📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- हेलसिन्कीमा संस्थाको साधारण सभा सम्पन्न।
- पुनाराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यकारी समिति चयन।
- फिनल्यान्डमा नेपाली हिन्दु मन्दिर स्थापना गर्ने मुख्य लक्ष्य।
पशुपतिनाथ फिनल्यान्डको पहिलो साधारण सभा हिजो अगस्ट १ तारिखका दिन हेलसिन्कीमा सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि पुनाराम भण्डारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यकारी समिति र सल्लाहकार समिति चयन गरेको छ।
पशुपतिनाथ फिनल्यान्ड (आधिकारिक नामः Pashupati ry) फिनल्यान्डमा दर्ता भएको गैरनाफामुखी सामाजिक संस्था हो। यसले नेपाली कला, संस्कृति र हिन्दु धार्मिक परम्परालाई प्रवासमा जीवित राख्न र दोस्रो पुस्ताका नेपाली बालबालिकालाई आफ्नो जरासँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ।
साथै फिनल्यान्डमा बस्ने नेपाली हिन्दु धर्मावलम्बीहरूका लागि मन्दिर वा सबै नेपालीका लागि सांस्कृतिक केन्द्रको स्थापना गर्नु संस्थाको प्रमुख उद्देश्य रहँदै आएको छ। उक्त संस्थाले फिनल्यान्डमा विभिन्न सांस्कृतिक र धार्मिक कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ।
यस्तो छ नयाँ कार्यसमिति
सभाले चयन गरेको नयाँ कार्यसमितिको अध्यक्षमा पुनाराम भण्डारी, उपाध्यक्षमा धनपति पाण्डे, र सचिवमा प्रकाश भण्डारी चुनिएका छन्। त्यसैगरी, सह-सचिवमा प्रशिद्ध आचार्य, कोषाध्यक्षमा ऋषिराम न्यौपाने र सह-कोषाध्यक्षमा सिता खरेल चयन भएका छन्।
कार्यकारी समितिका सदस्यहरूमा दामोदर भण्डारी, भोजराज खराल, द्रोण प्रसाद सापकोटा, सोमराज खरेल, लक्ष्मी अर्याल र चिरञ्जीवी अर्याल रहेका छन्। त्यस्तै, राम प्रसाद अर्याल, आश्विन ओझा, इन्दुवर खनाल, नवराज घिमिरे र प्रवोध हुमागाईं पनि सदस्यमा चयन भएका छन्।
सभाले भरत गिरी, मुक्ति पौडेल, इश्वरी प्रसाद भण्डारी र सुशीला भण्डारीलाई पनि सदस्यको जिम्मेवारी दिएको छ।
संस्थालाई मार्गदर्शन गर्न ६ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। उक्त समितिमा शेखर आचार्य, जिवन खरेल, सुमन खड्का, नबिन भट्टराई, कुलमणि भण्डारी र योगेन्द्र संग्रौला रहेका छन्।
पछिल्ला वर्षहरूमा फिनल्यान्डमा नेपाली आप्रवासी र विद्यार्थीहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ। नेपाली समाज बढ्दै जाँदा आफ्ना चाडपर्व, संस्कार र पूजाआजाका लागि स्थायी धार्मिक तथा सांस्कृतिक केन्द्र (मन्दिर) को आवश्यकता लामो समयदेखि महसुस गरिँदै आएको छ।










