यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
वर्षौंदेखि नेपालको कथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा बगेका आँसु र गाउँघरका उराठलाग्दा दृश्यहरूबाट लेखिँदै आएको छ।
देशको अर्थतन्त्रलाई रेमिट्यान्सले धाने पनि राज्यले सधैं आफ्ना प्रवासी नागरिकलाई केवल आर्थिक स्रोतको रूपमा मात्र हेर्यो।
पुराना शक्तिहरूले आफ्ना वाचा पूरा नगर्दा लाखौं नेपाली पसिना बगाउन विदेशिन बाध्य भए र गाउँघरहरू मलामी जाने युवासम्म नभएर ‘निर्जन’ बन्न पुगे ।
तर हालैको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ‘वाचा पत्र’ मार्फत यो पुरानो भाष्यलाई भत्काउने र प्रवासी नेपालीलाई राष्ट्र निर्माणको साझेदार बनाउने महत्त्वाकांक्षी खाका प्रस्तुत गरेको छ।
रास्वपाको वाचा पत्र (जसलाई उनीहरूले ‘नागरिक करार’ को रूपमा प्रस्तुत गरेका छन्) मा डायस्पोराको सामर्थ्य र ‘सौम्य शक्ति’ को विस्तार गर्ने सङ्कल्प गरिएको छ। ५ वर्षभित्र डेलिभरी दिन नसके आगामी निर्वाचनमा सजाय दिन पनि नागरिकलाई आह्वान गरिएको छ।
हामीलाई लाग्छ रास्वपाको निर्वाचन वाचा पत्रले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीको सपनालाई सम्बोधन गर्ने प्रयास गरेको छ।
कार्यान्वयन कस्तो हुने हो, हेर्न बाँकी छ। तर यदि उक्त वाचा पत्र कार्यान्वयन भयो भने विदेशमा रहेका नेपालीहरूको राज्यप्रतिको अपनत्व र अधिकारमा ऐतिहासिक रूपान्तरण आउनेछ। र नेपालको डायस्पोरा केवल रेमिट्यान्स पठाउने बाध्यकारी समूहबाट माथि उठेर, आफ्नो मातृभूमीको गौरव र विकासको प्रत्यक्ष साझेदार बन्नेछ।
रेमिट्यान्स पठाउने मेसिनबाट ‘ब्रेन गेन’ को आधार स्तम्भ
नेपालको परम्परागत राजनीतिले प्रवासी नेपालीलाई हेर्ने दृष्टिकोण अत्यन्तै साँघुरो थियो। रास्वपाले भने यो अवस्थालाई विश्वव्यापी नेपाली मानव पुँजीको खण्डित उपयोगको रूपमा औंल्याएको छ।
रास्वपाले प्रवासका दशौं लाख नेपालीहरूलाई केवल विप्रेषण पठाउने मानिस मात्र नभई, नेपालको ‘ब्रेन गेन’ र आर्थिक रूपान्तरणको मुख्य आधार स्तम्भको रूपमा हेर्ने नीति अघि सारेको छ।
“संसारभरि छरिएर रहेका नेपाली विद्वानहरुको ज्ञान, सीप र अनुभवलाई राज्यका नीति निर्माणमा सिधै जोड्ने संयन्त्र निर्माण गर्न आवश्यक देखिएको छ,” आफ्नो वाचा पत्रको पेज नं १० मा रास्वपाले लेखेको छ। “वैदेशिक रोजगारीमा रहेका श्रमिकमाथि शोषण अन्त्य गर्न दूतावासहरुलाई सेवाकेन्द्र बनाउने र पुनःएकीकरण कार्यक्रममार्फत सामाजिक सुरक्षा सुनिश्चित गरिने छ।”
हाल प्रवासी नेपालीको मताधिकार शून्य रहेको अवस्थालाई चिर्दै रास्वपाले विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन वा दूतावासमार्फत मताधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
मताधिकार र नागरिकता
प्रवासी नेपालीहरूको सबैभन्दा ठूलो पीडा भनेको आफ्नो देशको राजनीतिमा आवाजविहीन हुनु हो। हाल प्रवासी नेपालीको मताधिकार शून्य रहेको अवस्थालाई चिर्दै रास्वपाले विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन वा दूतावासमार्फत मताधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
नागरिकताको विषयमा पनि रास्वपा लचिलो देखिएको छ।
“गैरआवासीय नेपालीहरुको ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा आफूले सम्पत्तिको अधिकारसँग रहेका प्रशासनिक झन्झटहरुलाई तत्काल अन्त्य गर्न रास्वपा प्रतिबद्ध छ,” वाचा पत्रमा भनिएको छ।
गैर-आवासीय नागरिकताको फितलो कार्यान्वयन भइरहेको आजको अवस्थालाई सुधार गर्दै वंशजको नागरिकताको निरन्तरता दिने उक्त पार्टीको वाचामा उल्लेख छ।
हाल नेपालको संविधान अनुसार विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता स्वतः रद्द हुने व्यवस्था छ। तर रास्वपाले आफ्नो लक्ष्यमा ‘वंशजको नागरिकताको निरन्तरता’ उल्लेख गर्दै विदेशमा रहेका नेपालीले लामो समयदेखी माग गर्दै आएको कुरालाई सम्बोधन गर्न खोजेको देखिन्छ।
वंशजको नागरिकताको निरन्तरताका लागि संविधान संशोधन आवश्यक हुनेछ। त्यो काम अलि जटिल त हुनेछ, तर रास्वपाले चाहेमा अब असम्भव भने देखिन्न।
वंशज नागरिकताको निरन्तरता भए फिनल्यान्ड लगायत अन्य धेरै मुलुकमा विदेशी नागरिकता लिएर बसेका वा नागरिकता लिने प्रक्रियामा रहेका धेरै नेपालीका लागि ठुलो राहत हुनेछ।
गत दश वर्षमा करिब १,८०० नेपालीले फिनल्यान्डको नागरिकता लिएको फिनिस अध्यागमनको पछिल्लो तथ्याङ्कले देखाउँछ।
फिनल्यान्डले दोहोरो नागरिकता स्वीकार गरे पनि नेपालको कानुनले यसलाई पूर्ण मान्यता नदिँदा धेरै आप्रवासी नेपालीले फिनल्यान्डमा नागरिकताका सबै सर्तहरू पुग्दा पनि नेपाली नागरिकता त्यागेका छैनन्।
नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएकाले भने ‘नेपाल जाँदा भिसा लगाएर जानु परेको’ भन्दै खिन्नता पोख्ने गरेका छन्।
अमेरिका, बेलायत, अस्ट्रेलिया जस्ता मुलुकका नागरिकता लिएर बस्ने नेपालीको संख्या त झन् निकै ठुलो छ।
छन् अन्य विषयहरू पनि
वंशज नागरिकताको निरन्तरता र अनलाइन भोटिङ रास्वपाले प्रवासी नेपालीका लागि गरेका मुख्य वाचा हुन्। त्यसका अलावा उक्त पार्टीले वाचा पत्रमा अन्य विषयहरू पनि समेटेको छ।
खाडीदेखि युरोप र अमेरिकासम्म फैलिएका नेपालीहरूको आर्थिक सुरक्षा र मर्यादालाई पनि वाचा पत्रले प्राथमिकता दिएको छ।
‘सार्वभौम डायस्पोरा फण्ड’ को कार्यान्वयन मार्फत प्रवासीहरूले पठाएको पुँजीलाई राष्ट्रिय विकासमा जोड्ने र सुरक्षित लगानीको वातावरण बनाउने लक्ष्य वाचा पत्रमा राखिएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूमाथि हुने शोषण अन्त्य गर्न दूतावासहरूलाई स्रोत-सम्पन्न बनाउने पार्टीको योजना रहेको पनि रास्वपाले वाचा पत्रमा उल्लेख गरेको छ।
केवल विदेश पठाउने मात्र होइन, सुरक्षित लगानी र सम्मानित देश फिर्तीको वातावरण तयार गर्दै पुनः एकीकरणका प्याकेजमार्फत फर्केका नेपालीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता पनि वाचा पत्रमा व्यक्त गरिएको छ ।
कूटनीतिमा डायस्पोराको अवधारणा पनि वाचा पत्रमा ल्याइएको छ। अर्थात् नेपालको ‘सौम्य शक्ति’ (सफ्ट पावर) को बढ्दो उपयोग गर्न फैलँदो प्रवासी समुदाय केन्द्रित कूटनीतिलाई प्रश्रय दिने नीति रास्वपाले अङ्गीकार गरेको देखिन्छ।
यहाँ पढ्नुहोस् रास्वपाको पूर्ण वाचा पत्र।





