📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- पछिल्लो तीन वर्षमा हराएका सामानको संख्यामा ४० प्रतिशतले वृद्धि।
- यातायातमा हराएका सामानमध्ये एक चौथाइ मात्र लगिन्छ फिर्ता।
- तीन महिनासम्म हराएको सामान दाबी गर्न मिल्छ।
हेलसिन्की क्षेत्रको सार्वजनिक यातायात HSL मा बर्सेनि ३० हजारभन्दा बढी सामान छुट्ने गरेका छन्। यति धेरै सामान हराए पनि एक चौथाइ यात्रुले मात्र आफ्ना सामान फिर्ता माग्ने गरेको HSL ले जनाएको छ।
HSL का अनुसार राजधानी क्षेत्रमा हरेक दिन १० लाखभन्दा बढी पटक सार्वजनिक यातायातको प्रयोग हुन्छ। यस क्रममा यात्रुहरूले थुप्रै सामान बस, ट्राम, मेट्रो, वा रेलमा छाड्ने गरेका छन्।
यातायातमा साँचो, किताब, पानीको बोतलदेखि छाता, पञ्जा र टोपी धेरै भेटिन्छन्। तर कहिलेकाहीँ विवाहको लुगा, टर्की चरा/मासु, केक, फोटो फ्रेम, पेन्ट गरिएका कला, र गाईलाई कन्याउने ब्रस जस्ता अनौठा सामान पनि भेटिने गरेका छन्।
गत वर्ष मात्रै यातायातका साधनमा ३३ हजार ९ सय ४९ सामान भेटिएका थिए। सन् २०२३ को तुलनामा यो संख्या ४० प्रतिशतले बढी हो।
हराएको सामान खोज्ने घटे
हराएका सामान खोज्ने वा दाबी गर्ने दर भने निरन्तर घट्दै गएको छ। HSL का अनुसार हाल औसतमा २४ प्रतिशत सामान मात्र फिर्ता लगिने गरेका छन्।
HSL ग्राहक सेवा प्रबन्धक साना रुओनालाका अनुसार मानिसहरूले कम मूल्यका सामान त्यति धेरै खोज्दैनन्। तर घडी र गहना जस्ता बहुमूल्य सामान भने प्रायः मालिकसम्मै पुग्ने उनी बताउँछिन्।
‘लस्ट एन्ड फाउन्ड’को भौतिक कार्यालयमा गएर सामान खोज्दा कुनै शुल्क लाग्दैन। सामान भेटिएमा त्यसको मूल्यको ५ प्रतिशत सेवा शुल्क तिर्नुपर्छ। तर सामान जति बहुमुल्य भएपनि अधिकतम १७ युरोभन्दा तिर्नु पर्दैन।
हराएका सामान लस्ट एन्ड फाउन्डमा आइपुग्न समय लाग्ने भएकाले दुई दिन पर्खिन सुझाव दिइएको छ। तीन महिनासम्म पनि दाबी गर्न नआएमा कानुनअनुसार ती सामान परोपकारी संस्था (च्यारिटी) लाई दिइने वा पुनः प्रयोग (रिसाइकल) मा ल्याइने HSL बताउँछ।
यदि तपाईंको पनि कुनै सामान HSL को सार्वजनिक यातायातमा छुटेको छ भने हेलसिन्कीको मुख्य रेलवे स्टेसनमा रहेको लस्ट एन्ड फाउन्ड कार्यालयमा वा found.fi वेबसाइटमार्फत सम्पर्क गर्न सक्नुहुन्छ।








