विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनिस नागरिकता लिने नेपालीको संख्या ह्वात्तै बढ्यो, यस्तो छ पछिल्लो तथ्याङ्क

गत वर्ष १४ हजारभन्दा बढी विदेशीले फिनल्यान्डको नागरिकता पाए, जसमा नेपाली र अन्य दक्षिण एसियालीको उपस्थिति बलियो देखिन्छ।

संक्षेपमा


  • फिनल्यान्डको नागरिकता पाउने विदेशीको संख्या अहिलेसम्मकै उच्च।
  • कुल संख्यामा इराकी नागरिक १४ प्रतिशतसहित अग्रस्थानमा।
  • नेपाली आवेदकको सफलता दर उच्च, संख्यामा नयाँ किर्तिमान।

फिनिस आप्रवासन विभाग मिग्रीको पछिल्लो तथ्याङ्क अनुसार फिनल्यान्डको नागरिकता लिने नेपालीहरूको संख्यामा नयाँ किर्तिमान कायम भएको छ।

मिग्रीको तथ्याङ्क अनुसार गतवर्ष कुल २६२ नेपालीले फिनल्यान्डको नागरिकता प्राप्त गरे। जम्मा ८ जना आवेदकको नागरिकता निवेदन अस्विकृत भएको थियो। यो हेर्दा फिनल्यान्डमा नेपालीहरूको नागरिकता आवेदन सफलता दर उच्च देखिएको छ।

गतवर्ष भारतका २४७, पाकिस्तानका १९५, र बंगलादेशका १९१ जना नागरिकले फिनल्यान्डको नागरिकता पाएका थिए।

पछिल्ला वर्षहरूमा फिनिस नागरिकता लिने नेपालीहरूको सङ्ख्या निरन्तर बढ्दै गइरहेको छ। फिनिस तथ्याङ्क विभागको तथ्याङ्क अनुसार सन् २०२५ को अन्त्यसम्म फिनल्यान्डको नागरिकता लिने नेपालीहरूको कुल सङ्ख्या १९२८ रहेको छ। जसमध्ये महिलाको सङ्ख्या १०१६ छ भने पुरुषको सङ्ख्या ९१२ छ।

सन् २००० सम्म जम्मा १५ जना नेपालीले फिनल्यान्डको नागरिकता लिएका थिए। सन् २०१६ पछि भने हरेक वर्ष एक सय भन्दा धेरै नेपालीले फिनल्यान्डको नागरिकता लिएका छन्।

विज्ञापन
विज्ञापन सकियो

सन् २०२४ मा २४३ नेपाली नागरिकले फिनिस नागरिकता लिएका थिए। सन् २०२३ मा उक्त संख्या १९७ थियो।

नागरिकता पाउनेमा सबैभन्दा धेरै इराकी नागरिक छन्। उनीहरू कुल संख्याको १४ प्रतिशत छन्।

ऐतिहासिक वर्ष बन्यो २०२५

फिनल्यान्डमा बसोबास गर्ने विदेशीहरूका लागि गत वर्ष नागरिकता प्राप्तिको ऐतिहासिक वर्ष बन्यो। फिनिस तथ्याङ्क विभागका अनुसार गतवर्ष १४ हजारभन्दा बढी विदेशीले फिनल्यान्डको नागरिकता प्राप्त गरे।

यो संख्या फिनल्यान्डको इतिहासमै एक वर्षमा दिइएको सबैभन्दा धेरै नागरिकता हो। यसअघिको रेकर्ड सन् २०२३ मा कायम भएको थियो।

नागरिकता पाउनेमा सबैभन्दा धेरै इराकी नागरिक छन्। उनीहरू कुल संख्याको १४ प्रतिशत छन्।

इराकपछि रुस, सिरिया र अफगानिस्तानका नागरिकहरू धेरै संख्यामा नागरिकता पाउने सूचीमा छन्। रुसी नागरिकको संख्या १,५५२ र सिरियालीको १,५४३ छ।

अफगानिस्तानका १,२६० र सोमालियाका ९११ जनाले नागरिकता प्राप्त गरे। टर्की, एस्टोनिया र युक्रेनका नागरिक पनि यो सूचीको माथिल्लो स्थानमा छन्।

अब नागरिकता नियममा हुन लागेको कडाइका कारण गतवर्ष धेरैले आवेदन दिएको आकलन छ।

फिनिस सरकारले नागरिकता नियमलाई कडाइ गरि परीक्षा उत्तीर्ण गर्नुपर्ने, आम्दानीको स्रोत मजबुत हुनुपर्ने, फिनल्यान्डमा ८ वर्ष बसेको हुनुपर्ने लगायतका नियम लागु गरेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप