संक्षेपमा
- केलाको कुल भत्ता खर्च १८.१ अर्ब युरो पुग्ने अनुमान।
- बेरोजगारी र विद्यार्थी भत्तामा सबैभन्दा धेरै वृद्धि।
- आवास भत्ता (हाउजिङ एलाउन्स) मा भने ठूलो कटौती।
फिनल्यान्डको सामाजिक बीमा संस्था (KELA) ले सामाजिक सुरक्षा भत्तामा खर्च गर्ने रकम सन् २०२६ मा बढेर १८ दशमलव १ अर्ब युरो पुग्ने भएको छ। यो नेपालको कुल वार्षिक बजेटभन्दा पनि निकै धेरै रकम हो। नेपालको प्रस्तावित कुल वार्षिक बजेट पछिल्लो आर्थिक वर्षका लागि करिब १३ बिलियन युरो रहेको छ।
‘KELA पकेट स्ट्याटिस्टिक्स २०२ ६’ का अनुसार अघिल्लो वर्षको तुलनामा यो करिब ६० करोड युरोले बढी हो।
सन् २०२५ मा KELA ले जम्मा १७ दशमलव ५ अर्ब युरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो। यो वर्ष सबैभन्दा ठूलो वृद्धि बेरोजगारी भत्तामा हुने अनुमान छ।
बेरोजगारी भत्ताको खर्च बढेर यो वर्ष २.४ अर्ब युरो पुग्नेछ। यो रकम अघिल्लो वर्षको तुलनामा ३२ करोड २० लाख युरोले बढी हो।
त्यस्तै विद्यार्थीले पाउने भत्तामा पनि उल्लेखनीय वृद्धि हुनेछ। KELA का अनुसार यो वर्ष विद्यार्थी भत्तामा अघिल्लो वर्षभन्दा २५ करोड २० लाख युरो बढी खर्च हुनेछ।
यसबाहेक आधारभूत जीवन निर्वाह भत्ता, स्वास्थ्य बीमा भत्ता र पुनर्स्थापना भत्ताको खर्च पनि बढ्ने अपेक्षा गरिएको छ।
तर आवास भत्ता (हाउजिङ एलाउन्स) को खर्च भने घट्ने अनुमान छ। यो वर्ष आवास भत्तामा करिब १.०५ अर्ब युरो खर्च हुनेछ, जुन अघिल्लो वर्षभन्दा १७ करोड ८० लाख युरोले कम हो।
KELA को यो पकेट तथ्याङ्कले भत्ता र लाभग्राहीहरूको मुख्य जानकारी समेट्ने गर्दछ। यसलाई पहिलेभन्दा प्रयोग गर्न सजिलो र स्पष्ट बनाइएको KELA ले जनाएको छ।
KELA फिनल्यान्डको सरकारी सामाजिक बीमा संस्था हो। यसले यहाँ बसोबास गर्ने सबैको आधारभूत सामाजिक सुरक्षा र आर्थिक सहयोगको व्यवस्थापन गर्छ।








