संक्षेपमा
- ८५ प्रतिशतले रंगभेद भोगेको वा देखेको पाइयो।
- आधाले मात्र रंगभेदका घटनामा हस्तक्षेप गर्ने गरेको पाइयो।
- रंगभेद अनलाइनमा झन धेरै।
फिनल्यान्डमा दश जनामा नौजना मानिसहरूले रंगभेदलाई एक गम्भीर समस्या मान्ने गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ। यद्यपि, रंगभेदको घटना देख्दा आधाले मात्र हस्तक्षेप गर्ने गरेको पनि उक्त सर्वेक्षणले देखाएको छ।
फिनिस रेडक्रसले हालै सार्वजनिक गरेको उक्त सर्वेक्षणले फिनल्यान्डमा रंगभेदको अवस्था र मानिसहरूको प्रतिक्रियाबारे महत्त्वपूर्ण तथ्यांक बाहिर ल्याएको हो।
सर्वेक्षण अनुसार करिब ८५ प्रतिशत मानिसले रंगभेदको घटना भोगेका वा देखेका छन्। तर तीमध्ये ५० प्रतिशतले मात्र यस्तो बेला हस्तक्षेप गरेका छन्।
धेरैले घटना छिट्टै सकिएको वा ‘के गर्ने भनेर थाहा नभएको’ बताएका छन्। त्यस्तै एक चौथाइ मानिसले हस्तक्षेप गर्न डर लाग्ने गरेको जवाफ दिएका थिए।
करिब ९० प्रतिशत उत्तरदाताले रंगभेदविरुद्ध कदम चाल्नु महत्त्वपूर्ण भएको बताएका छन्। उनीहरूका अनुसार आफूले नभोगे पनि यसले सुरक्षाको अनुभूतिलाई कमजोर बनाउने उनीहरुको बुझाई छ।
युवाहरूमा यो समस्या अझै धेरै देखिएको छ। १५ देखि २५ वर्षका ९५ प्रतिशत युवाले रंगभेद भोगेको वा देखेको बताएका छन्।
अधिकांश युवा (८६ प्रतिशत) ले अनलाइन र सामाजिक सञ्जालमा रंगभेद देखेका छन्। वयस्कहरूले यसविरुद्ध कडा कदम चालुन् भन्ने उनीहरूको चाहाना छ।
एन्टी–रेसिजम विशेषज्ञ भन्छिन्-साना प्रयासले पनि ठूलो सहयोग मिल्छ
फिनिस रेडक्रसकी एन्टी–रेसिजम विशेषज्ञ सान्ना सार्तोले रंगभेदले मानिसहरूलाई समुदायबाट एक्लाउने विज्ञप्तिमा बताएकी छन्।
“हामीले रंगभेदविरुद्ध कदम चाल्दा सबैका लागि सुरक्षित समाज निर्माण हुन्छ,” उनी भन्छिन्।
सार्तोका अनुसार स–साना प्रयासले पनि रंगभेद भोगिरहेकालाई ठूलो समर्थन मिल्छ।
“सबैले आ–आफ्नो कार्यस्थल वा समूहमा सकारात्मक प्रभाव पार्न सक्छन्,” उनले थपिन्।
यो सर्वेक्षण गत फेब्रुअरी १६ देखि १९ सम्म गरिएको थियो। सर्वेक्षणमा जम्मा १,१७९ जना सहभागी थिए।
तीमध्ये १०० जनाको मातृभाषा फिनिस, स्विडिस वा सामीबाहेकका अन्य भाषा थियो। सर्वेक्षणको नतिजामा ३.१ प्रतिशतको त्रुटि मार्जिन रहेको छ।
पछिल्लो समय फिनल्यान्डमा आप्रवासीहरूको संख्या बढ्दै जाँदा रंगभेद र विभेदका विषयहरूले सार्वजनिक बहसमा प्राथमिकता पाइरहेका छन्।





