विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

भारतमा फिनिस स्कुल विवादमा, उद्घाटनअघि नै प्रिन्सिपलले दिए राजीनामा

भारतको गुवाहाटीमा खोलिएको 'फिनल्यान्ड इन्टरनेशनल स्कुल' असुरक्षित र अव्यवस्थित भएको भन्दै उद्घाटनअघि नै फिनिस प्रिन्सिपल र केही शिक्षकले काम छाडेका छन्।

संक्षेपमा


  • निर्माणाधीन क्याम्पस असुरक्षित भएको पूर्व-प्रिन्सिपल युहा भाल्ताको भनाइ।
  • समयमै तलब नपाएको र आवास बस्नयोग्य नभएको शिक्षकहरूको गुनासो।
  • निर्माण क्षेत्र सुरक्षित राखेर स्कुल चलाइएको अस्थायी प्रिन्सिपलको दाबी।

भारतको आसामस्थित गुवाहाटीमा भर्खरै सञ्चालनमा आएको एक फिनिस स्कुल सुरुमै ठूलो विवादमा तानिएको छ। सुरक्षा र व्यवस्थापनको गम्भीर कमजोरी औंल्याउँदै स्कुलका प्रिन्सिपल सहितका फिनिस कर्मचारीले राजीनामा दिएका छन्।

यो स्कुल फिनल्यान्डको युभास्कुला विश्वविद्यालय र अन्य फिनिस शैक्षिक संस्थाहरूको लगानी रहेको एडुक्लस्टर फिनल्यान्डको पहलमा खोलिएको हो। स्कुलको मुख्य स्वामित्व भने एक स्थानीय भारतीय व्यवसायीमा रहेको छ।

फिनल्यान्ड इन्टरनेशनल स्कुल गुवाहाटीका पूर्व-प्रिन्सिपल युहा भाल्ताले विद्यार्थीको सुरक्षा जोखिममा रहेको भन्दै पद छाडेका हुन्। उक्त विषयमा फिनल्यान्डको सार्वजनिक प्रसारक YLE ले एउटा लामो र विस्तृत रिपोर्टिङ गरेको छ।

नेपालमा समेत लामो समय काम गरिसकेका भाल्ताले स्कुलको भवन असुरक्षित र कर्मचारीको आवास बस्नयोग्य नभएको YLE लाई दिएको प्रतिक्रियामा बताएका छन्।

विज्ञापन

उनले प्रमाण स्वरूप तस्बिर र भिडियोहरू पनि उपलब्ध गराएका छन्। उनका भिडियोमा एउटा खानेपानीको धाराबाट धमिलो पानी आएको, स्कुल निर्माणाधीन क्षेत्रमा सुँगुरका बच्चाहरू हिँडिरहेको आदि देखिन्छ।

यस्ता कमजोरीका बाबजुद गत अप्रिल २७ मा केही विद्यार्थी भर्ना गरेर स्कुल भने सञ्चालनमा ल्याइएको छ।

स्कुलमा काम गर्न गएका चार फिनिस कर्मचारीमध्ये दुई जनाले परीक्षणकालमै सम्झौता तोडेका छन्। शिक्षकहरूले तोकिएको समयमा तलबसमेत नपाएको पूर्व-प्रिन्सिपल भाल्ताले बताएका छन्।

अहिले निक्के केस्किनेनले अस्थायी प्रिन्सिपलको रूपमा स्कुल चलाइरहेका छन्। उनले भारतको सुस्त कर्मचारीतन्त्र र व्यवस्थापनको कमीले सुरुवातमा समस्या ल्याएको स्वीकारेका छन्।

निर्माण भइरहेको क्षेत्रलाई छुट्टाएर विद्यार्थीका लागि सुरक्षित वातावरण बनाइएको केस्किनेनको दाबी छ। भिसा प्रक्रिया र बैंक खाता खोल्न ढिलाइ हुँदा शिक्षकहरूलाई तलब दिन समस्या भएको उनको जिकिर छ।

एडुक्लस्टर फिनल्यान्डकी कार्यवाहक सीईओ सान्ना नुम्मेलाका विचारमा अन्तर्राष्ट्रिय प्रोजेक्टमा यस्तो ढिलाइ हुनु र विभिन्न चुनौती आउनु स्वाभाविक हो। आगामी दिनमा शिक्षकहरूलाई थप सहयोग र समन्वय गरिने उनको भनाइ छ।

के हो ‘फिनिस स्कुल’को अवधारणा?

फिनल्यान्डको शिक्षा प्रणाली विश्वमै उत्कृष्ट मानिने भएकाले ‘फिनिस शिक्षा निर्यात’ पछिल्लो समय निकै फस्टाउँदै गएको छ। एडुक्लस्टर फिनल्यान्ड जस्ता संस्थाहरूले एसिया र अन्य क्षेत्रमा फिनिस मोडलका स्कुलहरू खोल्न मद्दत गरिरहेका छन्।

स्पेन, कतार, ओमान, भारत, चीन र बेलायत जस्ता देशहरूमा यस्ता विद्यालयहरू सञ्चालनमा छन्। बेलायतमा मात्र २० वटा फिनिस स्कुल छन्। भारतमा पनि करिब ५ वटा यस्ता विद्यालयहरू छन्।

नेपालमा पनि फिनिस शिक्षा प्रणाली र सिकाइ पद्धतिप्रति चासो र आकर्षण बढ्दो छ। गत साता नेपालका लागि फिनल्यान्डका राजदुत पेत्री पुहाक्का र नेपालका शिक्षा मन्त्री सस्मित पोखरेलबिचको भेटमा पनि शिक्षा क्षेत्रमा फिनल्यान्ड-नेपाल साझेदारीको विषयमा छलफल भएको थियो।

यो समाचारका मुख्य पात्र तथा पूर्व-प्रिन्सिपल युहा भाल्ताले यसअघि नेपालमै बसेर शिक्षा र विकासका क्षेत्रमा काम गरेका थिए।उनले ‘फिनिस इभान्जेलिकल लुथरन मिसन’ को नेपालस्थित कार्यालयको प्रमुखका रूपमा काम गरेका थिए।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

VISA
Pay
Pay
MobilePay
Bank Transfer
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप