यो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.91 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- विमानमा संक्रमित यात्रीको नजिकै बसेकाले संक्रमणको जोखिम।
- फिनल्यान्ड फर्किएका दुवै यात्रीमा हालसम्म कुनै लक्षण भने छैन।
- उनीहरूलाई घरमै बसेर स्वास्थ्य स्थिति निगरानी गर्न निर्देशन।
दक्षिण अफ्रिकाको जोहानेसबर्गबाट एम्सटर्डमका लागि उड्न लागेको केएलएम (KLM) को विमानमा दुई फिनिस नागरिक घातक हन्टाभाइरसको सम्पर्कमा आएको पुष्टि भएको छ।
फिनल्यान्डको स्वास्थ्य तथा कल्याण संस्थान (THL) का अनुसार उनीहरू हाल फिनल्यान्ड फर्किसकेका छन् र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
अप्रिल २५ मा केएलएमको उडान नम्बर KL592 मा यो घटना भएको हो। सो विमानमा ६९ वर्षीया एक डच महिला सवार थिइन्, जो हन्टा भाइरस फैलिएको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजबाट फर्किएकी थिइन्।
विमान उड्नुअघि नै ती महिलाको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई विमानबाट बाहिर निकालिएको थियो।
विमानस्थलमा बेहोस भएकी ती महिलालाई अस्पताल पुर्याइएको थियो। विश्व स्वास्थ्य संगठनका अनुसार अप्रिल २६ मा उपचारका क्रममा उनको मृत्यु भयो।
दुई फिनिस यात्रीहरू ती संक्रमित महिलाको नजिकैको सिटमा करिब एक घण्टा बसेका थिए। थोरै समय मात्र सम्पर्कमा आएकाले उनीहरूमा संक्रमण सर्ने सम्भावना भने निकै कम रहेको विज्ञहरूको भनाइ छ।
THL की विशेषज्ञ लिना भोउतीलाइनेनका अनुसार फिनिस यात्रीहरूमा हालसम्म कुनै लक्षण देखिएको छैन। उनीहरूलाई आफ्नै घरमा बसेर स्वास्थ्य निगरानी गर्न भनिएको छ।
सोही विमानमा यात्रा गरेका एक डेनिस नागरिकको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। डेनमार्कका स्वास्थ्य अधिकारीहरूले शुक्रबार अबेर यसको पुष्टि गरेका हुन्।
हन्टा भाइरसको लक्षण देखिन सामान्यतया दुई हप्ता लाग्छ। यद्यपि, केही अवस्थामा १ देखि ६ हप्तासम्म पनि देखिन सक्छ।
हन्टा भाइरस के हो, कसरी बच्ने?
हन्टा भाइरस मुख्यतया मुसा र अन्य साना जनावरहरूको दिसा, पिसाब वा र्यालको सम्पर्कबाट मानिसमा सर्ने गर्दछ। मानिसबाट मानिसमा यो भाइरस सर्ने सम्भावना निकै कम मानिन्छ।
मानिसबाट मानिसमा छिट्टै नसर्ने हुँदा यो भाइरसले कोराना महामारीको जस्तो बिकराल रुप भने लिन नसक्ने विज्ञहरू बताउँछन्।
संक्रमण भएपछि सुरुमा ज्वरो आउने, अत्यधिक थकान लाग्ने र मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छन्। केही बिरामीमा टाउको दुख्ने, रिंगटा लाग्ने र पेट दुख्ने समस्या पनि हुन सक्छ।
यो भाइरसले फोक्सो वा मिर्गौलामा गम्भीर असर पुर्याउन सक्छ। समयमै उपचार नपाएमा यो ज्यान लिने खालको पनि हुन सक्छ।
रोकथाम र उपचार
- मुसा वा साना जंगली जनावरको बसोबास हुने ठाउँमा जाँदा सावधानी अपनाउने।
- हालसम्म यो भाइरस विरुद्ध कुनै विशेष खोप वा औषधि उपलब्ध छैन।
- संक्रमणको शंका लागेमा वा लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।



![हेलसिन्कीमा नव-नाजी समूह र प्रदर्शनकारीबिच झडप, पाँच पक्राउ [भिडियो सहित]](https://nepalilainen.fi/wp-content/uploads/2026/05/sini-musta-liike-police-protests-helsinki-324x235.webp)




