संक्षेपमा
- काम्पीको नारिक्कातोरीमा उग्रदक्षिणपन्थी र रङ्गभेदविरोधी समूहबीच झडप।
- झडपपछि प्रहरीले लियो पाँच जनालाई नियन्त्रणमा।
- कोही पनि गम्भीर घाइते नभएको प्रहरीको भनाइ।
हेलसिन्कीको केन्द्र भागमा रहेको काम्पीस्थित नारिक्कातोरीमा खुला रूपमा फाँसीवादी र जातिवादी मानिने उग्र दक्षिणपन्थी समूह सिनिमुस्ता लिके (Sinimusta Liike) को चुनावी सभामा झडप भएको छ। उक्त दलको संसदीय चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा विपक्षी प्रदर्शनकारीहरूसँग कुटाकुट भएपछि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।
रिपोर्टिङका लागि अपराह्न १२ बजे नेपालीलाइनेन उक्त स्थानमा पुग्दा त्यहाँ दर्जनौँ प्रहरीहरू तैनाथ थिए। केही भने अत्याधुनिक हतियार सहित आएका थिए। उग्र दक्षिणपन्थी समूह नारिक्का-तोरी ग्राउन्डको एकातिर थियो भने विरोधी समूह अर्को कुनामा थियो।
उग्र दक्षिणपन्थी समूहको कार्यक्रमका सहभागी एक व्यक्तिले प्रदर्शनकारीको झन्डा तान्न खोजेपछि झडप सुरु भएको थियो। त्यसपछि प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको थियो।
सिनिमुस्ता लिके नाम गरेको उक्त नयाँ पार्टी आप्रवासी विरोधी भनेर चिनिने फिन्स पार्टी भन्दा पनि धेरै कट्टरपन्थी पार्टी हो। उसले आफ्नो चुनावी कार्यक्रममा आप्रवासी विरोधी विवादास्पद एजेन्डाहरू अघि सारेको छ।
उक्त दलले आप्रवासी पृष्ठभूमि भएका बालबालिकाहरूलाई छुट्टै कक्षा वा विद्यालयमा राख्नुपर्ने र फिनल्यान्डको नागरिकता नै लिएका भए पनि गोरा बाहेक अरू विदेशीलाई फिनल्यान्डबाट डिपोर्ट गर्नुपर्ने माग गर्ने गरेको छ।
उक्त दलले विदेशबाट कामदार ल्याउन पूर्ण रूपमा बन्द गर्ने नीति पनि आफ्नो चुनावी एजेन्डामा समेटेको छ। आफूलाई “श्वेत मजदुर वर्गको हितमा” काम गर्ने दल दाबी गर्ने यस समूहले नागरिकतालाई जन्मसिद्ध अधिकारसँग मात्र जोड्न चाहेको बताउँदै आएको छ।
उक्त दल सन् २०२२ मा पहिलो पटक दलको रूपमा दर्ता भएको थियो। तर मानव अधिकार र लोकतान्त्रिक सिद्धान्त विपरीत नीतिहरू राखेर मन्त्रालयलाई भ्रममा पारेको भन्दै सर्वोच्च प्रशासनिक अदालतले सन् २०२४ अप्रिलमा उक्त दलको दल दर्ता खारेज गरिदिएको थियो।
उसले आवश्यक ५,००० समर्थकहरूको हस्ताक्षर पुनः सङ्कलन गरेर सन् २०२५ मे महिनामा दोस्रो पटक दलको रूपमा मान्यता पाएको हो।

विरोधीहरू पनि उत्तिकै सक्रिय
उक्त समूहका सदस्यहरू बढेसँगै विरोध गर्ने समूहहरू पनि उत्तिकै देखिएका छन्।
आज घटनास्थलमा सिनिमुस्ता लिकेका करिब ८० प्रतिनिधि र करिब ५० जना रङ्गभेद विरोधी प्रदर्शनकारी उपस्थित थिए। प्रदर्शनकारीहरूले “हेलसिन्कीमा नाजीहरू चाहिँदैन”, “सडक हाम्रो हो, फाँसीवादीहरूको होइन” जस्ता नारा चर्को स्वरमा लगाएका थिए।
आजको घटनामा संलग्न तीन जनालाई कुटपिट र एक जनालाई गैर कानुनी रूपमा मुकुन्डो लगाएको आरोप लागेको प्रहरीले जनाएको छ।
अन्य दुई जनामध्ये एक प्रदर्शनकारीमाथि तरल पदार्थ फ्याँकेको र अर्कालाई प्रहरीको आदेश पालना नगरेको आरोप लागेको छ।
केही प्रदर्शनकारीहरूले प्रहरीलाई समेत “नाजीहरूको साथी” भन्दै आलोचना गरेका थिए।
केही समय स्थिति तनावपूर्ण रहे पनि प्रहरीले वार्ता र आदेशको माध्यमबाट दुवै समूहलाई अलग राख्न सफल भएको थियो।
सो झडपलाई शान्त पार्न कुनै बल प्रयोग गर्नु नपरेको र कोही पनि अस्पताल जानु नपरेको हेलसिन्की प्रहरीले जनाएको छ।
फिनल्यान्डमा बसोबास गरिरहेका नेपाली आप्रवासीहरूका लागिसमेत यस्ता दलहरूका कट्टरपन्थी नीतिहरू र गतिविधिहरू चासोको विषय बनेका छन्।








