संक्षेपमा
- लापल्यान्डमा एक महिनाको वर्षा केही दिनमै हुने।
- हेलसिन्की र उसीमा क्षेत्रमा भने न्यून वर्षाको सम्भावना।
- साताको अन्त्यतिर तापक्रम बढेर गर्मी मौसम सुरु हुने।
फिनल्यान्डमा महिनौँदेखि जारी सुक्खा मौसम यो साताको वर्षासँगै अन्त्य हुने भएको छ। सोमबारदेखि दक्षिण र दक्षिण-पश्चिम क्षेत्रबाट सुरु हुने वर्षाले देशभरको तापक्रम र वातावरणमा परिवर्तन ल्याउनेछ।
मौसमविदहरुका अनुसार मंगलबारदेखि वर्षाको क्षेत्र अझ फराकिलो बन्नेछ। विशेषगरी पश्चिमी लापल्यान्डमा ४० मिलिमिटरसम्म पानी पर्न सक्ने प्रक्षेपण गरिएको छ। यो परिमाण मे महिनाभरि हुने औसत वर्षा बराबर हो।
लापल्यान्डका केही स्थानमा २४ घण्टाभित्रै २० मिलिमिटरभन्दा बढी पानी पर्ने हुनाले यसलाई ‘भारी वर्षा’ मानिएको हो।
फिनल्यान्डका सबै भागमा भने धेरै पानी पर्ने छैन। पूर्वी फिनल्यान्ड र हेलसिन्की आसपासको उसीमा क्षेत्रमा जम्मा दुई देखि तीन मिलिमिटर मात्र वर्षा हुने अनुमान छ।
मार्चको अन्त्यदेखि फिनल्यान्डमा यस्तो लगातार वर्षाको लहर देखिएको थिएन।
यो वर्षको वसन्त ऋतु असामान्य रूपमा सुक्खा रहेकाले वनजंगलमा डढेलोको जोखिम समेत बढेको थियो। यो वर्षाले जमिनको चिस्यान बढाउन र कृषि क्षेत्रलाई राहत दिन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
सामान्यभन्दा तातो बसन्त
साताको सुरुवाती दिनहरूमा दक्षिण र मध्य फिनल्यान्डको तापक्रम ११ देखि १५ डिग्री सेल्सियस रहनेछ। उत्तरी भागमा भने तापक्रम ७ देखि ११ डिग्रीको बीचमा खुम्चनेछ।
साताको अन्त्यतिर भने मौसम सफा भई तापक्रम १५ देखि २० डिग्री सेल्सियससम्म पुग्ने प्रक्षेपण छ।
अहिले नै अत्यधिक गर्मी हुने सम्भावना नदेखिए पनि तापक्रम औसतभन्दा बढी नै रहनेछ। यो वर्ष फिनल्यान्डमा गर्मी मौसम औसत समयभन्दा छिटो सुरु हुन लागेको मौसमविदहरुको आकलन छ।
फिनल्यान्डमा सामान्यतया मे महिनाको मध्यपछि मात्र ‘थर्मल समर’ अर्थात् गर्मी मौसम सुरु हुने गर्दछ।








