विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

वोल्टमार्फत् अल्कोहल अर्डर गर्न मिल्ने, कुरियरको खाता भाडामा लगाउन नपाइने

रक्सी डेलिभरी सुरु गर्न र नयाँ कानुनको पालना गर्न वोल्टले अगस्टदेखि डेलिभरी खाता भाडामा दिने प्रणाली पूर्ण रूपमा बन्द गर्दैछ।

संक्षेपमा


  • अगस्टदेखि वोल्ट खाता अरूलाई चलाउन दिन वा भाडामा लगाउन नपाइने।
  • रक्सी डेलिभरी र नयाँ कानुनको तयारीस्वरूप आयो नयाँ कदम।
  • नियम तोड्ने १४ जना डेलिभरी कामदारलाई कम्पनीले गर्यो निष्कासन।

फिनल्यान्डमा अब वोल्ट कुरियरहरुले अरूको खाता प्रयोग गरेर डेलिभरी गर्न नपाउने भएका छन्। रक्सीको होम डेलिभरी सुरु गर्ने योजना बनाएको कम्पनीले आगामी अगस्टदेखि खाता भाडामा दिने प्रणाली पूर्णरुपमा बन्द गर्न लागेको हो।

फिनल्यान्डमा खाना डेलिभरीको क्षेत्रमा वोल्ट निकै लोकप्रिय छ, जसमा नेपालीलगायत धेरैजसो आप्रवासी कामदारहरू संलग्न छन्। वोल्टको नयाँ नियमको प्रभाव वोल्टमा काम गर्ने धेरै नेपालीहरुमा पनि पर्नेछ।

वोल्टकी प्रमुख कार्यकारी अधिकृत मारियान्ने भिक्कुलाका अनुसार अगस्टबाट डेलिभरी गर्ने व्यक्तिले अरूको खाता चलाउन सक्ने छैनन्। अहिलेसम्म अरूको नाममा काम गर्न (सब्स्टिच्युट) पाइने व्यवस्था थियो।

गत जनवरीमा सार्वजनिक भएको एक रिपोर्टअनुसार धेरै कामदारले खाता चलाउन मासिक सयौँदेखि हजार युरोसम्म भाडा तिर्दै आएका थिए। खाता भाडामा दिने क्रम निकै बढेकाले यसलाई रोक्न लागिएको भिक्कुलाले बताइन्।

खाता भाडामा लिँदा कालो धनको समेत प्रयोग भएको पाइएको थियो। यसबाहेक रक्सी डेलिभरीसम्बन्धी कानुन परिवर्तन हुनु पनि अर्को मुख्य कारण हो।

विज्ञापन
विज्ञापन सकियो

नयाँ कानुन अनुसार रक्सी बोक्ने व्यक्तिको सही पहिचान हुनु अनिवार्य छ। यस्तै, युरोपेली युनियनको नयाँ प्ल्याटफर्म कार्य निर्देशनले पनि कामदारको पहिचान खुलाउनु पर्ने सर्त राखेको छ।

हालसम्म भाडामा खाता चलाइरहेकाहरूलाई आफ्नै नयाँ खाता दिने प्रयास गर्ने कम्पनीले बताएको छ।

वोल्टले हालै एकाउन्ट सम्बन्धी अस्वभाविक गतिविधी नियन्त्रण गर्न एउटा विशेष इकाइ स्थापना गरेको छ। उक्त इकाइको अनुसन्धानपछि हालसम्म १४ जना कामदारसँग सम्झौता तोडिएको कम्पनीले विज्ञप्तिमा बताएको छ।

कामदारले भाडामा खाता दिँदा आर्थिक अनियमितता गरेको भेटिएपछि उनीहरूलाई हटाइएको हो। भाडामा दिनु गैरकानुनी नभए पनि यो उचित सर्तहरूमा हुनुपर्ने नियम थियो।

वोल्टले यसै वर्षको सुरुदेखि केही डेलिभरी कामदारलाई आफ्नै कर्मचारीको रूपमा समेत राख्न थालेको छ। हाल करिब सय जना कामदार वोल्टको प्रत्यक्ष रोजगारीमा छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप