विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

आप्रवासीकी छोरी बनिन् मिस फिनल्यान्ड २०२५!

आप्रवासी पृष्ठभूमि भएका सुन्दरीहरूले मिस फिनल्यान्ड उपाधि जितेको यो पहिलो पटक भने होइन।

फिनल्यान्डको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस सुओमी’ अर्थात् मिस फिनल्यान्ड २०२५ को उपाधि हेलसिन्कीकी २२ वर्षीय सारा जाफ्सेले जितेकी छिन्।

शनिवार साँझ एस्पोस्थित हाइब्रिनियारेना हाइपमा आयोजित भव्य समारोहमा उनलाई विजेता घोषणा गरिएको हो।

रेस्टुरेन्ट क्षेत्रमा काम गर्ने जाफ्से सयौँ आवेदकहरूबाट छानिएका १० फाइनल प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बनेकी हुन्।

उनले प्राथमिक विद्यालयमा पढ्दादेखि नै एक दिन मिस फिनल्यान्ड बन्ने सपना देखेको जितेपछि दिएको प्रतिक्रियामा बताइन्।

“मैले एक दिन मिस फिनल्यान्ड बन्छु भनेर सानैमा निर्णय गरेकी थिएँ,” उनले भनिन्।

विज्ञापन
विज्ञापन सकियो

मूलतः कुओपिओकी भएपनि हाल हेलसिन्कीमा बस्दै आएकी जाफ्सेको परिवारले विगत २० वर्षदेखि कुओपिओमा ग्रीक रेस्टुरेन्ट सञ्चालन गर्दै आएको छ।

उनका बुबा कोसोभोबाट आएका आप्रवासी हुन्। उनकी आमा भने फिनिस मूलकै हुन्।

जाफ्सेले बहु-सांस्कृतिक परिवारमा हुर्कन पाउनु आफ्नो लागि निकै महत्वको विषय भएको र त्यसले आफूलाई ‘खुल्ला विचारको मान्छे’ बनाएको जितेपछि दिएको प्रतिक्रियामा बताइन्।

सामाजिक सञ्जालमा केहीले भने जाफ्से ‘शतप्रतिशत फिनिस’ नभएको भन्दै उनको प्रतिनिधित्वमाथि प्रश्न उठाएका छन्।

केहीले भने जाफ्से ‘शतप्रतिशत फिनिस’ नभएको भन्दै उनको प्रतिनिधित्वमाथि प्रश्न उठाएका छन्।

फिनल्यान्डको इतिहासमा आप्रवासी पृष्ठभूमि भएका सुन्दरीहरूले मिस फिनल्यान्ड उपाधि जितेको यो पहिलो पटक भने होइन।

यसअघि सन् १९९६ मा नाइजेरियन मूलका पिताकी छोरी लोला ओदुसोगा र सन् २०१२ मा मोरक्कन मूलका पिताकी छोरी सारा चाफाकले मिस फिनल्यान्डको उपाधि जितेका थिए।

मे महिनादेखि सुरु भएको मिस फिनल्यान्ड प्रतियोगिताको यात्रा महिनौँ चलेको थियो। सुरुमा ५० जना प्रतिस्पर्धी छनोट गरिएकोमा विभिन्न चरणहरू पार गर्दै १० जना फाइनलमा पुगेका थिए। फाइनलमा परम्परागत पहिरन र अन्तर्वार्ता चरणहरू समावेश थिए।

अब जाफ्सेले आगामी मिस युनिभर्स प्रतियोगितामा फिनल्यान्डको प्रतिनिधित्व गर्नेछिन्।

मिस फिनल्यान्ड २०२५। Photo: Nadi Hammouda/Miss Suomi
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप