संक्षेपमा
- सुत्केरीपछिको स्याहार र परिवारमुखी सेवामा उल्लेखनीय सुधार।
- स्तनपान निर्देशन र स्वास्थ्य सेवाप्रति आमाहरूको सन्तुष्टिमा वृद्धि।
- स्वास्थ्यकर्मी (नर्स) बारम्बार फेरबदल हुँदा भने सेवाग्राहीको सन्तुष्टिमा कमी।
हेलसिन्की महानगरपालिका र HUS अस्पताल नेटवर्कले सन् २०२५ को अन्त्यतिर गरेको एक सर्वेक्षणले हेलसिन्कीमा सुत्केरीपछि प्रदान गरिने स्याहारमा सुधार आएको देखाएको छ।
विशेषगरी हेलसिन्कीका मातृ क्लिनिक/नेउभोला र प्रसुति गृह (Naistenklinikka) मा परिवारमुखी सेवा थप बलियो बनेको पाइएको हो।
हेलसिन्कीको मुख्य प्रसूति गृहमा बर्सेनि हजारौँ शिशुहरूको जन्म हुने गर्छ। हेलसिन्की महानगर क्षेत्रमा बस्ने नेपाली समुदायले पनि यो प्रसूति गृहबाट सेवा लिने गर्छन्। फिनल्यान्डमा जन्मने अधिकांश नेपाली मूलका बच्चाहरू सम्भवतः यही प्रसूति गृहमा जन्मने गर्छन्।
सर्वेक्षणमा गर्भावस्था, सुत्केरी अवस्था र त्यसपछिको स्याहारबारे आमाहरूको अनुभव सोधिएको थियो। सर्वेक्षणमा जम्मा ३३७ जना हेलसिन्कीका आमाहरू सहभागी थिए।
तीमध्ये १६१ जनाले सन् २०२२ मा र १७६ जनाले सन् २०२५ मा बच्चा जन्माएका थिए। नतिजा अनुसार सन् २०२२ को तुलनामा सन् २०२५ मा प्रसुति गृहको सेवा निकै सुधारिएको छ।
सुत्केरीहरूले पाएको स्याहार र स्तनपान सम्बन्धी निर्देशनप्रति उनीहरू स्पष्ट रूपमा बढी सन्तुष्ट देखिएका छन्। त्यसैगरी नेउभोलाहरूको सेवामा पनि सन् २०२५ मा औसत सन्तुष्टि पाइएको छ।
नेउभोलाको नतिजा सन् २०२२ कै स्तरमा रहेको पाइएको छ। यद्यपि, बिरामी र स्वास्थ्यकर्मीबीचको निरन्तर सम्बन्धलाई सर्वेक्षणमा विशेष जोड दिइएको छ।
नर्सहरू बारम्बार परिवर्तन हुँदा भने आमाहरूको सन्तुष्टिमा कमी आएको देखिन्छ। सुत्केरीहरूले थप व्यक्तिगत र समय दिएर गरिने व्यवहारको अपेक्षा गरेका छन्।
हतारबिनाको मानवीय व्यवहार र अग्रिम स्पष्ट निर्देशनको आवश्यकता अझै पनि बाँकी रहेको सर्वेक्षणले औंल्याएको छ।
फिनल्यान्डको नेउभोला प्रणाली गर्भवती महिला र नवजात शिशुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने विश्वकै एक उत्कृष्ट मातृशिशु स्याहार प्रणाली मानिन्छ।



![हेलसिन्कीमा नव-नाजी समूह र प्रदर्शनकारीबिच झडप, पाँच पक्राउ [भिडियो सहित]](https://nepalilainen.fi/wp-content/uploads/2026/05/sini-musta-liike-police-protests-helsinki-324x235.webp)




