संक्षेपमा
- फिनल्यान्डको पेर्होमा सोमबार साँझ घरकै आँगनमा भयो दुःखद दुर्घटना।
- अभिभावकले भ्यान सार्ने क्रममा डेढ वर्षीया बालिका गाडी मुनि परिन्।
- हेलिकप्टरबाट अस्पताल पुर्याइएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको पुष्टि।
फिनल्यान्डको मध्ये-उत्तर क्षेत्रमा पर्ने पेर्होमा एक डेढ वर्षीया बालिकाको गाडीले किचेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा अभिभावकले भ्यान सार्ने क्रममा यो दुःखद दुर्घटना भएको हो।
प्रहरीका अनुसार घटना सोमबार साँझ भएको हो। इल्तालेहतीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा परिबारकै डेढ वर्षीय छोरी हुन्।
आफ्नै अभिभावकले आँगनमा गुडाइरहेको भ्यानको मुनि ती बालिका परेकी थिइन्। गम्भीर घाइते भएकी उनलाई तत्कालै एम्बुलेन्स हेलिकप्टरमार्फत थप उपचारका लागि अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार अहिले घटनाको थप विवरण संकलन गर्ने र परिस्थितिबारे थप अनुसन्धान गर्ने काम भैरहेको छ।
दुर्घटनाको कारण र अवस्था हेरेर मात्र कानुनी मुद्दा तय हुने प्रहरीको भनाइ छ। यस घटनामा मादक पदार्थको कुनै संलग्नता नरहेको प्रहरीले विश्वास गरेका छन्।
फिनल्यान्डमा घर अगाडिको निजी आँगन अर्थात् पिहामा गाडी पार्क गर्दा वा सार्दा विशेष ध्यान दिनु आवश्यक मानिन्छ। साना बालबालिकाहरू अचानक गाडीको पछाडि वा मुनि आउन सक्ने र ऐनाबाट समेत नदेखिने भएकाले भएकाले यस्ता क्षेत्रमा अत्यधिक सतर्कता अपनाउन ट्राफिक अधिकारीहरूले सचेत गराउँदै आएका छन्।








