संक्षेपमा
- ‘तेमु’,’सेइन’ जस्ता प्लेटफर्मका अर्डरमा जुलाईदेखि नयाँ भन्सार शुल्क लाग्ने।
- १५० युरोभन्दा कम मूल्यका सामानमा पनि कर लाग्ने व्यवस्था।
- नोभेम्बरदेखि जुनसुकै मूल्यका अर्डरमा पनि ‘ह्यान्डलिङ’ शुल्कको अतिरिक्त भार लाग्ने।
सस्तो र कम गुणस्तरका सामानको बढ्दो आयातलाई निरुत्साहित गर्ने उद्देश्यले फिनल्यान्डको भन्सारले नयाँ नियम ल्याएको छ। युरोपेली संघ (EU) बाहिरबाट अनलाइन अर्डर गरिने सस्तो मूल्यका सामानहरूमा अबदेखि तीन युरो भन्सार शुल्क लाग्ने भएको हो।
तेमु,सेइन,अलि एक्सप्रेस जस्ता सस्ता चाइनिज सपिङ साइटहरुमा हुने सपिङ यसबाट विशेष प्रभावित हुनेछ। यो नियमले फिनल्यान्डमा बसोबास गर्ने र सस्तो अनलाइन सपिङ रुचाउने जो कोहीलाई प्रत्यक्ष प्रभाव पार्नेछ। फिनल्यान्डमा बस्ने धेरै नेपालीहरू पनि यो नियमबाट प्रभावित हुनेछन्।
यो नयाँ नियम आउँदो जुलाई महिनादेखि व्यक्तिगत प्रयोजनका लागि गरिएका खरिदमा लागू हुनेछ। हालसम्म इयु बाहिरबाट आउने १५० युरोभन्दा बढी मूल्यका सामानमा मात्र यस्तो शुल्क लाग्दै आएको थियो।
नयाँ व्यवस्था अनुसार १५० युरोभन्दा कमका अर्डरमा पनि अब भन्सार शुल्क तिर्नुपर्नेछ। यो शुल्क सामानको प्रत्येक ‘क्याटेगोरी’का आधारमा गणना गरिनेछ।
फिनिस भन्सारका अनुसार एउटै प्याकेजमा फरक प्रकृतिका सामान छन् भने छुट्टाछुट्टै शुल्क लाग्नेछ। उदाहरणका लागि एउटै प्याकेजमा ३ वटा कमिज र १० जोर मोजा छन् भने दुई फरक क्याटेगोरी मानेर ६ युरो शुल्क लाग्नेछ।
यसका अतिरिक्त आगामी नोभेम्बर महिनादेखि अर्को नयाँ शुल्क पनि थपिनेछ। इयु बाहिरबाट आउने सबै अनलाइन अर्डरमा सामानको मूल्य जतिसुकै भए पनि भन्सार क्लियरेन्सको समयमा ‘ह्यान्डलिङ’ शुल्क तिर्नुपर्नेछ।
यो परिवर्तन युरोपेली संघको व्यापक भन्सार सुधार योजना अन्तर्गतको एक हिस्सा हो। सस्तो आयातमा भइरहेको अस्वाभाविक वृद्धिले वातावरण र उपभोक्तामा पारेको नकारात्मक असर कम गर्न यो कदम चालिएको हो।
पछिल्लो समय तेमुजस्ता इ-कमर्स प्लेटफर्मबाट फिनल्यान्ड लगायत युरोपमा सस्तो सामान मगाउने क्रम तीव्र रूपमा बढेको छ। यसले गर्दा स्थानीय बजारमा असर पर्नुका साथै कमसल सामानको अत्यधिक प्रयोगले वातावरणीय प्रदूषण समेत बढाएको भन्दै इयुले यस्ता नयाँ नियमहरू लागू गर्न लागेको हो।








