संक्षेपमा
- नेपाली मन्त्रीहरूसँग अथाह सुन, जग्गा र सेयर।
- फिनल्यान्डका धेरै मन्त्रीहरू भने बैंक ऋणको भारमा।
- दुई देशको आर्थिक अवस्था र नेताहरूको सम्पत्तिमा ठूलो विरोधाभास।
हिजो नेपालमा सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेपालीलाइनेनले फिनल्यान्डका मन्त्रीहरूको चाहिँ सम्पत्ति कस्तो रहेछ भनेर खोजी गरेको छ।
फिनल्यान्डमा मन्त्री नियुक्त हुने बित्तिकै सम्पत्ति विवरण बुझाउने र त्यसलाई हरेक वर्ष अद्यावधिक गर्ने प्रचलन छ। फिनल्यान्डका मन्त्रीहरूले गत फेब्रुअरी महिनामा सरकारको तेस्रो वर्ष पुगेपछि आफ्नो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।
नेपालमा हिजो सार्वजनिक भएको र फिनल्यान्डमा तीन महिना अगाडी सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणले नेपाल र फिनल्यान्डबिचको रोचक विरोधाभास देखाएको छ।
फिनल्यान्डका मन्त्रीहरू सामान्य अपार्टमेन्ट र लाखौँ युरोको ‘होम लोन’मा देखिन्छन् भने अधिकांश नेपाली मन्त्रीहरूसँग करोडौँको सम्पत्ति र प्रशस्तै सुनचाँदी रहेको देखिन्छ।
फिनल्यान्डको प्रतिव्यक्ति आय करिब ५३ हजार डलर छ भने नेपालको करिब १४ सय डलर मात्र छ।
जम्मा ५७ लाख जनसङ्ख्या भएको फिनल्यान्डको अर्थतन्त्रको आकार करिब ३०० बिलियन डलरको छ। करिब तीन करोड जनसङ्ख्या भएको नेपाली अर्थतन्त्रको आकार भने केबल ४२-४५ बिलियन डलरको मात्र छ।
धनी छैनन् फिनल्यान्डका मन्त्रीहरू
फिनल्यान्डमा अहिले दक्षिणपन्थी पार्टीहरूको सरकार छ। सामान्यता: दक्षिणपन्थी राजनीतिज्ञहरूलाई व्यापार-मैत्री र वामपन्थीहरूभन्दा अलि धनी मानिन्छ।
तरपनि नेपालका मन्त्रीहरूसँग तुलना गर्दा भने फिनल्यान्डका दक्षिणपन्थी मन्त्रीहरू समेत निकै ‘गरिब’ देखिन्छन्।
सरकारी रिपोर्टमा उपलब्ध सम्पत्ति विवरणका अनुसार फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पोको हेलसिन्की र तुर्कुमा अपार्टमेन्ट छ। उनीसँग घरको किस्ताको लागि कुल दुई लाख एकाउन्न हजार युरो र कारको लागि नौ हजार युरोको ऋण बाँकी छ।
उनीसँग त्यो बाहेक करिब १ लाख ५५ हजार युरोको सेयर लगानी र अन्य केही स-साना लगानी देखिन्छन्।
सन् २००७ देखि नै सांसद रहँदै आएका ५६ वर्षीय प्रधानमन्त्री ओर्पो विगतमा फिनिस संसद्को सभामुख र अर्थमन्त्री समेत भैसकेका व्यक्ति हुन्। तैपनि उनको सम्पत्ति तुलनात्मक रूपमा निकै सामान्य देखिन्छ।
नेपालका प्रधानमन्त्री बालेन शाहले आफ्नो बैङ्क खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको र पत्नीसँग १९० तोला गहना समेत रहेको विवरण सार्वजनिक गरेका थिए। उनको परिवारको अन्य सम्पत्ति आमाबाबुको नाममा रहेको छ।
सामाजिक सञ्जालमा दसौँ लाख फलोअर भएका प्रधानमन्त्री शाहको सम्पत्ति पनि खासै अस्वाभाविक भने देखिँदैन।
यता फिनल्यान्डकी अर्थ मन्त्री रीक्का पुर्राको किर्क्कोनुम्मीमा आधा हिस्सा भएको एउटा घर छ। उनीसँग आंशिक लगानीका केही अपार्टमेन्ट छन् भने घर र अपार्टमेन्ट किन्दा लिएको करिब तीन लाख युरो ऋण बाँकी छ।
नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले भने पुर्रा भन्दा निकै धनी देखिए। उनीसँग चार वटा घर र अपार्टमेन्ट छन्। उनको बैङ्कमा एक करोड ९० लाख रुपैयाँ र ४५ तोला सुन छ।
फिनल्यान्डका धेरैजसो मन्त्रीहरूले सेयर बजारमा सामान्य लगानी गरेको र बैङ्कको भारी ऋण बोकेको देखिन्छ।
फिनल्यान्डका रक्षा मन्त्री आन्ती हाक्कानेनसँग त झन् केही थान फिनिस कम्पनीका सेयर मात्र सम्पत्तिका रूपमा रहेछ। उनले घरको ऋण बापत ४ लाख ५५ हजार बैकलाई तिर्न बाँकी रहेछ।
न्याय मन्त्री लेना मेरीको पनि एउटा घर मात्र सम्पत्तिको रूपमा रहेछ। त्यसैको पनि १ लाख ४१ हजार ऋण अझै बाँकी रहेको देखिन्छ।
नेपाल सरकारद्वारा सार्वजनिक गरिएको मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको नाममा करोडौँको शेयर लगानी र उल्लेख्य मात्रामा घरजग्गा रहेको छ।
गुरुङसँग कुल ४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर, बैङ्कमा ६१ लाख भन्दा धेरै ब्यालेन्स र आफ्नै नाममा धनकुटामा १९ रोपनी जग्गा रहेको छ। उनीसँग ८९ तोला सुन र ६ किलो चाँदी समेत छ। उनका पिता र बाजेका नामको समेत जोड्दा त सम्पत्ति निकै धेरै हुन आउँछ।
यता फिनल्यान्डकी गृहमन्त्री मारी रान्तानेन भने नेपालका गृहमन्त्रीको तुलनामा निकै ‘गरिब’ देखिएकी छन्।
उनको सम्पत्तिको नाममा एउटा घर/अपार्टमेन्टको ५०% हिस्सा र त्यसको ७७,५०० युरो तिर्न बाँकी ऋण देखिएको छ। उनीसँग त्यो बाहेक कुनै कम्पनीको सेयर वा बहुमूल्य धातु केही पनि देखिँदैन।
५० वर्षे रान्तानेन सन् २०१९ देखि फिनल्यान्डको सांसद छिन् भने विगतमा प्रहरी र नर्सको रूपमा कैयौँ वर्ष काम गरेकी थिइन्।





