📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- हेलसिन्कीको केन्द्रमा ‘नेपाल डे २०२६’ भव्य रुपमा सम्पन्न।
- नेपाली परिकार, पञ्चेबाजा र अन्य सांस्कृतिक प्रस्तुतीहरु मुख्य आकर्षण।
- स्थानीय फिनिस नागरिक र पर्यटकहरू समेत रमाए।
फिनल्यान्डमा रहेका नेपाली समुदायलाई जोड्ने मुख्ये उद्देश्यले हिजो हेलसिन्कीमा आयोजित दोस्रो नेपाल डे भव्य रूपमा सम्पन्न भएको छ।
हेलसिन्कीको मुटु मानिने मुख्य रेलवे स्टेसनको छेवैमा दिनैभरि विविध सांस्कृतिक प्रस्तुति सहित कार्यक्रमको आयोजना गरिएको हो। मौसम समेत निकै सफा र घमाइलो रहेका कारण सहभागीहरू उत्सवमा रमाएका थिए।
कार्यक्रमको आयोजना गैर आवासीय नेपाली सङ्घ फिनल्यान्ड र फिनिस-नेपाली समाजले संयुक्त रूपमा गरेका हुन्। विभिन्न व्यवसायी सङ्घसंस्थाले कार्यक्रम प्रायोजकका रुपमा सहयोग गरेका थिए। नेपालीलाइनेनले पनि मिडिया पार्टनरको रूपमा नेपाल डे लाई सफल बनाउन सघाएको थियो।
फिनल्यान्डमा बसोबास गर्ने कैयौँ नेपालीहरूले कार्यक्रम सफल बनाउन व्यक्तिगत तवरमै आर्थिक सहयोग गरेका थिए।
ध्वनि व्यवस्थापनमा देखिएको प्राविधिक समस्याका कारण केही ढिलो गरी सुरु भएको कार्यक्रम सुरु भएपछि भने रफ्तारमा अघि बढेको थियो। कार्यक्रम स्थलमा फिनल्यान्डका विभिन्न क्षेत्रबाट आएका नेपालीहरू त थिए नै, प्रशस्त मात्रामा स्थानीय फिनिसहरु र फिनल्यान्ड घुम्न आएका पर्यटकहरू पनि देखिन्थे।
ढाका टोपी, कुर्ता सुरुवाल, र सारीमा सजिएका विदेशीहरू समेत देखिएका थिए।
पानसमा बत्ती बालेर अनि फिनल्यान्डमा जन्मेहुर्केका नेपाली बालबालिकाले चार-एक ब्यान्ड समूहसँगै राष्ट्रिय गान गाएर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। त्यसपछि अनेकतामा एकता शो, लिटिल स्टार्स/बालबालिकाको सो, थारु नाच, काहुट क्विज, तीज गित, र अन्य विविध सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए।
साङ्गीतिक प्रस्तुति मार्फत केही समय अगाडी बितेका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लगायत अन्य दिवङ्गत नेपाली पर्वतारोहीको समेत सम्झना गरिएको थियो।
दिन ढल्दै जाँदा पञ्चे बाजा लगायतका प्रस्तुतिले माहौलमा रौनक थपेको थियो। मोमो, सेल रोटी, बटुक लगायतका नेपाली खाना खानेहरूको लाइन पनि दिनैभरि देखिएको थियो।
नेपालको विविधता कार्यक्रम स्थलमा पनि स्पष्टै झल्किएको थियो।
बन्यो नेपाली मन जोड्ने सेतु
नेपालको विविधता कार्यक्रम स्थलमा पनि स्पष्टै झल्किएको थियो। कोही ढाका टोपीमा सजिएका थिए, कोही गुन्यु चोलोमा मुस्कुराइरहेका थिए। कोही दौरा-सुरुवाल, नेवारी, गुरुङ लगायतका पहिरनमा आफ्नो संस्कृति पस्किरहेका थिए।
विद्यार्थी, व्यवसायी, विभिन्न पेसामा आबद्ध नेपालीहरू, केटाकेटी, वृद्व वृद्वा, बहु-सांस्कृतिक परिवारहरू, नेपालबाट घुम्न आएका आफन्तहरु सबै खाले सहभागीहरू कार्यक्रम स्थलमा देखिएका देखिएका थिए।
लाग्थ्यो सबै आ-आफ्ना व्यस्तता र तनावलाई बिर्सेर केही घण्टाका लागि भए पनि एउटै नेपाली पहिचानमा बाँधिएका थिए। केही घण्टाकै लागि सही, हेलसिन्कीको मुटु नै ‘मिनी नेपाल’ मा परिणत भएको थियो।
स्टेजमा हिमालदेखि तराइसम्मका नेपालीहरूले लगाउने भेसभुसामा सजिएको एक ‘समूह फेसन सो’ देख्दा एक जना सहभागी रोइरहेकी थिइन्।
आँसु पुछ्दै नेपालीलाइनेनलाई छोटो प्रतिक्रिया दिएकी उनले नेपाल र नेपालीको सामूहिक एकताको भावले आफू भावुक भएको बताइन्।
“हामी त सयौँ वर्षदेखि मिलेर, एक भएर बसेको हो नि,” उनले भनिन्। “अस्ति नेपालमा पनि नमिठा घटनाहरू भए। अब यस्तो नहोस्। देशमा पनि सबै मिलौँ, विदेशमा पनि त्यही एकता कायम राखौँ।”
आयोजकले फेरे राहतको श्वास
गत वर्षको पहिलो नेपाल दिवसको भव्य सफलतापछि यो वर्ष अझै ठुलो र वृहत् महोत्सव आयोजना गर्न हौसिएका दुई आयोजक संस्थाले अन्तिम चरणसम्म विभिन्न समस्याहरूसँग जुध्नु परेको थियो।
खास गरी आर्थिक स्रोत जुटाउने विषय निकै पेचिलो बनेको थियो।
कार्यक्रमको पूर्व सन्ध्यासम्म आयोजकहरूमा एक प्रकारको तनाव र संशय थियो। तर अन्तिम समयतिर सहयोग प्राप्त हुन थालेपछि अवस्था सहज हुँदै गएको थियो।
जब कार्यक्रम सुरु भयो अनि भव्य रूपमा अगाडी बढ्दै गयो, कार्यक्रम आयोजकहरूका अनुहारमा पनि खुसी र उत्साह स्पष्टै देखिन्थ्यो।

“कार्यक्रममा एकदमै भव्य उपस्थिति रह्यो। यो देखेर गर्वले छाती फुलेर आयो। हामी नेपालीहरूको एकता र आपसी भाइचारा प्रस्ट देखियो,” कार्यक्रम सकिएपछि नेपालीलाइनेनलाई दिएको प्रतिक्रियामा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्डका अध्यक्ष योगेन्द्र सङ्ग्रौलाले बताए। “हामी सबैलाई बधाई छ, हामी सबैलाई शुभकामना छ! हामी सबै यसका साझेदार हौँ, र हामीले हाम्रो एकता राम्रोसँग देखाएका छौँ।”
“फिनल्यान्डका नेपालीहरूले नेपाल डे लाई राष्ट्रिय पर्व जसरी नै मनाए। सम्पूर्ण सहभागी र सहयोगी मनहरूलाई धेरै-धेरै धन्यवाद,” सङ्ग्रौलाले थपे।
यो वर्ष पनि भव्य रूपमा सम्पन्न भएसँगै नेपाल डे को फेरी नयाँ बेन्चमार्क बनेको र आगामी दिनमा यसलाई सानो हैन झनै ठुलो र भव्य बनाउँदै लैजानु पर्नेमा सङ्ग्रौलाले जोड दिए।
“हामी दुई संस्थाले मात्र नभएर नेपाल डे कमिटी नै बनाएर सम्पूर्ण सङ्घसंस्था, पेसाकर्मी, व्यवसायी, बुद्धिजीवी, विद्यार्थी, सञ्चारकर्मी, श्रमजीवी सबैको सहभागिता र अपनत्व हुने गरी अगाडी जानुपर्छ,” उनले भने।
कार्यक्रम आयोजकमध्येकै फिनिस नेपाली समाजकी अध्यक्ष रुक्मिणी भट्टराईले पनि कार्यक्रमको सफलताबाट आयोजकका हिसाबले आफूहरू सन्तुष्ट रहेको बताइन्।
“स्थानीय फिनिसहरू र विदेशीहरूको पनि उपस्थिति निकै राम्रै रह्यो। प्रस्तुतिहरू पनि निकै राम्रा भए। जस्तो पोहोर साल थारु नाच थिएन, अहिले थियो। पञ्चे बाजाका लागि पनि पोल्यान्डबाट आएर एक जनाले सनई बजाउनु भयो, त्यसले थप रौनकता थप्यो। भेन्डरहरू पनि सबै खुसी नै पायौँ,” भट्टराईले भनिन्।
भट्टराईले कार्यक्रम प्रायोजनमा सहयोग गरेका मन्त्र र माउन्ट एभरेस्ट रेस्टुरेन्ट लगायतका सम्पूर्ण साझेदार र सहयोगीहरूप्रति आफूहरू आभारी रहेको बताइन्।
कार्यक्रमस्थलमा नेपालीलाइनेनले कुरा गरेका मध्ये अधिकांश सहभागीहरूले पनि नेपाल डे को मज्जा लिएको र कार्यक्रमले भविष्यमा पनि निरन्तरता पाओस् र अझ भव्य बनोस् भन्ने चाहेको बताए।
फिनल्यान्डमा रहेका सबै नेपालीलाई एकै ठाउँमा ल्याउने सूत्रको रूपमा सुरु भएको नेपाल डे को भव्य निरन्तरताका लागि एनआरएनए फिनल्यान्ड र फिनिस–नेपाली समाजलाई नेपालीलाइनेनका तर्फबाट पनि धन्यवाद। अनि हेलसिन्कीको केन्द्रमै मिनी नेपालको झल्को दिँदै कार्यक्रम भव्य रूपमा सम्पन्न गराउन सफल भएकोमा हार्दिक बधाई पनि!
हेर्नुहोस् तस्बिरमाः


















