यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- विदेशी कामदारबाट जबर्जस्ती तलब फिर्ता गराइएको आरोप।
- धेरै समय काम लगाएर ओभरटाइम भत्ता नदिएको कामदारको गुनासो।
- रेस्टुरेन्ट सञ्चालकद्वारा सबै आरोप अस्वीकार, कानुनी सफाइ पाउने दाबी।
फिनल्यान्डको एउटा चर्चित रेस्टुरेन्ट चेनका सञ्चालकहरूमाथि आफ्ना विदेशी कामदारहरूलाई ‘गम्भीर आर्थिक शोषण’ गरेको आरोपमा प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको समाचार बाहिरिएको छ।
फिनल्यान्डको राष्ट्रिय प्रसारण संस्था YLE को एक रिपोर्ट अनुसार तुर्कु, एस्पो, हेलसिन्की र ताम्पेरे जस्ता सहरमा सञ्चालित उक्त रेस्टुरेन्ट चेनका सञ्चालक दम्पतीले कामदारको बाध्यता र अज्ञानताको फाइदा उठाएको दाबी गरिएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान र पीडितहरूको बयान अनुसार सञ्चालकहरूले कामदारलाई बैंकमार्फत पूरा तलब भुक्तानी गरेपनि पछि नगदका रूपमा त्यसको ठूलो हिस्सा फिर्ता माग्ने गरेका थिए।
अनुसन्धानमा संलग्न चार विदेशी कामदारमध्ये दुई जनाले जति काम गरेपनि आफूले प्रतिमहिना केवल १,१०० देखि १,३०० यूरो मात्र हात पार्ने गरेको र बाँकी रकम मालिकलाई फिर्ता बुझाउनु परेको बताएका थिए।
पीडितहरूका अनुसार मालिकहरूले कामदारको आवास भाडा, ऋण भुक्तानी र सरकारी शुल्कका नाममा रकम कटौती गर्ने गरेका थिए।
YLE का अनुसार उक्त रेस्टुरेन्टका शाखाहरू तुर्कु, एस्पो, हेलसिन्की र ताम्पेरेमा छन् र उक्त चेनले मुख्यतः ककेसियन (युरोपियन) खानाहरु बेच्ने गर्छ। उक्त चेन निकै चर्चित र ग्राहकहरुले मन पराएको मध्ये एक रहेको स्थानीय फिनिस भाषाका मिडियाले लेखेका छन्।
हालै बाहिरिएको शोषणको घटना सन् २०१९ देखि २०२२ सम्म तुर्कुस्थित एक शाखामा भएको बताइएको छ। प्रहरीले घटनाको अनुसन्धान पूरा गरी फाइल सरकारी वकिलको कार्यालयमा पठाएको छ।
सीसीटीभी मार्फत निगरानी र श्रम सम्झौता उल्लंघन
अनुसन्धानका क्रममा उक्त चेनको ताम्पेरेस्थित रेस्टुरेन्टमा सञ्चालकले कामदारहरूलाई जानकारी नै नदिई सीसीटीभी क्यामेराबाट निगरानी गर्ने गरेको पाइएको छ।
YLE ले प्राप्त गरेका केही मेसेजहरूमा सञ्चालकले क्यामेराको स्क्रिनसट खिचेर कामदारको काम गर्ने शैलीमाथि प्रश्न उठाएको र गाली गरेको प्रमाण भेटिएको छ।
यसबाहेक क्षेत्रीय राज्य प्रशासनिक निकाय (AVI) को निरीक्षणमा थुप्रै श्रम नियमहरूको उल्लंघन भएको पाइएको छ।
कामदारको सिफ्ट तालिका नै नबनाइ काम गराइएको, ओभरटाइम काम गरे बापतको पारिश्रमिक नदिइएको, बिदाको समयमा पनि बिना पारिश्रमिक काममा लगाइएको र केही कामदारलाई सुरुवाती समयमा वर्क पर्मिट (काम गर्ने अनुमति) बिना नै काममा लगाइएको पाइएको थियो।
उक्त रेस्टुरेन्ट चेनमा फिनिस कामदारहरू पनि थिए। तर विदेशी कामदार र फिनिस कामदारलाई गरिने व्यवहार पुरै फरक थियो।
उक्त रेस्टुरेन्ट चेनमा फिनिस कामदारहरू पनि थिए। तर विदेशी कामदार र फिनिस कामदारलाई गरिने व्यवहार भने पुरै फरक थियो।
“विदेशी कामदारहरूलाई फिनिस कामदारहरूको तुलनामा नितान्त फरक र अपमानजनक व्यवहार गरिन्थ्यो,” अनुसन्धानका क्रममा एक पूर्व फिनिस कामदारले साक्षीका रूपमा भनेका थिए।
विदेशी कामदारहरूले बिस्तारै अंग्रेजी सिक्दै गएपछि र फिनिस सहकर्मीहरूले उनीहरूका अधिकारबारे बुझाएपछि मात्र आफूमाथि भइरहेको अन्यायको महसुस गरेका थिए।
दुई विदेशी कामदारले त आफूले नलिएको ऋणको किस्ता, साझा आवासको भाडा र अन्य सरकारी शुल्कका नाममा आफ्नो तलबबाट रकम काटिएको कुरा पनि निकै ढिलो मात्र थाहा पाएका थिए।
उनीहरूले आफ्ना फिनिस सहकर्मीसँग कुरा गरेपछि उनीहरू झस्किएका थिए र आफूहरू शोषित भएको बुझेका थिए।
सञ्चालकको दाबी: सानातिना प्राविधिक त्रुटि मात्र हुन्
आरोप लागेका सञ्चालक दम्पतीले सबै आरोप अस्वीकार गरेका छन्। आरोपित महिला स्थानीय फिनिस हुन् भने उनका श्रीमान विदेशी मूलका हुन्। यद्यपी श्रीमानले पनि फिनिस नागरिकता लिइसकेको YLE ले उल्लेख गरेको छ।
आरोपितले प्रहरीलाई दिएको बयानमा “कामदारहरूलाई उनीहरूको देशमा पैसा पठाउन मद्दत गरेको” र “फिनल्यान्डको कर प्रणाली नबुझेका कारण कामदारहरू झुक्किएको” दाबी गरेका छन्।
सञ्चालकहरूले AVI ले औंल्याएका कमजोरीहरूलाई “व्यवसायको सुरुवाती चरणमा हुने सानातिना प्राविधिक त्रुटि” भन्दै बचाउ गरेका छन्। हाल यो मुद्दा सरकारी वकिलको कार्यालयमा विचाराधीन छ।
फिनल्यान्डमा विदेशी कामदार र त्यो पनि रेस्टुरेन्ट र सरसफाइ क्षेत्रमा काम गर्नेहरूमाथि श्रम शोषणका घटनाहरू बेलाबेलामा बाहिर आउने गरेका छन्। भाषाको अज्ञानता र फिनल्यान्डको श्रम कानुनबारे जानकारी नहुँदा धेरै आप्रवासी कामदारहरू यस्तो शोषणको सिकार हुने गरेका छन्।





