विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा भारतीय विद्यार्थी एक महिनादेखि बेपत्ता

लाह्तीको लुट (LUT) विश्वविद्यालयमा अध्ययनरत १८ वर्षीय मनिदीप रेड्डी गुज्जा गत मे महिनादेखि हेलसिन्कीबाट बेपत्ता भएका हुन्।

संक्षेपमा


  • मे ५ मा हेलसिन्की गएका विद्यार्थी सम्पर्कविहीन।
  • बेपत्ता भएयता फोन र बैंक कार्डको प्रयोग नभएको पुष्टि।
  • बेपत्तापछि विश्वविद्यालयको प्रणालीमा शङ्कास्पद लगइन।

लाह्तीस्थित LUT विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय भारतीय विद्यार्थी मनिदीप रेड्डी गुज्जा एक महिनाभन्दा बढी समयदेखि बेपत्ता छन्। प्रहरी र परिवारले खोजी जारी राखे पनि उनी अझै फेला परेका छैनन्।

भारतीय पत्रिका इन्डियन एक्सप्रेसका अनुसार मे ५ मा उनी अन्तिम पटक हेलसिन्कीमा देखिएका थिए। हामे (Häme) प्रहरीले मे २१ मा उनको अवस्थाबारे जानकारी दिन सर्वसाधारणलाई अपिल गरेको थियो।

मनिदिपका बारेमा इल्ता सानोमात, एमटिभी लगायतका प्रमुख फिनिस मिडियाले पनि समाचार लेखेका छन्।

बेपत्ता हुनुअघि मनिदीपले परिवारसँग केही रकम मागेर हेलसिन्कीतर्फ लागेका थिए। उनको हेलसिन्की भ्रमणको कारण भने अझै खुल्न सकेको छैन।

हैदराबादका गुज्जा नियमित रूपमा कक्षामा उपस्थित हुन्थे। उनकी आमाका अनुसार उनी अरुसँग धेरै घुलमिल हुने स्वभावका भने थिएनन्।

विज्ञापन
विज्ञापन सकियो

“उ कोठा र विश्वविद्यालयमा मात्रै सीमित हुन्थ्यो,” आमाले इन्डियन एक्सप्रेससँग भनेकी छन्।

मे ५ का दिन गुज्जाले आफ्ना आमाबुबासँग ५ हजार भारतीय रुपैयाँ मागेका थिए। ‘उसले मलाई फोन गरेर पैसा माग्यो, अनि मैले पठाइदिएँ।’ उनकी आमाले भनेकी छन्।

फिनल्यान्डको प्रहरीले पत्ता लगाएअनुसार उनले करिब २५ सय भारतीय रुपैयाँ खर्च गरेर बसमा लाहतीबाट हेलसिन्की पुगेका थिए। उनी किन हेलसिन्की आएका थिए भन्ने कुरा भने अझै रहस्यमै छ।

बेपत्ता भएदेखि उनको मोबाइल फोन पूर्ण रूपमा बन्द छ। उनको बैंक तथा क्रेडिट कार्ड पनि त्यसयता प्रयोग भएको छैन।

आमाबाबुले पाएनन् फिनल्यान्डको भिसा

फिनिस अधिकारीहरूले उनी बस्ने घरमा सोधपुछ गरेको, उपलब्ध सबै रेकर्डहरू जाँच गरेको, उनका कोठाका साथीसँग कुरा गरेको, अस्पतालमा भर्ना भएकाहरूको सूची हेरेको र विभिन्न सरकारी तथा यातायात निकायहरूमार्फत पनि खोजी गरेको इन्डियन एक्सप्रेसको रिपोर्टमा उल्लेख छ।

यति धेरै खोजी गर्दा पनि उनी कहाँ गए वा उनीसँग के भयो भन्ने कुरा भने अझै पत्ता लाग्न सकेको छैन।

आमाबाबु आफ्नो छोरा खोज्न फिनल्यान्ड आउन प्रयास गरेका थिए। तर फिनल्यान्डले उनीहरूको भिसा अस्वीकृत गरिदिएको थियो। त्यसपछि उनीहरूले अदालत मार्फत सहयोगका लागि आफ्नो विदेश मन्त्रालय गुहार्ने तयारी गरेको भारतीय मिडियाले लेखेका छन्।

उनी बेपत्ता भएपछि उनको आइडी प्रयोग गरेर दुई पटक विश्वविद्यालयको प्रणालीमा लगइन भएको देखिएको छ। उक्त लगइन कसले गर्‍यो भन्ने अझै खुलेको छैन।

मनिदीप सन् २०२५ मा इन्जिनियरिङ पढ्न फिनल्यान्ड आएका थिए।

फिनल्यान्डमा नेपाल र भारतलगायत दक्षिण एसियाली देशहरूबाट बर्सेनि हजारौँ विद्यार्थीहरू उच्च शिक्षाका लागि आउने गर्छन्।

LUT विश्वविद्यालयमा धेरै नेपाली विद्यार्थीहरूले पनि अध्ययन गर्छन्।

फिनल्यान्डको प्रहरीले सार्वजनिक गरेको गुज्जाको तस्विर।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप