📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- ग्राहक अनुभवमा सातौँ पटक युरोपको उत्कृष्ट घोषित।
- एसीआई (ACI) द्वारा ४०० विमानस्थलहरू मध्येबाट छनोट।
- डिजिटल सेवा र कर्मचारीको व्यवहारमा सुधार।
फिनल्यान्डको हेलसिन्की विमानस्थल १५ देखि २५ मिलियन यात्रुहरूको श्रेणीमा युरोपकै उत्कृष्ट विमानस्थल घोषित भएको छ।
अन्तर्राष्ट्रिय विमानस्थल परिषद् (ACI) ले प्रदान गर्ने ‘एयरपोर्ट सर्भिस क्वालिटी’ (ASQ) अवार्ड यात्रुहरूको प्रत्यक्ष मूल्याङ्कनमा आधारित छ।
यो अवार्ड विश्वभरका विमानस्थलहरूको सेवा गुणस्तर मापन गर्ने सबैभन्दा भरपर्दो अन्तर्राष्ट्रिय मानक मानिन्छ। यसमा यात्रुहरूले विमानस्थलको दिशा-निर्देश, चेक-इन, पसल र रेस्टुरेन्ट जस्ता ३० वटा विभिन्न सुविधाहरूको मूल्याङ्कन गर्छन्।
हेलसिन्की विमानस्थलले यो प्रतिष्ठित सम्मान सातौँ पटक प्राप्त गरेको हो।
अवार्डका लागि हेलसिन्की विमानस्थलमा मात्रै वार्षिक रूपमा करिब ४,००० यात्रुहरूसँग अन्तर्वार्ता लिने गरिन्छ।
यात्रुले के मन पराए?
यात्रुहरूले हेलसिन्की विमानस्थलको सरसफाइ र कर्मचारीहरूको मैत्रीपूर्ण व्यवहारलाई विशेष रुचाएका छन्।
विमानस्थलकी वरिष्ठ उपाध्यक्ष लाउरा इन्तिलाले यो मान्यताले विमानस्थलको गुणस्तरलाई विश्वस्तरमा प्रमाणित गरेको प्रेस नोटमा बताएकी छन्।
विगत केही वर्षदेखि हेलसिन्की विमानस्थलको टर्मिनल र सेवाहरूमा व्यापक सुधार गरिएको छ। प्रस्थान हल, सुरक्षा जाँच र पार्किङ सुविधाहरूलाई थप आधुनिक र सहज बनाइएको छ।
डिजिटल सेवा माईफ्लाइट ले यात्रुहरूलाई विमानस्थल भित्र यात्रा गर्न व्यक्तिगत सुझावहरू समेत दिने गर्छ।
हेलसिन्की विमानस्थलले सन् २०१८ देखि २०२५ सम्म (सन् २०२१ बाहेक) लगातार यो अवार्ड जित्दै आएको छ। यसले उत्तरी युरोपको उत्कृष्ट विमानस्थलको रूपमा ‘स्काईट्र्याक्स’ अवार्ड पनि जितेको छ।








