मध्य युरोपमा चलेको तातो वायुको प्रभावका कारण फिनल्यान्डको मौसम तीव्र रूपमा तातिने भएको छ।
विशेष गरी दक्षिणी भागमा सोमबार तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ।
शनिबार अधिकांश स्थानमा मौसम सफा र घमाइलो रह्यो। दक्षिणी क्षेत्रमा तापक्रम २५ डिग्री नाघ्यो भने मध्य भागमा २० डिग्रीको आसपास रह्यो।
अब भने पूर्वी भागमा गुडिरहेका बादलहरू विस्तारै हट्दै जानेछन्।
आइतबारदेखि दक्षिण र मध्य फिनल्यान्डमा गर्मी अझै बढ्नेछ। तर गर्मीसँगै मौसम केही अस्थिर पनि बन्ने देखिन्छ।
दिउँसोको समयमा ठुलो हावाहुरी र तीव्र मेघगर्जनसहित भारी वर्षा हुन सक्छ। लापल्यान्ड क्षेत्रमा भने आइतबार पनि मौसम खराब नै रहनेछ।
सोमबार गर्मी उत्कर्षमा पुग्नेछ। दक्षिणी क्षेत्रमा तापक्रम ३० डिग्रीभन्दा माथि जाने निश्चित जस्तै छ।
फिनल्यान्डमा सामान्यतया जुन र जुलाई महिनामा गर्मी बढ्ने गर्छ। मध्य युरोपबाट आउने तातो वायुका कारण यहाँको तापक्रम अचानक वृद्धि हुने गर्छ।
स्थानीय रूपमा यसरी तापक्रम २५ डिग्री सेल्सियसभन्दा माथि जानुलाई ‘हेल्ले’ (Helle) भनिन्छ। उत्तरको तुलनामा दक्षिण फिनल्यान्डमा यस्तो गर्मी बढी महसुस हुने गर्छ।








