फिनल्यान्डको सामाजिक लोकतान्त्रिक पार्टी (एसडीपी) को ताम्पेरेमा जारी तीन दिने महाधिवेशनले नासिमा राज्म्यारलाई पार्टीको पहिलो उपाध्यक्षमा चयन गरेको छ।
उनले सर्वाधिक ९०४ मत प्राप्त गर्दै सो जिम्मेवारी पाएकी हुन्।
एसडीपीको उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा राज्म्यारले स्पष्ट बहुमत पाइन्।
नीना माल्म ७४५ मतका साथ दोस्रो उपाध्यक्ष र पिन्या पेर्होलेह्तो ६२५ मतसहित तेस्रो उपाध्यक्षमा निर्वाचित भए।
फिनल्यान्डमा सन् २०२७ मा हुने आम निर्वाचन पछि एसडीपी पार्टीको नेतृत्वमा सरकार बन्ने निश्चितजस्तै छ। एसडीपी, ग्रिन, बामपन्थी गठबन्धन लगायतका पार्टीहरू आप्रवासीहरूप्रति तुलनात्मक रूपमा नरम मानिन्छन्।
उपाध्यक्ष पदका अन्य दुई उम्मेदवार युहा भीताला र यानि कोक्को भने पराजित भए। भीतालाले ३९६ र कोक्कोले २९२ मत मात्र प्राप्त गरे।
पिन्या पेर्होलेह्तो पार्टीको उपाध्यक्ष मण्डलमा नयाँ अनुहार हुन्।
निर्वाचन परिणामपछि राज्म्यारले आफ्नो पार्टीले कसैसँग नझुक्ने र आगामी चुनाव जित्ने दाबी गरिन्।
“हामी ताम्पेरेबाट एउटा एकजुट टोलीको रूपमा चुनाव जित्न अघि बढ्नेछौं,” राज्म्यारले भनिन्। उनले पार्टी अध्यक्ष आन्ती लिन्ड्टमानलाई जिस्क्याउँदै महिलाहरूको बाहुल्य भएको नेतृत्वलाई सम्हाल्न चुनौती समेत दिइन्।
को हुन् नासिमा राज्म्यार?
नासिमा राज्म्यार फिनल्यान्डको राजनीतिमा एक स्थापित र चर्चित नाम हो।
सन् १९८४ मा अफगानिस्तानको राजधानी काबुलमा जन्मिएकी उनी सन् १९९३ मा शरणार्थीको रूपमा फिनल्यान्ड आएकी थिइन्।
उनका बुबा मोहम्मद दाउद राज्म्यार सोभीयत रूसका लागि अफगानिस्तानका राजदूत थिए। अफगानिस्तानमा सत्ता परिवर्तन भएपछि मस्कोबाट उनको परिवार शरणार्थीको रूपमा फिनल्यान्ड आएको हो।
राज्म्यार फिनल्यान्डको इतिहासमा शरणार्थी पृष्ठभूमिबाट सांसद बन्ने पहिलो व्यक्ति हुन्।
सन् २०१५ मा पहिलो पटक सांसद बनेकी उनले हेलसिन्की शहरको उपमेयरको जिम्मेवारी समेत सम्हालिसकेकी छन्।
उपमेयर हुँदा उनले संस्कृति, फुर्सद, शिक्षा र प्रशिक्षण जस्ता महत्वपूर्ण विभागहरूको नेतृत्व गरेकी थिइन्।
उनी हाल फिनल्यान्डको संसदमा एसडीपीको तर्फबाट सांसद छिन्। उनीसँग अफगानी र फिनिस दोहोरो नागरिकता छ।
एक आप्रवासी महिलाले फिनल्यान्डको ठूलो राजनीतिक दलको नेतृत्व तहमा पुग्नुलाई आप्रवासी समुदायमा निकै महत्वका साथ हेरिएको छ।




![हेलसिन्कीमा नव-नाजी समूह र प्रदर्शनकारीबिच झडप, पाँच पक्राउ [भिडियो सहित]](https://nepalilainen.fi/wp-content/uploads/2026/05/sini-musta-liike-police-protests-helsinki-324x235.webp)



