संक्षेपमा
- वंशजको नागरिकतालाई निरन्तरता दिने बाचा।
- विदेशबाटै अनलाइन भोटिङको व्यवस्था गर्ने।
- सार्वभौम डायस्पोरा फन्ड स्थापना गर्ने योजना।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशी नागरिकता लिएका नेपालीहरूलाई वंशजको नागरिकताको निरन्तरता दिने महत्त्वाकाङ्क्षी योजना आफ्नो चुनावी वाचा पत्रमा सार्वजनिक गरेको छ।
पार्टीले ‘करार पत्र’ नाम दिएको चुनावी वाचा पत्र मार्फत प्रवासमा रहेका नेपालीको राजनीतिक र कानुनी अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता उक्त पार्टीले जनाएको हो।
रास्वपाले सार्वजनिक गरेको ५ बुँदे ‘नागरिक करार’ को पाँचौँ नम्बरमा प्रवासको विषयलाई प्राथमिकताका साथ उठाइएको छ। यसमा विदेशमा बस्ने नेपालीको वंशजको नागरिकता कायम राख्ने विषयलाई समेटिएको हो।
हाल नेपालको संविधान अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः रद्द हुने व्यवस्था छ। तर रास्वपाले आफ्नो लक्ष्यमा ‘वंशजको नागरिकताको निरन्तरता’ उल्लेख गर्दै विदेशमा रहेका नेपालीले लामो समयदेखी माग गर्दै आएको कुरालाई सम्बोधन गर्न खोजेको देखिन्छ।
नागरिकता सम्बन्धी व्यवस्था संविधानमै भएकाले यो व्यवस्था लागु गर्न त्यति सजिलो भने छैन। नेपालको संविधान संशोधन गर्न कम्तीमा संसद्मा दुई तिहाइ मतको आवश्यकता पर्छ।
रास्वपाले वंशजको नागरिकताको निरन्तरता कसरी सुनिश्चित गर्ने भनेर स्पष्ट खाका भने सार्वजनिक गरेको छैन।
नेपालको संविधान २०७२ ले ‘गैर-आवासीय नेपाली नागरिकता’ को व्यवस्था त गरेको छ तर त्यसले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिए पनि राजनीतिक अधिकार (भोट हाल्ने वा उम्मेदवार बन्ने) दिँदैन। अरू अधिकारहरू पनि सिमित छन्।
नागरिकता सम्बन्धी व्यवस्था संविधानमै भएकाले यो व्यवस्था लागु गर्न त्यति सजिलो भने छैन।
फिनल्यान्डका नेपाली पनि हुनेछन् लाभान्वित
नेपालमा नागरिकताको विषय सधै निकै पेचिलो हुने गरेकाले वंशजको नागरिकताको निरन्तरताको सम्भावना अहिलेका लागि भने निकै न्यून देखिन्छ।
तर केही गरी राजनैतिक सहमति जुट्यो भने फिनल्यान्ड लगायत अन्य धेरै मुलुकमा विदेशी नागरिकता लिएर बसेका वा नागरिकता लिने प्रक्रियामा रहेका नेपालीका लागि ठुलो राहत हुनेछ।
गत दश वर्षमा करिब १,८०० नेपालीले फिनल्यान्डको नागरिकता लिएको फिनिस अध्यागमनको पछिल्लो तथ्याङ्कले देखाउँछ।
फिनल्यान्डले दोहोरो नागरिकता स्वीकार गरे पनि नेपालको कानुनले यसलाई पूर्ण मान्यता नदिँदा धेरै आप्रवासी नेपालीले फिनल्यान्डमा नागरिकताका सबै सर्तहरू पुग्दा पनि नेपाली नागरिकता त्यागेका छैनन्।
नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाले भने ‘नेपाल जाँदा भिसा लगाएर जानु परेको’ भन्दै खिन्नता पोख्ने गरेका छन्।
अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता मुलुकका नागरिकता लिएर बस्ने नेपालीको संख्या त झन् निकै ठुलो छ।
रास्वपाले विदेशमा बस्ने नेपालीलाई अनलाइन मार्फत मताधिकार दिने व्यवस्था मिलाउने बाचा पनि गरेको छ।
करार पत्रमा ‘सार्वभौम डायस्पोरा फन्ड’ को कार्यान्वयन र सुरक्षित लगानीको वातावरण बनाउने कुरा पनि समेटिएको छ। साथै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने र विदेशबाट फर्किएकालाई सम्मानजनक वातावरण तयार पार्ने प्रतिबद्धता पनि जनाइएको छ।
करार पत्रमा पाँच वर्षभित्र नेपालको जिडिपीको आकार १०० अर्ब डलर र प्रतिव्यक्ति आय ३००० डलर पुर्याउने लक्ष्य पनि राखिएको छ। सामाजिक सञ्जालमा उक्त घोषणाको केहीले सराहना गरेका छन् भने केहीले चाहिँ नयाँ पार्टीले पनि ‘हावादारी’ कुरा गरेको भन्दै आलोचना गरेका छन्।






