संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा नेपाल दिवस २०२६: यस्तो छ सहभागीहरूको अनुभव र प्रतिक्रिया

सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सके मात्र नेपाल डे जस्ता कार्यक्रम वास्तवमै “सबै नेपालीको” बन्न सक्ने एक सहभागीको भनाइ छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

हिजो हेलसिन्कीमा आयोजित दोस्रो नेपाल दिवस अर्थात् नेपाल डे भव्य रूपमा सम्पन्न भयो। हेलसिन्कीको मुटु मानिने मुख्य रेलवे स्टेसनको छेवैमा दिनैभरि विविध सांस्कृतिक प्रस्तुति सहित कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूमात्र नभएर स्थानीय फिनिस नागरिक र पर्यटकहरूको पनि उल्लेख्य सहभागिता थियो। कोही नेपाली परिकारको स्वाद लिइरहेका थिए, कोही सङ्गीतमा रमाइरहेका थिए भने कोही ढाका टोपी लगाएर नेपाली माहौलमा घुलमिल भएका थिए।

कार्यक्रममा सहभागी केहीसँग नेपालीलाइनेनले उनीहरूको अनुभव, अपेक्षा र फिनल्यान्डको नेपाली समुदायबारे कुराकानी गरेको थियो। ती मध्ये केही यो स्टोरीमा समेटिएका छन्।

पहिलो ‘नेपाल डे’ मै मञ्च सम्हालेका शरद

दाङका शरद मरासिनीका लागि यो नेपाल दिवस विशेष थियो। फिनल्यान्ड आएको ठिक एक वर्ष पुगेकै दिन उनले कार्यक्रममा सहभागिता जनाएका थिए।

विज्ञापन

“फिनल्यान्डमा यो मेरो पहिलो नेपाल दिवस हो। म यहाँ आएको ठिक एक वर्ष भयो, गत वर्ष आजकै दिन अगस्ट ८ मै आएको थिएँ,” उनले भने।

शरद मरासिनी। फोटोः नेपालीलाइनेन

नेपाल सेनामा करिब डेढ दशक सेवा गरेका मरासिनीले विभिन्न कार्यक्रम आयोजना तथा सञ्चालन गर्ने अनुभव पनि बटुलेका छन्। यस पटक उनले कार्यक्रमका सह–सञ्चालक भएर भूमिका निर्वाह गरे।

“आज कार्यक्रम सञ्चालन गर्ने अवसर पाउनु निकै राम्रो अनुभव भयो। यस्तो कार्यक्रममा सहभागी हुन पाउनु नै गर्वको कुरा हो,” उनले भने।

फिनल्यान्डमा नेपाली समाज बलियो रहेको उनको बुझाइ छ। तर नयाँ पुस्ताका विद्यार्थीहरूले भोगिरहेको बेरोजगारीले समुदायमा केही निराशा थपेको उनी बताउँछन्।

“धेरै नेपाली विद्यार्थी अहिले बेरोजगार छन्। यसले उनीहरूमा केही निराशा पैदा गरेको छ। यो समस्या सुधार भयो भने समुदायबिचको सम्बन्ध अझ बलियो बन्न सक्छ,” मरासिनीले भने।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

झापाकी दुर्गाको सपना: नेपाल दिवस फिनल्यान्डका नेपालीको राष्ट्रिय उत्सव

झापाकी दुर्गा न्यौपाने फिनल्यान्डमा लामो समयदेखि बस्दै आएकी छन्। उनी औपचारिक रूपमा एनआरएनए वा फिनिस नेपाली समाजको पदमा नरहे पनि नेपाल डे, नेपाल पदयात्राजस्ता गतिविधिको आयोजना र प्रवर्द्धनमा सक्रिय रहँदै आएकी छन्।

दुर्गा न्यौपाने। फोटोः नेपालीलाइनेन

उनका अनुसार नेपाल दिवस मनोरञ्जनको कार्यक्रम मात्र नभएर नेपाली समुदायलाई जोड्ने एउटा मियो हो।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

“यो कार्यक्रमका तीन मुख्य उद्देश्य छन्,” उनले स्पष्ट पारिन्। “पहिलो, फिनल्यान्डमा बसोबास गर्ने पुराना र नयाँ नेपालीबिचको दूरी घटाउनु। दोस्रो, फिनल्यान्डमा हुर्कँदै गरेका नयाँ पुस्तालाई हाम्रो संस्कृति र परम्परा हस्तान्तरण गर्नु। र तेस्रो, फिनल्यान्डमा रहेका सबै नेपालीलाई एकताबद्ध गरेर नेपाल दिवसलाई एक प्रकारको राष्ट्रिय उत्सवका रूपमा मनाउनु।”

फिनल्यान्डमा हुने सामाजिक कार्यक्रमहरूमा ‘गुल्मीका मान्छेहरुको मात्र बढी सक्रियता हुने’ भन्दै बेलाबेलामा आउने गरेको टिप्पणीप्रति केही भन्न चाहेको पनि उनले बताइन्।

“केही मानिसले नेपाली कार्यक्रमहरूमा गुल्मीका मान्छे मात्र हुन्छन् भन्नुहुन्छ। तर सत्य के हो भने गुल्मीका साथीहरू नै सक्रिय छन्। म झापाकी हुँ, तर काम गर्न उहाँहरूसँगै गएँ, किनकि उहाँहरू नै सक्रिय हुनुहुन्थ्यो,” उनले भनिन्।

उनका अनुसार नेपाल डे को पहल कुनै व्यक्तिगत समूहका लागि नभई फिनल्यान्डमा रहेका सबै नेपाली र खासगरि यहाँ हुर्कँदै गरेका नेपाली बालबालिकाका लागि हो।

यद्यपि, फिनल्यान्डमा बेरोजगारीको सामना गरिरहेका नयाँ नेपाली विद्यार्थीहरूलाई कार्यक्रमको प्रक्रियामा अझ बढी समेट्नुपर्ने उनको स्वीकारोक्ति छ।

“उनीहरूलाई सस्तो शुल्कमा स्टल उपलब्ध गराउने जस्ता उपाय अपनाउन सकिन्थ्यो। नयाँ विद्यार्थीहरूलाई सहभागी गराउने विषयमा आगामी दिनमा अझ ध्यान दिनुपर्छ,” उनले भनिन्।

१८ वर्षे केशवको नजरमा नेपाल डे: फिनिसहरू रिसाउलान् भनेको रमाएको देखियो

बाँके मूल घर भएका १८ वर्षीय केशव ओली फिनल्यान्डमा उच्च माध्यमिक तह अर्थात् लुकियो अध्ययनरत छन्। तीसहजार भन्दा धेरै सदस्य रहेको फिनल्यान्डमा नेपाली फेसबुक समूह व्यवस्थापन गर्ने ओलीको समूह धेरै नेपालीका लागि सूचना र सहयोगको महत्त्वपूर्ण माध्यम बनेको छ।

केशव ओली। फोटोः नेपालीलाइनेन

गत वर्ष नेपाल दिवसमा सहभागी नभएका ओली यस पटक पनि केही हिचकिचाएका थिए। तर अन्ततः कार्यक्रममा पुगेपछि भने उनको धारणा बदलियो।

“गत वर्ष म आएको थिइनँ। यस पटक पनि केही हिचकिचाहट थियो। तर आएँ। आउने निर्णय गरेकोमा खुसी छु,” उनले भने।

हेलसिन्कीको केन्द्रमा ठुलो आवाजमा सङ्गीत बज्दा र धेरै विदेशी नागरिक भेला हुँदा स्थानीय फिनिसहरू असहज मान्लान् भन्ने उनलाई लागेको थियो। तर वास्तविक दृश्य उनको अनुमानभन्दा बिलकुल फरक थियो।

“फिनिसहरू रिसाउलान् भन्ने लागेको थियो। तर उल्टै स्थानीय फिनिस र पर्यटकहरू पनि कार्यक्रममा सहभागी भएका छन्। उनीहरूले कार्यक्रमबारे सोधिरहेको, नेपाली खाना किनेर खाइरहेको, र सङ्गीतको आनन्द लिइरहेका पनि देखेँ,” ओलीले सुनाए।

“खानाको मूल्य पनि धेरै महँगो लागेन,” उनले थपे। “मौसम राम्रो छ, मानिसहरू चिल गरिरहेका छन्।”

उनले आगामी कार्यक्रमका लागि एउटा व्यावहारिक सुझाव भने दिए।

“हामीलाई त उभिन गाह्रो भएन। अलि वृद्धहरूका लागि भने बस्ने व्यवस्था भए राम्रो हुने थियो। अर्को वर्ष आयोजकहरूले यसबारे सोच्नुपर्छ,” उनले भने।

ओली कार्यक्रममा आफ्ना दाइ र दुई साथीहरूसँग सहभागी भएका थिए।

आफ्ना दाइ र साथीहरुसँग कार्यक्रममा आएका केशव ओली। फोटोः नेपालीलाइनेन

अझ समावेशी हुनुपर्ने आवाज

कपिलवस्तुका मदन लम्सालले नेपालमा सञ्चार र इभेन्ट म्यानेजमेन्ट क्षेत्रमा काम गरिसकेका छन्। करिब डेढ वर्ष अगाडी फिनल्यान्ड आएका उनले कार्यक्रमको प्रशंसा गर्दै भविष्यमा यसलाई अझ समावेशी बनाउन सुझाए।

“कार्यक्रम निकै राम्रो थियो। तर आगामी दिनमा समावेशिताका लागि अझै सक्रिय पहल गर्न सकिन्छ,” उनले भने।

फिनल्यान्डमा बढ्दै गएको नेपाली क्रिश्चियन समुदाय र मधेसी समुदायलाई पनि कार्यक्रमको आयोजना तथा प्रस्तुतिमा अझ प्रत्यक्ष रूपमा समेट्नुपर्ने उनको धारणा छ।

“फिनल्यान्डमा नेपाली क्रिश्चियन समुदाय पनि बढ्दै गएको छ। उहाँहरूलाई पनि कार्यक्रममा भूमिका दिइएको भए सहभागिता अझ व्यापक हुन सक्थ्यो। मधेसी समुदायको हकमा पनि यही कुरा लागू हुन्छ,” लम्सालले भने। उनी आफू भने हिन्दु ब्राह्मण हुन्।

मदन लम्साल।

सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सकेमात्र कार्यक्रम वास्तबमै “सबै नेपालीको” बन्न सक्ने उनको भनाइ छ।

साथै फिनल्यान्डमा निर्वाचित नेपाली मूलका जनप्रतिनिधिमध्ये एकजनाले नेपाली र फिनिस दुवै भाषामा छोटो मन्तव्य दिएको भए कार्यक्रमको शोभा थप बढ्ने उनले बताए।

कार्यक्रमस्थलमा ढाका टोपी लगाएर बसेका एक फिनिस जोडीले नेपाली खाना र कार्यक्रमको वातावरण आफूहरूलाई निकै मन परेको बताए।

“खाना स्वादिलो छ र यहाँको माहोल निकै राम्रो छ,” उनीहरूले भने।

कार्यक्रममा सहभागी स्थानीय फिनिस जोडी। फोटोः नेपालीलाइनेन

अर्को जोडी थियो स्थानीय सेप्पो र आर्याको जसले दुई दसकभन्दा लामो समय अगाडी नेपाल भ्रमणमा गएका थिए। उनीहरूले कार्यक्रम स्थलमा रेशम फिरिरी गीत गाएर धेरैलाई मन्त्रमुग्ध बनाएका थिए।

“नेपाल गएको यत्रो वर्षसम्म पनि नेपाललाई सम्झिरहनु भएको रहेछ त?” भन्ने नेपालीलाइनेनको प्रश्नमा मुस्कुराउँदै फिनिस भाषामा उत्तर फर्काएकी आर्याले भनिन्ः “समय पो लामो भयो त, सम्झनाहरू त ताजै छन् नी!”

धेरै वर्ष पहिले नेपाल पुगेको सेप्पो र आर्याको जोडी। फोटोः नेपालीलाइनेन
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप