📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- Heffring University नक्कली संस्था, फिनल्यान्डमा छैन कुनै कानुनी मान्यता।
- वार्षिक ६,००० युरोसम्म शुल्क लाग्ने नक्कली डिग्रीको प्रचार।
- वेबसाइट र सामाजिक सञ्जालका सामग्री नक्कली भएपनि देखिन्थे विश्वसनीय।
फिनल्यान्डको हेलसिन्कीमा रहेको दाबी गर्दै शुल्क तिरेर स्नातक र स्नातकोत्तर डिग्री लिन सकिने प्रचार गर्ने Heffring University नामको संस्था नक्कली भएको खुलेको छ। फिनल्यान्डको शिक्षा तथा संस्कृति मन्त्रालय (OKM) ले उक्त नामको विश्वविद्यालयको फिनल्यान्डमा अस्तित्वमै नरहेको पुष्टि गरेको हो।
मन्त्रालयका सरकारी सचिव युस्सी साल्लिलाले Heffring University फिनल्यान्डमा मान्यता प्राप्त वा सञ्चालन अनुमति पाएको उच्च शिक्षा संस्था नभएको हेलसिन्गिन सानोमातलाई दिएको प्रतिक्रियामा बताएका छन्।
फिनल्यान्डमा आधिकारिक रूपमा मान्यता प्राप्त विश्वविद्यालय तथा एप्लाइड साइन्सेस विश्वविद्यालयहरूको संख्या ३५ मात्र छन्।
उक्त नक्कली संस्थाले अनलाइन विज्ञापन, वेबसाइट तथा कथित भर्ना सूचना प्रयोग गरेर हेलसिन्कीमा पढ्न चाहने विद्यार्थीलाई लक्षित गरेको थियो। क्याम्पस कार्यक्रम र आवेदन खुला भएको जानकारी समेत प्रचार गरेको थियो। ती कार्यक्रममार्फत विद्यार्थीबाट वार्षिक ६ हजार युरोसम्म शुल्क उठाउने प्रयास गरेको थियो।

समाचार बाहिरिएपछि नेपालीलाइनेनले उक्त नक्कली विश्वविद्यालयको वेबसाइट हेरेको थियो। वेबसाइट हेर्दा ठ्याक्कै साँच्चिकैको उच्च शिक्षा दिने कलेज वा युनिभर्सिटी जस्तै देखिने गरी बनाइएको देखिन्थ्यो। हार्भर्ड युनिभर्सिटीको जस्तै लोगो र हेलसिन्की युनिभर्सिटीको जस्तै वेबसाइटको डिजाइन प्रयोग गरिएको थियो।
उक्त नक्कली विश्वविद्यालयको वेबसाइट समाचार बाहिरिएको केही समय चलेको थियो। तर अहिले भने बन्द भएको देखिन्छ। सोसल मिडिया एकाउन्टहरू समेत बन्द भइसकेका छन्।
अहिले बन्द भइसकेको एउटा इन्स्टाग्राम एकाउन्टमा नक्कली क्याम्पस टुर, लाइब्रेरी र पढाउने ठाउँहरू देखाइएको थियो। उक्त भिडियो हेर्दा जोकोहिलाई पनि त्यो धेरै पहिलेदेखि चलेको नामी विश्वविद्यालय हो भन्ने भान पर्ने खालको थियो।
स्थानीय मिडियाका अनुसार उक्त भिडियो एबो एकेडेमीमा पढ्ने एक विद्यार्थीले गरेको क्याम्पस टुर इन्स्टाग्रामबाट अनधिकृत रुपमा डाउनलोड गरी उक्त नक्कली विश्वविद्यालयले आफ्नो एकाउन्टमा अपलोड गरेको थियो।
हेलसिन्गिन सानोमातका अनुसार उक्त नक्कली विश्चविद्यालयको ठेगाना केही दिनमै सोडानक्युलाको एउटा ठेगानाबाट बदलेर हेलसिन्कीमा रहेको देखाइएको थियो। हेलसिन्कीको उक्त ठेगानामा विश्वविद्यालय नभएर गाडी मर्मत गर्ने ठाउँ थियो। एक पटक हुँदै नभएको ठेगाना समेत प्रयोग गरिएको थियो।
फिनल्यान्डको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले विद्यार्थी तथा अभिभावकलाई कुनै पनि शैक्षिक संस्थामा आवेदन दिनुअघि त्यसको कानुनी हैसियत, मान्यता र आधिकारिक विवरण अनिवार्य रूपमा जाँच्न आग्रह गरेको छ। अपरिचित संस्थालाई पासपोर्ट विवरण, शैक्षिक प्रमाणपत्र, बैंक वा कार्डसम्बन्धी सूचना तथा आवेदन शुल्क नदिन चेतावनी दिइएको छ।
गत अप्रिलमा फिनिस नेसनल एजेन्सी फर एजुकेसनले चलाउने स्टडी इन फिनल्यान्ड वेबसाइटमा पनि केस्टोरा युनिभर्सिटी, पेन्का युनिभर्सिटी, र हेफ्रिङ युनिभर्सिटी जस्ता विश्वविद्यालयहरु पुरै नक्कली रहेको र तिनको फिनल्यान्डमा कुनै कानुनी अस्तित्व वा अनुमति नभएको भन्दै चेतावनी दिइएको थियो।
फिनल्यान्डका आधिकारिक मान्यता प्राप्त सबै विश्वविद्यालयको सूची यहाँ दिइएको छ।








