनु भाग्यले ठूलो साथ दिएको भन्दै स्थानीय पत्रिकाले लेखेका छन्।
फिनल्यान्डमा जाडोयाममा बरफ जमेको ताल वा समुन्द्रमाथि गाडी चलाउनु नौलो कुरा होइन, तर यो सधैं सुरक्षित हुँदैन।
सरकारले आधिकारिक रूपमा घोषणा गरेका ‘आइस रोड’हरू सुरक्षित मानिए पनि आधिकारिक ट्र्याकभन्दा बाहिर बरफमा गाडी चलाउँदा बरफको मोटाइ र गुणस्तर फरक पर्न सक्छ, जसले गर्दा यस्ता दुर्घटनाहरू हुने गर्छन्।
विशेष गरी समुन्द्रको बरफ तालको बरफभन्दा बढी जोखिमपूर्ण हुन्छ किनकि नुनिलो पानी र छालले बरफलाई कमजोर बनाउने गर्छ।





