विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

ज्योतिषी मुक्ति पौडेलको प्रक्षेपण: २०२६ हुनेछ फिनल्यान्डका लागि ठुलो उतारचढावको वर्ष

फिनल्यान्डलाई कर्मथलो बनाएका नेपाली आइटी विज्ञ तथा ज्योतिषी पौडेलले सन् २०२६ मा फिनल्यान्डको राजनीति, अर्थतन्त्र र सुरक्षामा ठूलो उतारचढाव आउने दाबी गरेका छन्।

संक्षेपमा


  • कुनै सरकारी ‘गोप्य तथ्य’ र आर्थिक अनियमितता सार्वजनिक हुने सम्भावना।
  • सीमा सुरक्षामा कडाइ र सैन्य खर्चले बजार मूल्य बढ्ने।
  • अगस्टमा राष्ट्रिय संकट वा साइबर आक्रमणको उच्च जोखिम।

फिनल्यान्डमा कार्यरत नेपाली सफ्टवेयर इन्जिनियर तथा ज्योतिषी मुक्ति पौडेलले सन् २०२६ फिनल्यान्डका लागि ऐतिहासिक रूपमै चुनौतीपूर्ण रहने भविष्यवाणी गरेका छन्।

पौडेलका अनुसार यो वर्ष फिनल्यान्डले राजनीतिक ‘स्क्यान्डल’, आर्थिक मन्दी र सुरक्षा सङ्कटको सामना गर्दै नयाँ स्वरूपमा ‘पुनर्जन्म’ लिनेछ।

यो वर्ष हुने परिवर्तनहरूबाट फिनल्यान्डमा बस्ने हरेक व्यक्तिको जीवनमा केही न केही प्रभाव पर्ने पौडेलको दाबी छ।

जनवरी १२ देखि फिनल्यान्डको कुण्डलीमा बुधको प्रभाव सुरु हुने पौडेलले बताए। उक्त समयमा सरकारका कुनै पुराना गोप्य दस्ताबेज वा बजेटमा गम्भीर असर पर्ने कुरा सार्वजनिक हुन सक्नेछ।

फेब्रुअरी १७ को सूर्य ग्रहणले सरकारको काममा ठुलो प्रभाव पार्नेछ। यो समयमा राजनीतिक तनाव चरम सीमामा पुग्न सक्नेछ। अर्थतन्त्र बढ्न खोजे पनि रोजगारीको बजार भने सुस्त रहनेछ।

विज्ञापन
विज्ञापन सकियो

“सरकारले पैसा वा पुराना गोप्य कुराहरूसँग सम्बन्धित ठुला घोटालाहरूको सामना गर्नुपर्ने हुन सक्छ,” पौडेल भन्छन्। “राष्ट्रिय बजेटमा “ब्ल्याक होल” (ठुलो घाटा) वा विगतको गल्तीका कारण कुनै नेताले राजीनामा दिनुपरेको समाचार सुन्न पाउने सम्भावना छ।”

राजनीतिक विवाद र कमजोर आर्थिक अवस्थाका कारण फेब्रुअरीको सूर्य ग्रहणपछि ठुला कम्पनीहरूले कर्मचारी भर्ना रोक्ने सम्भावना छ। यसले गर्दा मानिसहरू नयाँ लगानी गर्नुभन्दा बचततर्फ आकर्षित हुन सक्नेछन्।

सीमा सुरक्षा र आर्थिक भार

ज्योतिष योग अनुसार मार्च र अप्रिल महिनामा सीमा सुरक्षा र अध्यागमन सम्बन्धी थप कडा कानुनहरू आउन सक्नेछन्। पूर्वी सीमाको चिन्ताले गर्दा घरजग्गा कारोबारमा थप मन्दी आउने र निर्माण क्षेत्रमा बेरोजगारी झनै बढ्ने पौडेलको प्रक्षेपण छ।

“सुरक्षा-पहिलो प्राथमिकता भन्ने मनोवृत्तिले अर्थतन्त्रलाई असर गर्न थाल्नेछ। भर्खरै चलायमान हुन थालेको घरजग्गा बजार फेरि सुस्त हुनेछ,” पौडेल भन्छन्। “मानिसहरू निश्चित क्षेत्रमा घर किन्न डराउनेछन्, जसले गर्दा घरको मूल्य भने घट्न सक्छ। नयाँ परियोजनाहरू रोकिएका कारण निर्माण उद्योगमा बेरोजगारी पनि उच्च रहनेछ।”

विदेशी राष्ट्रहरूले फिनल्यान्डलाई एउटा लडाइँको “किल्ला” को रूपमा हेर्ने भएका कारण अन्तर्राष्ट्रिय व्यापारिक सम्झौताहरू धेरै सुस्त हुने पौडेलको दाबी छ।

“दैनिक जीवनमा मानिसले एक प्रकारको “भारीपन” महसुस गर्नेछन्। मानिसहरू बाहिर जानु भन्दा घरमै बसेर आफ्नो सम्पत्तिको रक्षा गर्न बढी केन्द्रित हुनेछन्,” पौडेल भन्छन्।

मे र जुन महिनामा सरकारले शिक्षा र स्वास्थ्यको बजेट कटौती गरी सैन्य क्षेत्रमा खर्च बढाउने सम्भावना छ। रक्षा वा सुरक्षा क्षेत्रमा पर्याप्त रोजगारी भए पनि कला, पर्यटन वा साना पसल जस्ता क्षेत्रहरूले सङ्घर्ष गर्नुपर्नेछ।

ज्योतिष योग अनुसार इन्धन र ढुवानीको लागत पनि बढ्ने सम्भावना छ। यसले खाद्यान्न थप महँगो बनाउने छ। सोही कारण जनताको मुड चिन्ताबाट आक्रोशमा परिणत हुन सक्ने सम्भावना रहेको पौडेल बताउँछन्।

“उच्च मूल्यवृद्धि र दैनिक आवश्यकता भन्दा सैन्य खर्चमा सरकारले बढी ध्यान दिएको भन्दै ठुला हडताल वा विरोध प्रदर्शनहरू हुन सक्छन्,” पौडेल भन्छन्।  

यो वर्षको अन्त्यसम्म फिनल्यान्ड बढी सुरक्षित, प्रविधिमैत्री, थप बलियो र संकटका लागि तयार भएर निस्कनेछ। तर विगतको जस्तो “सहज” अनुभूति भने हराउनेछ।

अगस्टको सूर्यग्रहणले ल्याउन सक्छ थप संकट

अगस्ट १२ को सूर्यग्रहण फिनल्यान्डका लागि सबैभन्दा कठिन समय हुने पौडेलको आकलन छ। सो समयमा विद्युत् प्रणालीमा अवरोध वा ठूलो साइबर आक्रमणका कारण देशमा आपत्कालीन अवस्था समेत लागू हुन सक्ने पौडेलले बताए।

सेप्टेम्बरदेखि सरकारले प्रविधिको माध्यमबाट नागरिकमाथि निगरानी बढाउन थाल्नेछ। प्रविधि र सुरक्षा क्षेत्रमा रोजगारीका अवसर बढे पनि सामाजिक स्वतन्त्रता भने केही खुम्चिने सम्भावना छ।

“अगस्टको झट्का पछि सेप्टेम्बर र अक्टोबरमा यहाँको सरकार “मर्मत” मोडमा जानेछ।” पौडेल भन्छन्। “अर्को संकट रोक्नको लागि राज्यले उच्च-प्रविधियुक्त निगरानी सुरु गर्न सक्नेछ। तपाईंको इन्टरनेट डाटा कसरी प्रयोग गरिन्छ वा तपाईंले पैसा कसरी खर्च गर्नुहुन्छ भन्ने बारे नयाँ नियमहरू आउन सक्छन्।”

“सेप्टेम्बर-अक्टोबरतिर रक्षा र प्रविधी क्षेत्रमा धेरै रोजगारी सिर्जना हुने देखिन्छ,” पौडेल भन्छन्। “तर आप्रवासीहरूलाई यी क्षेत्रमा हायर गर्ने सम्भावना कम देखिन्छ।”

“सबै एक भएर चल्नुपर्ने” सामाजिक दबाब बढ्दै जाँदा बाहिरिया मानिने मानिसहरूलाई काम खोज्न वा यहाँ स्वागत भएको महसुस गर्न गाह्रो हुन पौडेलको प्रक्षेपण छ।

पौडेलका अनुसार यो वर्ष संरचना र अनुशासनको ग्रह शनिको प्रभावमा समाप्त हुनेछ। नोभेम्बर-डिसेम्बर तिर पुगेपछि बल्ल बेरोजगारी बढ्न छाड्ने पौडेल बताउँछन्।

डिसेम्बरसम्म पुग्दा फिनल्यान्डले ऋण तिर्न र सुरक्षा मजबुत बनाउन थप कडा योजनाहरू ल्याउने सम्भावना छ। यसले गर्दा सन् २०२६ को क्रिसमस निकै सामान्य र खर्च कटौतीको माहोलमा बित्नेछ।

यो वर्ष फिनल्यान्डका लागि एउटा ‘पुल’ जस्तै हुने पौडेलले बताए। यो वर्षको अन्त्यसम्म फिनल्यान्ड बढी सुरक्षित, प्रविधिमैत्री, थप बलियो र संकटका लागि तयार भएर निस्कनेछ। तर विगतको जस्तो “सहज” अनुभूति भने हराउनेछ।

सम्पादकीय नोटः यहाँ प्रस्तुत गरिएको ज्योतिष विश्लेषण, भविष्यवाणी तथा अनुमानहरू परम्परागत विश्वास, धारणा र ज्योतिष पौडेलको व्यक्तिगत व्याख्यामा आधारित छन्। यी कुराहरू वैज्ञानिक रूपमा प्रमाणित तथ्यमा आधारित होइनन् र केवल जानकारी तथा मनोरञ्जनका लागि मात्र प्रस्तुत गरिएका हुन्। पाठकहरूले यसलाई पूर्ण रूपमा गम्भीर रूपमा नलिनु हुन अनुरोध छ। जीवनका महत्त्वपूर्ण निर्णयहरू गर्दा सम्बन्धित क्षेत्रका विज्ञको सल्लाह लिनु र वैज्ञानिक रूपमा प्रमाणित तथ्यमा भर पर्नु उपयुक्त हुन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप