विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

भान्ताको पार्कबाट दुई मुर्ति चोरी, हराएका मूर्तिको मूल्य एक लाख चालिस हजार युरो

भान्ताको हाकुनिलास्थित प्रसिद्ध लाइला पुल्लिनेन पार्कबाट सयौं किलो तौलका दुई काँस्य मूर्तिहरू चोरी भएका छन्। प्रहरीले चोर पत्ता लगाउन सर्वसाधारणसँग सहयोगका लागि अपिल गरेको छ।

.संक्षेपमा.


  • हाकुनिलास्थित लाइला पुल्लिनेन मूर्तिकला पार्कबाट बहुमूल्य काँस्यका मूर्तिहरू चोरी।
  • चोरी भएका मूर्तिहरूको मूल्य लगभग १,४०,००० युरो ($150,000) रहेको अनुमान।
  • प्रहरीले घटनालाई गम्भीर चोरीको रूपमा अनुसन्धान गर्दै।

फिनल्यान्डको भान्तास्थित एक प्रसिद्ध मूर्तिकला पार्कबाट दुईवटा बहुमूल्य काँस्य मूर्तिहरू चोरी भएका छन्। पूर्वी उसीमा प्रहरीका अनुसार लाइला पुल्लिनेन मूर्तिकला पार्क र संग्रहालयबाट बुधबार जुलाई १६ को साँझ र बिहीबार जुलाई १७ को बिहानको बीचमा चोरी भएका ती मूर्तिहरूको संयुक्त मूल्य लगभग १,४०,००० युरो रहेको छ।

सयौं किलो तौलका यी कलाकृतिहरूको चोरीलाई प्रहरीले गम्भीर अपराधको रूपमा अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे मूर्तिकला पार्कबाट ती कलाकृतिहरू हराएको पत्ता लागेको थियो। चोरी भएका मूर्तिहरू ‘Torso’ र ‘Pako kolmanteen todellisuuteen’ हुन्।

यी मूर्तिहरू प्रसिद्ध मूर्तिकार लाइला पुल्लिनेनको सांस्कृतिक तथा ऐतिहासिक संग्रहको हिस्सा थिए। चोरहरूले तेस्रो मूर्ति पनि लैजान प्रयास गरेका थिए। तर प्रयास सफल नभएपछि ढालेर छाडेका थिए।

चोरी भएका मूर्तिहरूको तौल सयौं किलोग्राम भएकोले चोरहरूले विशेष उपकरण प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ।

विज्ञापन
विज्ञापन सकियो

लाइला पुल्लिनेन फिनल्याण्डकी एक प्रसिद्ध कलाकार र मूर्तिकार थिइन्। उनको काममा आधुनिकतावाद खासगरी मूर्तिकलाको शास्त्रीय आधुनिकतावादको झलक पाइन्छ। अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाउने थोरै फिनिस महिला कलाकारहरूमध्ये उनी पनि एक थिइन्। चोरी भएका मूर्तिहरू उनैले बनाएकी हुन्। उनको सन् २०१५ मा ८२ वर्षको उमेरमा निधन भएको थियो।

प्रहरीले संदिग्धहरूको पहिचान गर्न बुधबार राति ९ बजेदेखि बिहीबार बिहान ५ बजेको बीचमा मूर्तिकला पार्कको वरपर कुनै पनि शंकास्पद गतिविधि देखेका प्रत्यक्षदर्शीहरूलाई सम्पर्क गर्न अनुरोध गरेको छ। प्रहरीले अनुसन्धानका लागि अन्य कुनै पनि सम्भावित जानकारी र सुचना महत्त्वपूर्ण हुने बताएको छ।

सर्वसाधारणले कुनै पनि जानकारी पूर्वी उसीमा प्रहरीलाई इमेल ठेगाना [email protected] वा फोन नम्बर 0503999026 मा सम्पर्क गरेर दिन सक्नेछन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप