विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा मिडसमर उत्सव: नेपाली समुदायको पनि उत्साहपूर्ण सहभागिता

न्यानो र घमाइलो मौसमबीच फिनल्यान्डभरि मिडसमर मनाइरहँदा यहाँ रहेका नेपालीहरू पनि पिकनिक र रमाइलो गर्दै यो पर्वमा सहभागी भएका छन्।

संक्षेपमा


  • मिडसमर पर्वको मौसम न्यानो र घमाइलो।
  • नेपालीहरू बिदा मनाउँदै पिकनिक र कटेजमा।
  • मादक पदार्थ पिएर पानीमा नजान आग्रह।

फिनल्यान्डमा यो वर्षको युहान्नुस अर्थात् मिडसमर पर्व देशैभरि हर्षोल्लासका साथ मनाइँदै छ। न्यानो र घमाइलो मौसमका कारण मानिसहरूले यो पर्वको भरपुर मज्जा लिएका छन्।

हिजो मिडसमर पूर्वसन्ध्याको उत्सव मूलतः शान्तिपूर्ण रूपमा मनाइएको थियो। यद्यपि केही डुबेका, आगलागी भएका, सडक दुर्घटनामा परेका र घरेलु हिंसाका घटना भने भएका छन्।

फिनल्यान्डमा रहेका नेपालीहरूले पनि यो पर्वलाई उत्साहपूर्वक मनाएका छन्। धेरैजसो नेपालीका व्यवसायहरू एक-दुई दिनका लागि बन्द छन् भने अधिकांश काम गर्नेहरू पनि बिदामा छन्।

केही नेपालीहरू कटेजमा गएका छन् भने धेरैले साथीभाइ र आफन्तहरूसँग पिकनिक गरेका र पौडी खेलेका क्षणहरू सामाजिक सञ्जालमा सेयर गरेका छन्।

हिजो एस्पोको लुक्की क्षेत्रमा भेटिएका साजन कार्की साथीहरूसँग ‘ड्राई पिकनिक’ मा थिए।

विज्ञापन
विज्ञापन सकियो

“मौसम धेरै राम्रो छ र हामीले धेरै रमाइलो गरेका छौँ,” उनले भने। अरूको देशमा बसिसकेपछि त्यहाँको संस्कृतिलाई पनि सम्मान गर्नुपर्ने कार्कीले बताए।

एस्पोको लुक्कीमा साथीभाइसँग पिकनिक गरिरहेका साजन कार्कीले मादक पदार्थ वा अन्य नशालु पदार्थ सेवन गरेर पानीमा नजान सुझाए। फोटोः नेपालीलाइनेन।

उनले सबैलाई जिम्मेवार भएर मिडसमर मनाउन आग्रह गरे। मादक पदार्थ वा अन्य नशालु पदार्थ सेवन गरेर पानीमा नजान पनि उनले सुझाए।

विगतमा पानीमा डुबेका अप्रिय घटनाहरू सुनेकाले अरूलाई सचेत गराउन चाहेको उनले बताए।

सोही समूहमा रहेकी उषा केसीले फिनल्यान्डमा यो आफ्नो पहिलो मिडसमर भएको सुनाइन्। उनले आफूलाई धेरै रमाइलो लागिरहेको बताइन्।

केसी आफ्ना आफन्त र साथीभाइसँग त्यहाँ थिइन्। मानिसहरूले खाने, खेल्ने र रमाइलो गरिरहेको देखेको उनले नेपालीलाइनेनसँगको कुराकानीमा जानकारी दिइन्। आफूहरुले पनि पिकनिकमा मिठो नेपाली खाना खाएर मिडसमर मनाएको उनले बताइन्।

फिनल्यान्डमा पहिलो मिडसमर मनाइरहेकी उषा केसीले निकै रमाइलो लागिरहेको बताइन्। फोटोः नेपालीलाइनेन।

युहान्नुस अर्थात् मिडसमर फिनल्यान्डको एक प्रमुख राष्ट्रिय चाड हो। यो गर्मी यामको सुरुवात र वर्षको सबैभन्दा लामो दिनको उपलक्ष्यमा मनाइन्छ। यो दिन धेरैजसो मानिसहरू हेलसिन्की लगायतका सहर छोडेर तालको किनारमा रहेका आफ्ना समर कटेजमा जाने गर्छन्।

यो पर्वमा परम्परागत रूपमा बोन फायर बाल्ने, साउना जाने र प्रकृतिको आनन्द लिने चलन छ। यो समयमा रातभरि घाम नअस्ताउने हुनाले यो पर्वको फिनिस संस्कृतिमा विशेष महत्त्व छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप