संक्षेपमा
- हेलसिन्कीको माल्मिन्कार्तानोमा पहिलो भजन-किर्तन कार्यक्रम सम्पन्न।
- प्रत्येक १५ दिनको शनिबार साँझ नियमित कार्यक्रम हुने।
- गैर-सदस्य तथा महिलाहरू पनि कार्यक्रममा सहभागी हुन सक्ने।
नेपालको चर्चित स्वयंसेवी फेसबुक समूह Men’s Room Reloaded (MRR) अर्थात् एमआरआरको शाखाको रुपमा फिनल्यान्डमा पनि एमआरआर (टिम फिनल्यान्ड) को सुरुवात गरिएको छ।
नेपालमा स्थापित मूल समूहको मार्गलाई अनुसरण गर्दै फिनल्यान्डमा रहेका सदस्यहरूले यो सुरूवात गरेका हुन्।
उक्त समुहले हेलसिन्कीमा आफ्नो पहिलो कार्यक्रमको रुपमा भजन-किर्तन कार्यक्रम समेत सम्पन्न गरेको छ।
प्रवासमा रहेका नेपाली समुदायबीच आध्यात्मिक शान्ति र सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले यो पहल सुरु गरिएको समुहका सदस्यमध्ये एक प्रसिद्ध आचार्यले नेपालीलाइनेनलाई बताए।
एमआरआर फिनल्यान्डको पहिलो भजन-किर्तन कार्यक्रम यही फेब्रुअरी २० को साँझ हेलसिन्कीको माल्मिन्कार्तानोमा सम्पन्न भएको थियो।
आयोजकका अनुसार उक्त सांगीतिक तथा आध्यात्मिक भेलामा नेपाली समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो।
भविष्यमा पनि हुनेछ भजन-किर्तन
आयोजकका अनुसार भविष्यमा पनि भजन-किर्तन कार्यक्रम निरन्तर जारी रहने छ। प्रत्येक १५ दिनमा शनिबार साँझ ६ बजे नियमित रूपमा भजन साँझ आयोजना गर्ने समुहको तयारी छ।
एमआरआर मूलतः पुरुषहरूको समूह भए पनि भगवानको आराधनामा लैंगिक भेदभाव नहुने भन्दै महिलाहरूलाई पनि खुला गरिएको आचार्यले बताए।
साथै भजन-किर्तन कार्यक्रममा सहभागी हुन एमआरआरको सदस्य हुनैपर्ने बाध्यता छैन।
यो पहलले विदेशमा रहेका नेपालीहरूबीच धार्मिक भावना र आपसी सद्भावलाई अझ मजबुत बनाउने विश्वास आयोजक टोलीको छ। सामूहिक प्रार्थना र भेटघाटले परदेशको व्यस्त जीवनमा शान्ति दिने अपेक्षा गरिएको छ।
एमआरआर नेपालको निकै चर्चित र ठूलो स्वयंसेवी फेसबुक समूह हो। यसको स्थापना सन् २०११ डिसेम्बर ११ मा युवाहरूबीच रमाइलो गर्न र आपसी संवाद बढाउन भएको थियो।
“Brothers from different mothers” (फरक आमाका दाजुभाइ) भन्ने नारा बोकेको यो समूहले नेपालमा पनि विभिन्न स्थानमा भजन, रक्तदान तथा अन्य सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
पछिल्लो समय अध्ययन र रोजगारीका सिलसिलामा फिनल्यान्डमा नेपालीहरूको संख्या बढ्दै जाँदा, यस्ता सामाजिक तथा सांस्कृतिक गतिविधिहरूले आप्रवासी नेपालीहरूलाई आफ्नो पहिचान जोगाउन मद्दत पुर्याइरहेका छन्।





