संक्षेपमा
- फिनल्यान्डमा अर्को वर्षदेखि घरमै मदिरा डेलिभरी हुने।
- वोल्ट चालकले अनिवार्य ‘अल्कोहल डेलिभरी पास’ लिनुपर्ने।
- डेलिभरीमा चालकको सुरक्षालाई पहिलो प्राथमिकता दिइने।
फिनल्यान्डको संसदले गत साता मदिरासम्बन्धी नयाँ कानुन पारित गरेको छ। योसँगै अर्को वर्षदेखि फिनल्यान्डमा वोल्टजस्ता डेलिभरी कम्पनीले ग्राहकको घरमै मदिरा पुर्याउन सक्नेछन्।
मदिरा अर्डर गर्दा ग्राहकले आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ। साथै डेलिभरी लिने ग्राहक धेरै नशामा भएको हुनुहुँदैन।
डेलिभरी कम्पनी वोल्टले यसका लागि कडा सुरक्षा र जिम्मेवारीका उपायहरू अपनाउने बताएका छ। वोल्टका सञ्चालन प्रमुख लाउरी हल्लावोले सार्वजनिक प्रसारक YLE लाई बताए अनुसार मदिरा डेलिभरी गर्ने कुरियरले अनिवार्य ‘अल्कोहल डेलिभरी पास’ तालिम लिनुपर्नेछ।
मदिरा अर्डर गर्न बैङ्क प्रमाणीकरणजस्तै कडा पहिचान प्रणालीको प्रयोग आवश्यक पर्नेछ। साथै अर्डरका लागि तीन अंकको कोड दिइनेछ जसबाट चालकले ग्राहकको पहिचान यकिन गर्नेछन्।
यदि कुरियर असुरक्षित अवस्थामा परेमा ग्राहकलाई मदिरा दिन बाध्य हुने छैनन्। यस्तो अवस्थामा मदिरा पसलमै फिर्ता लगेबापत पनि कुरियरले पैसा भने पाउनेछन्।
फिनल्यान्डमा मदिराको डेलिभरी अर्को वर्षदेखि मात्र सुरु हुनेछ। वोल्टले हाल विश्वका २५ देशमा मदिरा डेलिभरी गर्दै आएको छ। फिनल्यान्डमा भने कानुन अभावका कारण अहिलेसम्म मदिरा होम डेलिभरी सम्भव थिएन।
फिनल्यान्डमा मदिरा बिक्री वितरणमा लामो समयदेखि कडा सरकारी नियन्त्रण रहँदै आएको थियो। पछिल्ला वर्षहरूमा मदिरा सम्बन्धि कानुन खुकुलो पार्दै लगिएको छ।
नयाँ कानुनले पसल र अल्को दुवैलाई होम डेलिभरी खुला गरेपछि डेलिभरी क्षेत्रमा काम गर्ने धेरै आप्रवासीहरूका लागि यसले नयाँ अवसर र अनुभव प्रदान गर्नेछ।
मदिराको होम डेलिभरीले समस्या निम्त्याउने र रेस्टुरेन्ट व्यवसायहरू थप संकटमा पर्ने भन्दै विरोध समेत हुँदै आएको छ।








