संक्षेपमा
- साइकल चोरीको संख्यामा अघिल्लो वर्षभन्दा वृद्धि।
- बीमा कम्पनीहरूद्वारा १ करोड २० लाख युरो क्षतिपूर्ति भुक्तानी।
- विद्युतीय साइकलहरू चोरहरूको मुख्य निशाना।
फिनल्यान्डमा गत वर्ष साइकल चोरीका घटनामा वृद्धि भएको देखिएको छ। गत वर्ष बीमा कम्पनीहरूले १३,८०० वटा साइकल चोरी भएको रिपोर्ट प्राप्त गरे जुन अघिल्लो वर्षको तुलनामा ५०० ले बढी हो।
प्रहरीमा भने कुल १७,१०० वटा चोरीका उजुरी दर्ता भएका थिए। यसमध्ये करिब ३,००० चोरी भएका साइकलहरू विद्युतीय (e-bikes) रहेका छन्।
बीमा कम्पनीहरूले क्षतिपूर्ति स्वरूप गत वर्ष कुल १२ मिलियन युरो (१ करोड २० लाख युरो) भुक्तानी गरेका छन्। महँगा र विद्युतीय साइकलको बढ्दो प्रयोगले क्षतिपूर्ति रकममा पनि वृद्धि भएको हो।
सुरक्षा विज्ञहरुका अनुसार चोरहरू महँगा साइकलप्रति बढी आकर्षित छन्। कुन मोडलका साइकल चोरेर बेच्दा बजारमा राम्रो मूल्य आउँछ भन्ने कुरामा चोरहरू निकै जानकार रहेको देखिएको छ।
प्रयोग गरिएका साइकल किन्दा सधैं बिल वा खरिद गरेको रसिद माग्न र यदि साइकलको मूल्य अस्वाभाविक रूपमा कम छ भने त्यसमा केही गडबड हुन सक्ने बुझ्न विज्ञहरुको सुझाव छ।
साइकल चोरीबाट बच्न सम्भव भएसम्म ताल्चा लगाइएको स्टोर वा गोदाममा राख्नुपर्छ। यदि बाहिर राख्नुपर्ने भएमा सधैं सबैले देख्ने ठाउँमा राख्नु सुरक्षित हुन्छ।
साइकल लक गर्दा केवल टायरमा मात्र नभई फ्रेमबाटै कुनै स्थिर वस्तुमा बाँध्नुपर्छ। यसका लागि गुणस्तरीय ‘यु-लक’ (U-lock) वा पट्याउन मिल्ने मजबुत ताल्चा प्रयोग गर्न विज्ञहरूको सुझाव छ।
आफ्नो साइकलको तस्बिर र फ्रेम नम्बर पहिले नै खिचेर राख्नुपर्छ। चोरी भएको खण्डमा प्रहरी र बीमा कम्पनीलाई जानकारी दिन यी विवरणहरू आवश्यक पर्छन्।
फिनल्यान्डमा धेरैजसो होम इन्स्योरेन्सले साइकल चोरीलाई समेट्छ। साइकल हराएमा तुरुन्तै अनलाइनमार्फत प्रहरीमा उजुरी दिनुपर्छ र सोही उजुरीको आधारमा बीमा दाबी गर्न सकिन्छ।
फिनल्यान्डमा साइकल चोरीका घटनाहरू वसन्त र ग्रीष्म ऋतुमा अर्थात् ‘स्रिपिङ्ग’ र ‘अटम’मा बढी हुने गरेको पाइन्छ।





