विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फ्याउरोले रोक्यो हेलसिन्कीको मेट्रो!

सोमबार बिहान कोन्तुला क्षेत्रमा मेट्रोको लिक नजिकै फ्याउरोको छाउरो देखिएपछि करिब १० मिनेटका लागि मेट्रो सेवा अवरुद्ध भएको हो।

संक्षेपमा


  • कोन्तुलामा फ्याउरोका कारण १० मिनेट मेट्रो सेवा अवरुद्ध।
  • उद्धार टोली नजिक पुग्दा फ्याउरो भाग्यो।
  • गत साता पनि यस्तै घटना भएको अधिकारीको भनाइ।

हेलसिन्कीस्थित कोन्तुलामा सोमबार बिहान एउटा फ्याउरोको छाउरोका कारण मेट्रो सेवा अवरुद्ध भयो। मेट्रोको लिक नजिकै फ्याउरो देखिएपछि करिब १० मिनेटका लागि यातायात रोकिएको थियो।

हेलसिन्की उद्धार विभागलाई मेट्रो नियन्त्रण कक्ष र आपतकालीन केन्द्रमार्फत यसबारे जानकारी आएको थियो। फ्याउरो मेट्रोको बाटोमा आएपछि त्यसलाई बचाउन उद्दार टोली खटाइएको थियो।

उद्धार विभागले फ्याउरोलाई समातेर सुरक्षित स्थानमा सार्ने प्रयास गरेको थियो। ड्युटीमा रहेका फायर मास्टरका अनुसार फ्याउरोलाई रेलले नकुल्चियोस् भनेर उक्त कदम चालिएको हो।

फ्याउरोको उद्दारका लागि उद्धार विभागका दुईवटा एकाइ खटिएका थिए। तर टोली नजिक पुग्दा फ्याउरो त्यहाँबाट भागेको थियो।

गत साता पनि कोन्तुलामा यस्तै घटना भएको थियो। त्यतिबेला पनि उद्धार विभागले फ्याउरोलाई समात्न सकेको थिएन।

विज्ञापन
विज्ञापन सकियो

यो त्यही फ्याउरो वा त्यसकै बथानको अर्को छाउरो हुन सक्ने फायर मास्टरको अनुमान छ।

“धन्न, फ्याउरोका साना छाउराहरू चाँडै हुर्किन्छन्,” उनले सार्वजनिक प्रसारक YLE लाई दिएको प्रतिक्रियामा भन्छन्।

फिनल्यान्डका सहरहरू प्रकृति र जंगलसँग निकै नजिक छन्। त्यसैले हेलसिन्की जस्ता ठूला सहरी क्षेत्रमा पनि बेलाबेलामा फ्याउरो, खरायो जस्ता जंगली जनावरहरू देखिनु सामान्य मानिन्छ।

विशेषगरी वसन्त र गृष्म ऋतुमा जनावरका छाउराहरू हुर्किने क्रममा बाटो काट्ने वा मानव बस्ती नजिक आइपुग्ने गर्छन्, जसले कहिलेकाहीँ सार्वजनिक यातायात र दैनिक जीवनमा यस्ता साना प्रभावहरू पार्ने गर्दछ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप