संक्षेपमा
- जुन १२ को राति ००:४० मा शिशुको जन्म।
- मेयर डानियल साजोनोभले अस्पताल पुगेर दिए परिवारलाई बधाई।
- ३०० युरोको छात्रवृत्ति र उपहार प्रदान।
फिनल्यान्डको राजधानी हेलसिन्कीमा यो वर्षको ‘हेलसिन्की दिवस शिशु’ (Helsinki-päivän vauva) एक नेपाली दम्पतीका सन्तान बनेका छन्। जुन १२ को राति बाह्र बजेर ४० सेकेन्डमा जन्मिएका उक्त शिशु गोमा आचार्य र दिपक रायमाझीका पहिलो सन्तान हुन्।
शिशुको तौल जन्मँदा ३ किलो २०५ ग्राम र लम्बाइ ५३ सेन्टिमिटर रहेको हेलसिन्की प्रसुति गृहले जनाएको छ।
हेलसिन्की महानगरपालिकाले परम्परागत रूपमा सहरको जन्मदिनमा पहिलो जन्मने शिशुलाई सम्मान गर्दै आएको छ। सोही परम्परा बमोजिम हेलसिन्कीका मेयर डानियल साजोनोभले बिहानै हेलसिन्की प्रसुति गृह अर्थात् Naistenklinikka पुगेर आचार्य र रायमाझीलाई बधाई दिएका थिए।
मेयर साजोनोभले हेलसिन्की दिवसको शिशु परम्पराले हेलसिन्की बालबालिकाको सहर भएको कुरालाई जोड दिने बताए। हेलसिन्कीमा जन्मने हरेक बालबालिकाले सुरक्षित रूपमा हुर्कन र राम्रो बाल्यकाल बिताउन पाउनु महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
परिवारले उपहारस्वरूप स्थानीय मेत्सोला ब्रान्डको बडी र पिपो (टोपी) प्राप्त गरेका छन्। साथै आमाबाबुले सहरको तर्फबाट एक विशेष बधाई पत्र पनि पाएका छन्।
उक्त पत्रअनुसार शिशुको नाम जनसङ्ख्या दर्तामा समावेश भएपछि शिशुको नाममा ३०० युरोको स्टिपेन्ड/छात्रवृत्ति प्रदान गरिनेछ।
हेलसिन्की दिवसको अवसरमा सोहि दिन जन्मने पहिलो शिशुलाई बधाई दिने र सम्मान गर्ने परम्परा ६१ वर्षदेखि चल्दै आएको छ। यो परम्परा सन् १९६५ मा पहिलो पटक सुरु गरिएको थियो।
हेलसिन्की सहर स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जुन १२ तारिखमा ‘हेलसिन्की दिवस’ मनाइन्छ। हिजो हेलसिन्कीले आफ्नो ४७६ औँ जन्मदिन मनाएको हो।








