संक्षेपमा
- फिनल्यान्डभरका उत्कृष्ट १० नेपाली टोलीहरू सहभागी हुने।
- पुरस्कार राशि २२ सय युरो।
- युइएफए (UEFA) अनुभव भएका रेफ्रीले गर्नेछन् खेल सञ्चालन।
फिनल्यान्डको नेपाली समुदायलाई लक्षित गर्दै हेलसिन्कीमा दोस्रो हिमालयन फुटबल कप २०२६ आयोजना हुँदैछ। आगामी शनिबार अर्थात् जुन १३ बिहान ९ बजेदेखि सुरु हुने उक्त प्रतियोगिताको पुरस्कार राशि करिब २२०० युरो रहेको छ।
प्रतियोगिता पूर्वी हेलसिन्कीको पुओतिला स्थित पुओतिलान तेकोनुर्मी (Puotilan tekonurmi) मैदानमा सञ्चालन हुनेछ। खेलमा फिनल्यान्डभरका उत्कृष्ट १० टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
यो वर्ष प्रतियोगितामा सहभागी हुने टोलीहरूमा हिमालयन-रेड, हिमालयन-ब्लु, मिर्मिरे स्पोर्ट्स क्लब, मिर्मिरे गोल्ड, फिसटेल स्पोर्ट्स क्लब, एफसी गाउँले, एफसी गोर्खा, एफसी रिक्शु, मान्से नेपाल र अल स्टार एफसी रहेका छन्।
यो पटकको अर्को मुख्य आकर्षण भनेको खेल सञ्चालनको स्तर हो। प्रतियोगिताका मुख्य रेफ्री यान-पिटर आराभिर्ता हुन्।
उनीसँग फिनिस प्रिमियर लिग भेइक्काउस-लिगा (Veikkausliiga) र युरोपेली फुटबल महासंघ (UEFA) का प्रतियोगिताहरू खेलाएको लामो अनुभव छ। उनले फिनिस शीर्ष लिगमा ४०० भन्दा बढी खेल खेलाएको कीर्तिमान बनाएका छन् भने थुप्रै पटक ‘वर्षको उत्कृष्ट रेफ्री’ को उपाधि समेत जितिसकेका छन्।
फुटबल बाहेक दर्शकहरूलाई लक्षित गर्दै मैदानमा अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन्।
यो प्रतियोगिताको मुख्य प्रायोजन राभिन्तोला पिक्कुपिह्वीले गरेको हो। नेपालीलाइनेन प्रतियोगिताको मिडिया पार्टनर हो।
त्यसैगरी सोलु मार्केट, इन्डियन मार्केट हाकानियमी, राभिन्तोला जिन्जर र तिलिकाउहा ओय सह-प्रायोजक रहेका छन्। प्रिन्टिङ पार्टनरको रुपमा फ्रिन्ट जोडिएको छ।
फिनल्यान्डमा नेपाली आप्रवासीहरूको सङ्ख्या बढ्दै जाँदा यस्ता खेलकुद गतिविधिहरूले समुदायलाई जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।








