विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की क्षेत्रमा ड्रोनको त्रास: उच्च सतर्कता सहित घरभित्रै रहन सरकारको अनुरोध

हेलसिन्की र पोर्भो बीचको क्षेत्रमा शंकास्पद ड्रोन देखिएपछि उडानहरू स्थगित गरिएका छन् र सर्वसाधारणलाई सुरक्षित रहन चेतावनी दिइएको छ।

पछिल्लो अपडेट @ 07:16

  • अब ड्रोनको कुनै खतरा नरहेको फिनल्यान्डको गृह मन्त्रालयको जानकारी। हेलसिन्की एयरपोर्ट पनि खुल्यो। आफ्नो दैनिक काममा फर्कन सक्नुहुन्छ। हाम्रो लाइभ अपडेट पनि बन्द भएको छ।

– हेलसिन्कीमा अवतरण हुने विमानहरू रोभानिएमी, ताल्लिन, र स्टकहोमतिर पठाइयो।

– HSL भन्छः ड्राइभर उपलब्ध भएसम्म सार्वजनिक सवारी सामान्य रुपमै चल्नेछ।

– हेलसिन्की-भान्ता विमानस्थलमा विमान अवतरणमा हुनेछ ढिलाइ।

विज्ञापन
विज्ञापन सकियो

‍- हेलसिन्की महानगरका सेवाहरू कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय लिन बिहान ६:३० देखि बैठक बसिरहेको जानकारी।

– हेलसिन्की-भान्ता विमानस्थलमा सबै उडानहरू तत्कालका लागि स्थगित।

‍- जमिनमा ड्रोन वा त्यसका पार्टपुर्जाहरू भेटिएमा त्यसलाई विस्फोटक पदार्थ सरह मानेर टाढै रहन निर्देशन

– फिनल्यान्डमाथि सिधा सैन्य खतरा नरहेको सेनाको स्पष्टोक्ति।

– बाहिर रहेका मानिसहरूलाई तत्काल घरभित्र जान र भवनको बलियो पर्खाल भएको बीचको भागमा बस्न सुझाव।

मुख्य अपडेट


  • हेलसिन्की-भान्ता विमानस्थलमा सबै उडानहरू तत्कालका लागि स्थगित।
  • शंकास्पद ड्रोन देखिएमा १५० मिटर टाढा रहन प्रहरीको निर्देशन।
  • फिनल्यान्डमाथि सिधा सैन्य खतरा नरहेको सेनाको स्पष्टोक्ति।

शुक्रबार बिहान ऊसिमा क्षेत्रमा शंकास्पद ड्रोनको आवतजावत देखिएपछि सर्वसाधारणका लागि संकटकालीन चेतावनी जारी गरिएको छ।

हेलसिन्की र पोर्भो बीचको क्षेत्रमा ड्रोन खस्न सक्ने जोखिमका कारण मानिसहरूलाई भवनको भित्री भागमा बस्न र झ्यालबाट टाढा रहन आग्रह गरिएको छ।

हेलसिन्की-भान्ता विमानस्थलमा सबै उडानहरू अर्को सूचना नभएसम्मका लागि रोकिएका छन्। फिनिस रक्षा बलले शुक्रबार बिहानै ड्रोनहरू बाटो बिराएर फिनल्यान्डको आकाशमा छिर्न सक्ने सूचना पाएको थियो।

सार्वजनिक यातायात (HSL) का बस, मेट्रो र ट्रामहरू हाल सञ्चालनमै छन्। तर स्थिति हेरेर केही रुटहरू जुनसुकै बेला रद्द हुन सक्ने बताइएको छ।

बाहिर रहेका मानिसहरूलाई तत्काल घरभित्र जान र भवनको बलियो पर्खाल भएको बीचको भागमा बस्न भनिएको छ। यदि घरभित्र जान सम्भव नभएमा सकेसम्म सुरक्षित ओत लाग्ने ठाउँ खोज्न सुझाव दिइएको छ।

जमिनमा ड्रोन वा त्यसका पार्टपुर्जाहरू भेटिएमा त्यसलाई विस्फोटक पदार्थ सरह मानेर टाढै रहन निर्देशन दिइएको छ। यस्तो अवस्थामा ड्रोनबाट कम्तीमा १५० मिटर टाढा रहेर तत्काल ११२ मा फोन गर्नुपर्ने हुन्छ।

ड्रोनको तस्बिर खिच्न वा त्यसको लोकेसन सामाजिक सञ्जालमा सेयर नगर्न अधिकारीहरूले कडा निर्देशन दिएका छन्। यसले सुरक्षा व्यवस्थामा थप जटिलता ल्याउन सक्ने उनीहरूको भनाइ छ।

विद्युत केन्द्र, विमानस्थल, बन्दरगाह वा सरकारी भवनहरू आसपास ड्रोन देखिएमा तुरुन्त प्रहरीलाई खबर गर्न भनिएको छ। यद्यपि, सोधपुछका लागि मात्र ११२ मा फोन नगर्न सर्वसाधारणलाई सचेत गराइएको छ।

शुक्रबार बिहानैदेखि ऊसिमा र हेलसिन्कीको आकाशमा वायुसेनाका हर्नेट (Hornet) विमानहरूले गस्ती गरिरहेका छन्। रक्षा बलका अनुसार यी ड्रोनहरू बाटो बिराएर आएका हुन सक्छन् र फिनल्यान्ड माथि अहिले कुनै प्रत्यक्ष सैन्य आक्रमणको खतरा छैन।

ऊसिमा फिनल्यान्डको सबैभन्दा धेरै जनसंख्या भएको क्षेत्र हो, जहाँ राजधानी हेलसिन्की र मुख्य विमानस्थल अवस्थित छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप