विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनिस अन्तरिक्ष कम्पनीको अर्को फड्को: गर्‍यो स्विडिस सेनालाई स्याटलाइट बेच्ने सम्झौता

फिनल्यान्डको एस्पोमा रहेको आइसआई (Iceye) कम्पनीले स्वीडेनलाई जमिनको सूक्ष्म निगरानी गर्ने राडार प्रविधि उपलब्ध गराउने भएको हो।

फिनल्यान्डको अन्तरिक्ष प्रविधि कम्पनी आइसआई र स्विडेनको सशस्त्र बलबिच अत्याधुनिक राडार स्याटलाइट खरिदका लागि सम्झौता भएको छ।

आइसआईले विकास गरेको प्रविधिले अँध्यारो, बादल लागेको, वर्षा वा हिउँको पर्वाह नगरी जस्तो समयमा पनि जमिनको उच्च गुणस्तरको तस्बिर खिच्न सक्छ।

एस्पोमा आधारित यो कम्पनीले स्विडेनलाई विशेष सफ्टवेयर र राडार प्रविधि उपलब्ध गराउने सम्झौता भएको हो। यो प्रविधि प्रयोग गरि स्विडेनको सेनाले सबै प्रकारका मौसममा शत्रुको चालढाल निगरानी गर्न सक्नेछ।

उक्त कम्पनीमा कैयौँ नेपाली प्राविधिक र इन्जिनियरहरूले समेत काम गर्छन्।

आइसआई सिन्थेटिक एपर्चर राडार (एसएआर) स्याटलाइटमा विश्वकै अग्रणी मानिन्छ। कम्पनीका उप-अध्यक्ष सेप्पो आल्तोननले नर्डिक क्षेत्रको सुरक्षाका लागि यो सहकार्य महत्त्वपूर्ण रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएका छन्।

विज्ञापन
विज्ञापन सकियो

यो आयोजना बहु-वर्षीय र करोडौँ युरोको हुने बताइएको छ। यद्यपि दुवै पक्षले सम्झौताको ठ्याक्कै रकम भने गोप्य राखेका छन्।

स्विडेनले यसै वर्ष पहिलो चरणका केही स्याटलाइटहरू प्राप्त गर्ने अपेक्षा छ। यसअघि स्विडेनले सन् २०३० सम्ममा मात्र यस्तो सैन्य क्षमता विकास गर्ने लक्ष्य राखेको थियो।

फिनल्यान्डले पनि गत वर्ष १५ करोड ८० लाख युरोमा यस्तै प्रणाली खरिद गरेको थियो। फिनल्यान्डको रक्षा बलका अनुसार तीनमध्ये दोस्रो स्याटलाइट गत आइतबार मात्रै अन्तरिक्षमा प्रक्षेपण गरिएको छ।

यो प्रविधिले १६ सेन्टिमिटर सम्मको उच्च रिजोलुसनमा तस्बिरहरू प्रदान गर्छ। यो नर्डिक र आर्कटिक क्षेत्रको कठिन मौसमका लागि अत्यन्त प्रभावकारी मानिन्छ।

स्विडेन र फिनल्यान्डले आगामी दिनमा अन्तरिक्ष परियोजनामा नेदरल्यान्ड्स र पोल्यान्डसँग पनि सहकार्य गर्ने योजना बनाएका छन्। यसले नेटोको उत्तरी-पूर्वी सीमाको सुरक्षालाई थप मजबुत पार्नेछ।

आइसआई (Iceye) कम्पनी सन् २०१४ मा फिनल्यान्डको आल्तो विश्वविद्यालयबाट सुरु भएको एक ‘स्पिन-अफ’ कम्पनी हो। यो हाल विश्वकै सबैभन्दा ठूलो एसएआर स्याटलाइट समूह सञ्चालन गर्ने कम्पनी बनेको छ।

फिनल्यान्डको दोस्रो सैन्य स्याटलाइट जनवरी ११, २०२६ मा अमेरिकाको क्यालिफोर्नियाबाट SpaceX को ‘ट्वाइलाइट’ मिसनमार्फत सफल प्रक्षेपण गरिएको थियो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप