संक्षेपमा
- एस्पोमा भएको परीक्षणमा सांसद रासानेनले मापदण्डभन्दा बढी मदिरा पिएको पुष्टि।
- २,३०० युरो जरिवाना र पार्टीका माथिल्लो पदको चुनाव नलड्ने घोषणा।
- मदिराको समस्या नरहेको र मतदाताले नै अन्तिम निर्णय गर्ने दाबी।
फिनल्यान्डको सोसल डेमोक्रेटिक पार्टी (SDP) का सांसद योना रासानेनले मदिरा सेवन गरी सवारी चलाएपछि चर्को जरिवाना तिर्नु परेको छ। सवारी नियम उल्लंघन गरेबापत उनलाई २,३०० युरो (करिब चारलाख बाह्र हजार नेपाली रुपैयाँ) जरिवाना गरिएको हो।
घटनाबारे उनले सामाजिक सञ्जालमार्फत माफी माग्दै आफूबाट गल्ती भएको स्वीकार गरेका छन्।
घटना गत अप्रिल १७ मा एस्पोको ‘रिङ रोड १’ मा भएको थियो। प्रहरीले गरेको जाँचमा रासानेनको श्वासमा ०.३ मिलीग्राम प्रति लिटर मदिरा फेला परेको थियो। फिनल्यान्डमा मदिरा सेवनको कानुनी सीमा ०.२२ मिलीग्राम प्रति लिटर मात्र तोकिएको छ।
रासानेनले यो घटनापछि आफू निकै लज्जित भएको बताएका छन्। उनले पार्टीको बोर्ड सदस्य र उसिमा जिल्लाको अध्यक्ष पदका लागि पुन: चुनाव नलड्ने घोषणा समेत गरेका छन्।
उनी हाल लोह्या नगर बोर्डको अध्यक्ष र सांसदका रूपमा कार्यरत छन्। यी पदहरूमा भने उनले काम जारी राख्ने बताएका छन्।
SDP का नेता आन्ती लिन्डमानले यो गल्ती दोहोरिन नहुने र रासानेनले गल्ती स्वीकार गरी माफी मागेकाले यो विषयबाट अब पार्टी अघि बढ्न तयार रहेको संकेत गरेका छन्।
संसदीय दलकी अध्यक्ष त्युति तुप्पुराइनेनले रासानेनले अन्य नागरिक सरह नै सजाय भोग्ने बताइन्। उनले कानुन सबैका लागि बराबर हुने कुरामा जोड दिइन्।
रासानेनले आफूबाट एकपटक गल्ति भएपनि आफूलाई मदिराको कुनै दीर्घकालीन समस्या नरहेको दाबी गरेका छन्। उनले स्वास्थ्य परीक्षण गराउँदा डाक्टरहरूले कुनै समस्या फेला नपारेको बताएका छन्।
उनी विगत १५ वर्षदेखि लोह्या र हेलसिन्कीबीच नियमित यात्रा गरिरहेका छन्। उनले आगामी संसदीय निर्वाचनमा भने पुन: उठ्ने योजना बनाएको स्थानीय फिनिस भाषाका मिडियाले लेखेका छन्।








