विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की विश्वविद्यालयमा ३० पिएचडी विद्यार्थीको माग, मासिक तलब २९ सय युरो

युरोपेली संघको सहयोगमा सञ्चालित RESDOC परियोजना अन्तर्गत चार वर्षे तलबी अनुसन्धानका लागि आवेदन आह्वान गरिएको हो।

संक्षेपमा


  • हेलसिन्की विश्वविद्यालयमा ३० जनालाई चार वर्षे तलबी पिएचडी अनुसन्धानको अवसर
  • मासिक करिब २९०० युरो तलब, अगस्टसम्म आवेदनको म्याद।
  • पछिल्लो तीन वर्षमा फिनल्यान्डमा १२ महिनाभन्दा बढी नबसेका मात्र योग्य।

फिनल्यान्डको हेलसिन्की विश्वविद्यालयले विभिन्न विषयमा ३० जना पिएचडी अनुसन्धानकर्ताको माग गरेको छ। युरोपेली संघको ‘होराइजन युरोप’ र हेलसिन्की विश्वविद्यालयको संयुक्त लगानीमा सञ्चालित रेसडक (RESDOC) परियोजनाअन्तर्गत यी पदहरू खुला गरिएका हुन्।

यो चार वर्षे पूर्णकालीन रोजगारी हो। छनोट हुने अनुसन्धानकर्ताले सन् २०२७ को जनवरीदेखि मार्चको बीचमा आफ्नो काम सुरु गर्नुपर्नेछ।

अनुसन्धानकर्ताले विश्वविद्यालयका १४ वटा डक्टोरल कार्यक्रममध्ये कुनै एकमा आबद्ध भएर विद्यावारिधि (पिएचडी) पूरा गर्नुपर्नेछ। यसका लागि उनीहरूलाई सम्बन्धित क्षेत्रका अग्रणी अनुसन्धानकर्ताले सुपरिवेक्षण गर्नेछन्।

अनुसन्धानका मुख्य चार विषयवस्तु तोकिएका छन्ः सरुवा रोग, जैविक विविधता, खाद्य तथा जल प्रणाली र सामाजिक-पारिस्थितिक रूपान्तरण।

छनोट हुनेले मासिक करिब २ हजार ९ सय युरो कुल तलब पाउनेछन्, र आवश्यकता बमोजिम थप पारिवारिक भत्ताको पनि व्यवस्था छ।

विज्ञापन
विज्ञापन सकियो

आवेदन दिन स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ। तर विद्यावारिधि गरिसकेका वा अनुसन्धानमा ४ वर्षभन्दा बढी अनुभव भएकाले भने आवेदन दिन पाउने छैनन्।

साथै एउटा विशेष मोबिलिटी नियम राखिएको छ। आवेदनको अन्तिम मिति (३१ अगस्ट २०२६) भन्दा अघिल्लो ३६ महिनाको अवधिमा १२ महिनाभन्दा बढी फिनल्यान्डमा बसेका व्यक्तिहरू आवेदनका लागि योग्य हुने छैनन्।

इच्छुक उम्मेदवारले ३१ अगस्ट २०२६ को मध्यरातसम्ममा अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता अनलाइनमार्फत अक्टोबरमा हुनेछ।

हेलसिन्की विश्वविद्यालय फिनल्यान्डको सबैभन्दा ठूलो र पुरानो प्राज्ञिक संस्था हो। यो युरोपकै प्रमुख अनुसन्धान विश्वविद्यालयहरूमध्ये एक मानिन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप