वाचन प्रवीण भनेर चिनिने चर्चित प्रवचनकर्ता पण्डित दिनबन्धु पोखरेलको उपस्थितिमा हिजो एस्पोमा एक दिवसीय सत्सङ्ग कार्यक्रम सम्पन्न भएको छ।
एस्पोस्थित नेपाली रेस्टुरेन्ट ‘राभिन्तोला श्री’ मा आयोजित कार्यक्रममा राजधानी क्षेत्रका दर्जनौँ नेपालीहरू उपस्थित थिए।
सत्सङ्गमा पण्डित पोखरेलले सनातन धर्मको महत्त्व, फिनल्यान्डमा नेपाली सांस्कृतिक केन्द्रको आवश्यकता लगायतका विषयमा प्रवचन दिएका थिए। रेस्टुरेन्ट सञ्चालकले प्रसाद उपलब्ध गराएका थिए।
‘युरोप आध्यात्मिक यात्रा २०२६’ अन्तर्गत फिनल्यान्ड आइपुगेका पण्डित पोखरेल फिनल्यान्डको कार्यक्रम सकी नर्वे प्रस्थान गरेका छन्।
पण्डित पोखरेलका पिता नारायण पोखरेल नेपालका प्रख्यात प्रवचनकर्ता तथा सनातन हिन्दु धर्मका प्रखर वक्ता थिए। वाचनशिरोमणी भनेर चिनिने पोखरेलको वि.सं. २०६२ वैशाखमा तत्कालीन माओवादीहरूले रुपन्देहीमा हत्या गरेका थिए। हत्याको समयमा उनी विश्व हिन्दु महासङ्घ नेपालका राष्ट्रिय अध्यक्ष पदमा थिए।
दिवङ्गत पोखरेलका भागवत कथा सुन्न हजारौँ व्यक्तिहरू जम्मा हुने गर्दथे। प्रवचनको करिब ३० वर्षको अवधिमा उनले लगभग ८००० दिन निरन्तर कथा वाचन गरेको विभिन्न स्रोतहरू उल्लेख गर्छन्। कथा वाचन गरेरै उनले स्कुल, क्याम्पस, अस्पताल, वृद्धाश्रम, सामाजिक भवन, बाटो, पुल र खानेपानीजस्ता पूर्वाधार निर्माणका लागि करोडौँ सहयोग उठाउने गरेका थिए।
उनको हत्यापछि उनका छोरा दिनबन्धु पोखरेलले आफ्ना पिताको पदचाप पछ्याउँदै प्रवचन र सनातन हिन्दु धर्मको प्रवर्धनमा आफूलाई समर्पित गरेका हुन्।





