विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

ताम्पेरेमा कुकुरको टोकाइबाट शिशुको मृत्यु, कुकुर मालिकमाथि अनुसन्धान सुरू

गत डिसेम्बरमा ताम्पेरेमा भएको घटनामा एक शिशुको ज्यान गएको हो। प्रहरीले कुकुर मालिकलाई लापरबाहीले मृत्यु गराएको आशंकामा अनुसन्धान सुरू गरेको जनाएको छ।

.संक्षेपमा.


  • कुकुरले टोक्दा तीन महिनाभन्दा कम उमेरका शिशुको मृत्यु।
  • घटना एक निजी निवासमा भएको थियो।
  • कुकुर मालिकमाथि लापरबाहीले मृत्यु गराएको आशंकामा अनुसन्धान सुरू।

फिनल्यान्डको प्रहरीले ताम्पेरेमा गत डिसेम्बरमा भएको एक शिशुको मृत्युको घटनामा अनुसन्धान गरिरहेको जनाएको छ। फिनिस प्रहरीले सोमबार निकालेको विज्ञप्ति अनुसार ताम्पेरेको एक निजी निवासमा कुकुरले टोकेपछि तीन महिनाभन्दा कम उमेरका शिशुको मृत्यु भएको थियो।

यो दुःखद घटना गत वर्ष (२०२४) को डिसेम्बर महिनामा भएको थियो। प्रहरीले घटनामा कुकुरको मालिकलाई लापरबाहीले मृत्यु गराएको (फिनिसमा ‘kuolemantuottamus’) आशंका गरेको छ र सोही आधारमा अनुसन्धान अगाडि बढाएको छ।

प्रहरीले घटनाको संवेदनशीलता र अनुसन्धान जारी रहेको भन्दै यस विषयमा थप जानकारी दिन अस्वीकार गरेको छ। “विषयको संवेदनशीलता र अनुसन्धान जारी रहेकोले प्रहरीले यस घटनाबारे थप टिप्पणी गर्ने छैन।” विज्ञप्तिमा भनिएको छ।

फिनल्यान्डको तथ्याङ्क विभाग (Tilastokeskus) को तथ्याङ्क अनुसार सन् १९९८ देखि २०२३ सम्मको २५ वर्षको अवधिमा फिनल्यान्डमा कुकुरको आक्रमणबाट कुल ३५ जनाको मृत्यु भएको छ।

कुकुरको टोकाइ वा आक्रमणबाट मृत्यु हुने ताम्पेरेका शिशु दोस्रो बच्चा हुन्। यसअघि सन् २००८ मा एलिमाकी (हाल कौभोलाको हिस्सा) मा आफ्नै परिवारको कुकुरले आक्रमण गर्दा एक १० वर्षीय बालकको मृत्यु भएको थियो।

विज्ञापन
विज्ञापन सकियो

कुकुरहरूले साना बालबालिकालाई किन टोक्छन्?

पशु विज्ञहरूका अनुसार कुकुरले साना बालबालिकालाई प्रायः आक्रामकताले भन्दा पनि डर, तनाव वा आत्मरक्षाका लागि टोक्ने गर्छन्। बालबालिकाको अप्रत्याशित चाल, चर्को आवाज, वा अचानकको व्यवहारले कुकुरलाई तर्साउन सक्छ।

कहिलेकाहीँ सिकारको रूपमा पनि कुकुरले आक्रमण गर्ने गर्छन्।

विभिन्न अध्ययनहरूले देखाए अनुसार बालबालिकालाई हुने धेरैजसो टोकाइका घटनाहरू परिचित कुकुरबाटै हुन्छन् र प्रायः रोक्न सकिने खालका हुन्छन्।

कुकुर जतिसुकै मिलनसार भए पनि साना बालबालिका र कुकुरलाई कहिल्यै एक्लै छोड्न नहुने पशु विज्ञहरू सुझाउँछन्। 

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप