संक्षेपमा
- भिडियो कलमार्फत नक्कली प्रहरीको नयाँ ठगी।
- आप्रवासीलाई देश निकाला र पक्राउको धम्की।
- अपरिचित नम्बर ब्लक गर्न प्रहरीको सुझाव।
फिनल्यान्डमा बसोबास गर्ने आप्रवासीहरू नक्कली प्रहरीको नयाँ ठगीको सिकार बन्न थालेका छन्। भिडियो कलमार्फत प्रहरीको भेषमा आउने ठगहरूले गम्भीर परिणामको धम्की दिँदै व्यक्तिगत विवरण लुट्ने प्रयास गरिरहेको फिनल्यान्डको प्रहरीले बताएको छ।
केन्द्रीय अनुसन्धान प्रहरीका अनुसार गुगल मिट जस्ता एपमार्फत यस्ता भिडियो कल आउने गरेका छन्। कल गर्नेहरूले अंग्रेजी र फिनिस भाषा बोल्ने गरेका छन्।
ठगहरूले कलको दौरान क्यामेरामा बैंक कार्ड वा परिचयपत्र देखाउन दबाब दिन्छन्। विवरण नदिएमा तत्काल बैंक खाता बन्द गर्ने, पक्राउ गर्ने वा देश निकाला गर्ने धम्की दिन्छन्।
फिनल्यान्डको प्रहरीले नागरिकहरूलाई कहिल्यै भिडियो कल नगर्ने स्पष्ट पारेको छ। बैंक वा अन्य कुनै पनि कानुनी निकायले भिडियो वा फोनमार्फत यस्ता संवेदनशील जानकारी माग्दैनन्।
प्रहरीले गुगल मिट वा अन्य एपमा अपरिचित व्यक्तिको कल आउन नमिल्ने सेटिङ मिलाउन आग्रह गरेको छ। आफ्नै कन्ट्याक्ट लिस्टका मानिसले मात्र कल गर्न सक्ने बनाउनु सुरक्षित हुन्छ।
यदि कसैलाई आफ्नो व्यक्तिगत विवरण वा पैसा दिइसकेको शंका लागेमा तुरुन्तै आफ्नो बैंकलाई सम्पर्क गर्नुपर्छ। बैंकलाई जानकारी गराइसकेपछि मात्र प्रहरीमा उजुरी अर्थात् Rikosilmoitus दिन प्रहरीले सल्लाह दिएको छ।
नक्कली प्रहरी बनेर ठगी गर्नु फिनल्यान्डमा नौलो अपराध भने होइन। यसअघि यस्ता ठगहरूले विशेष गरी वृद्धवृद्धाहरूलाई फोन गरेर वा घरमै पुगेर बैंकको विवरण चोर्ने गर्थे।
गत मे २०२५ मा मात्रै प्रहरीले वृद्धवृद्धा लक्षित यस्ता २९ वटा गम्भीर ठगीका घटनाहरूको अनुसन्धान गरेको थियो।








