विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

कस्ता व्यक्तिहरुले फिनल्यान्ड वा युरोपमा सफलता प्राप्त गर्छन्? एक ज्योतिषीय विश्लेषण

फिनल्यान्ड र युरोपमा नेपाली आप्रवासीहरूको सफलता र सङ्घर्षलाई परम्परागत ज्योतिषीय दृष्टिकोणबाट हेर्दा चन्द्रमा र बृहस्पतिको प्रभाव निकै महत्वपूर्ण मानिन्छ।

धेरै नेपालीहरूको सपना हुन्छ युरोप गएर स्थिर, सम्मानित र समृद्ध जीवन बनाउने। तर वास्तविकता सधैं सोचेजस्तो सहज हुँदैन। कोही छोटो समयमै राम्रो काम, आर्थिक स्थिरता र सम्मानित जीवन बनाउन सफल हुन्छन् भने, कोही वर्षौंसम्म सङ्घर्षमै रुमल्लिन्छन्। आखिर एउटै देश, उस्तै पृष्ठभूमि र समान मिहिनेतका बाबजुद किन यस्तो हुन्छ?

परम्परागत वैदिक ज्योतिष अनुसार यसको एउटा मुख्य कारण चन्द्रमा र बृहस्पति ग्रहको अवस्था हो।

युरोप र विशेष गरी फिनल्यान्डजस्ता देशहरूमा सफलता केवल मेहनतले मात्र आउँदैन। यहाँ मानसिक स्थिरता, धैर्यता, अनुशासन, एक्लोपन सहन सक्ने क्षमता, र नयाँ समाजमा आफूलाई घुलमिल गराउने शक्ति अत्यन्त आवश्यक हुन्छ। यी गुणहरूमा चन्द्रमाको ठुलो प्रभाव मानिन्छ।

बलियो चन्द्रमा भएको व्यक्तिले विदेशी जीवनको मानसिक दबाब, चिसो मौसम, सामाजिक दूरी, र जीवनको अनिश्चिततालाई राम्रोसँग सामना गर्न सक्छ। त्यसैले चन्द्रमा राम्रो भएका मानिसहरू प्रायः युरोपमा स्थिर र सफल जीवन बनाउन सक्षम देखिन्छन्।

ज्योतिषशास्त्रले जसलाई ‘बलियो चन्द्रमा’ (मानसिक स्थिरता र एक्लोपन सहने क्षमता) भन्छ, मनोविज्ञानले त्यसलाई ‘इमोसनल इन्टेलिजेन्स’ (Emotional Intelligence) र ‘मानसिक लचकता’ (Resilience) भन्छ।

विज्ञापन
विज्ञापन सकियो

फिनल्यान्डको स्वास्थ्य तथा कल्याण संस्थान (THL) ले सन् २०२३ मा गरेको एक अध्ययन अनुसार, फिनल्यान्डमा आप्रवासीहरूको सामान्य स्वास्थ्य राम्रो भए तापनि करिब १४% आप्रवासीहरूले गहिरो एक्लोपन महसुस गर्छन्, र ४२% ले कुनै न कुनै प्रकारको भेदभावको सामना गरेका छन्।

खासगरि फिनल्यान्डको अँध्यारो र लामो चिसोले मानिसको मानसिक स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्छ। मानसिक रूपमा टुट्नु वा डिप्रेसनको सिकार हुनुलाई ज्योतिष विज्ञानको आँखाबाट हेर्दा ‘कमजोर चन्द्रमा’ को रूपमा व्याख्या गर्न सकिन्छ।

तुर्कु विश्वविद्यालय र THL का अनुसन्धानकर्ताहरूका अनुसार आप्रवासीहरूले स्थानीय नागरिकको तुलनामा मानसिक स्वास्थ्य सेवाहरूको अत्यन्त कम प्रयोग गर्छन्। भाषाको समस्या, जानकारीको अभाव र मानसिक स्वास्थ्यलाई लिएर समाजमा रहेको ‘ट्याबु’का कारण उनीहरूलाई मनोवैज्ञानिक परामर्श लिनबाट रोक्छ।

मेष, वृष, कर्कट, सिंह, तुला, धनु, र मीन राशिमा बलियो चन्द्रमा भएका मानिसहरूलाई युरोपियन देशहरूमा राम्रो अवसर र प्रगतिको सम्भावना बढी मानिन्छ।

मेष राशिका मानिसहरू साहसी र आत्मनिर्भर हुन्छन्।

वृष राशिका मानिसहरू स्थिर आर्थिक र पारिवारिक जीवन बनाउन सक्षम हुन्छन्।

कर्कट राशिका मानिसहरू नयाँ समाजमा सजिलै घुलमिल हुन्छन्।

सिंह राशिका मानिसहरू नेतृत्व र जिम्मेवारीबाट माथि उठ्छन्।

तुला राशिका मानिसहरू युरोपको कानुन, प्रणाली, र सामाजिक सन्तुलनमा राम्रोसँग फिट हुन्छन्।

धनु राशिका मानिसहरू विदेश, शिक्षा, र नयाँ अवसरबाट प्रगति गर्छन्।

मीन राशिका मानिसहरू सृजनात्मकता, आध्यात्मिक सोच, र जीवन परिवर्तनको क्षमताबाट सफल हुन्छन्।

युरोपियन देशहरूमा सफलताका लागि चन्द्रमा र बृहस्पतिलाई अत्यन्त महत्त्वपूर्ण ग्रह मानिन्छ।

यदि तपाईँको चन्द्रमा यी राशिहरूमध्ये पर्दैन भने पनि निराश हुनुपर्ने आवश्यकता छैन। त्यस अवस्थामा बृहस्पति ग्रहको अवस्था अत्यन्त महत्त्वपूर्ण हुन्छ। परम्परागत ज्योतिषमा बृहस्पतिलाई ज्ञान, अवसर, भाग्य, सम्मान, र सही निर्णयको ग्रह मानिन्छ।

युरोपमा बलियो बृहस्पतिले राम्रो करियर अवसर, सही मानिसहरूको साथ, कानुनी स्थिरता, शिक्षा, र दीर्घकालीन प्रगति दिन सक्ने विश्वास गरिन्छ। धेरै अवस्थामा मानिस मेहनती हुँदाहुँदै पनि सही अवसर पाउँदैन, तर बलियो बृहस्पतिले अवसरको ढोका खोल्ने काम गर्छ भन्ने मान्यता छ।

तर ठोस निष्कर्ष केवल राशिबाट निकाल्न सकिँदैन। सम्पूर्ण कुण्डली, ग्रहहरूको अवस्था, दशा, र योगहरू हेरेर मात्र स्पष्ट विश्लेषण गर्न सकिन्छ। त्यसैले विदेश जीवन, युरोपमा सफलता, वा भविष्यका महत्त्वपूर्ण निर्णयहरूबारे बुझ्न अनुभवी र परम्परागत ज्योतिषीसँग सल्लाह लिनु उचित हुन्छ।

युरोपमा वास्तविक सफलता त्यो व्यक्तिले पाउँछ जसको मन स्थिर हुन्छ, धैर्यता बलियो हुन्छ, र परिस्थितिअनुसार आफूलाई बदल्न सक्ने क्षमता हुन्छ। त्यसैले परम्परागत ज्योतिषमा विदेश, विशेष गरी युरोपियन देशहरूमा सफलता प्राप्त गर्न चन्द्रमा र बृहस्पतिलाई अत्यन्त महत्त्वपूर्ण ग्रह मानिन्छ। 

आप्रवासन आफैंमा एक जटिल यात्रा हो। भविष्यमा नेपाली समुदायले विदेशी भूमिमा सङ्घर्ष गरिरहँदा भाग्य र ग्रहदशामा मात्रै पूर्ण भर नपरी आफ्नो मानसिक स्वास्थ्य, भाषागत सीप र सामाजिक एकीकरणमा ध्यान दिनु जरुरी छ। यद्यपी, सही ज्योतिषीय विश्लेषणले पनि हाम्रो व्यक्तित्व विकासमा सहयोग पुर्याउछ भन्ने मेरो मान्यता र अनुभव रहेको छ।

सम्पादकीय नोटः यहाँ प्रस्तुत गरिएको ज्योतिष विश्लेषण, भविष्यवाणी तथा अनुमानहरू परम्परागत विश्वास, धारणा र ज्योतिष पौडेलको व्यक्तिगत व्याख्यामा आधारित छन्। यी कुराहरू वैज्ञानिक रूपमा प्रमाणित तथ्यमा आधारित होइनन् र केवल जानकारी तथा मनोरञ्जनका लागि मात्र प्रस्तुत गरिएका हुन्। पाठकहरूले यसलाई पूर्ण रूपमा गम्भीर रूपमा नलिनु हुन अनुरोध छ। जीवनका महत्त्वपूर्ण निर्णयहरू गर्दा सम्बन्धित क्षेत्रका विज्ञको सल्लाह लिनु र वैज्ञानिक रूपमा प्रमाणित तथ्यमा भर पर्नु उपयुक्त हुन्छ।

ज्योतिष मुक्ति पौडेल
ज्योतिष मुक्ति पौडेल
मुक्ति पौडेल पेसाले आइटी इन्जिनियर हुन्। विगत १५ वर्षदेखि फिनल्यान्ड बस्दै आएका पौडेलको एआई, स्वास्थ्य सेवा, र आर्किटेक्चर जस्ता क्षेत्रमा एक दशकभन्दा लामो अनुभव छ। उनी वैदिक ज्योतिषीका अध्येता पनि हुन् र फिनल्यान्डमा उनले ज्योतिष परामर्श सेवा पनि दिँदै आएका छन्।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप