📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- छ महिनासम्म तलब नदिई कामदार निकालिएको खुलासा।
- बेरोजगारी दर उच्च हुँदाहुँदै विदेशबाट श्रमिक ल्याउने प्रवृत्तिप्रति उठाए प्रश्न।
- कानुन मिच्नेलाई कडा सजाय र प्रभावकारी अनुगमनको गरे माग।
भान्ता नगर परिषद् बैठकमा फिनल्यान्डका विभिन्न सहरहरूमा आप्रवासी श्रमिकमाथि भइरहेको श्रम शोषणको विषय गम्भीर रूपमा उठेको छ।
हिजोको बैठकमा नेपाली मूलका नगर काउन्सिलर शेखर आचार्यले मानव बेचबिखन र श्रमिक शोषणविरुद्ध कडा कदम चाल्न माग गरे।
काउन्सिलर आचार्यले आफ्नो मन्तव्यमा एक रेस्टुरेन्टका पूर्व कामदारको पीडा राखेका थिए। उनले ती कामदारलाई छ महिनासम्म तलब नदिई अन्ततः कामबाट निकालिएको घटना उल्लेख गरेका थिए।
“केही साताअघि एक रेस्टुरेन्ट कर्मचारीले छ महिनादेखि तलब नपाएको विषयमा जानकारी गराउँदै मसँग सहयोग माग्नु भएको थियो,” फिनिस भाषामा बोलेका आचार्यले परिषद् बैठकमा भने। “छ महिनासम्मको तलब नतिरी अन्ततः उनलाई कामबाट निकालियो। मालिकले कम्पनी टाट पल्टिँदै छ (कङ्गाल हुँदैछ) भनेर जानकारी मात्र दिएको रहेछ।”
“एक छिन उनको परिस्थितिबारे सोचौँ। महिनौँ काम गरेर पनि तलब पाएनन्। उनले कोठा भाडा कसरी तिर्ने? खानेकुरा कसरी किन्ने? अनि आफ्नो परिवारको हेरचाह कसरी गर्ने?” आचार्यले प्रश्न गरेका थिए।
आचार्यभन्दा अगाडी बोलेकी वामपन्थी गठबन्धनकी गासा विभानीले आप्रवासी श्रमिकको शोषण टाढाको वा सैद्धान्तिक विषय मात्र नभएर वर्तमानमा हरेक दिन घटिरहेको घटना भएको बताएकी थिइन्।
उनले निर्माण, सरसफाइ, हेरचाह, र अन्य क्षेत्रमा समेत आधुनिक दासताको झल्को दिने शोषण भइरहेको भन्दै थप कदमको माग गरेकी थिइन्।
आचार्य पछि बोलेका वामपन्थी गठबन्धनकै यारी यास्केलाइनेनले पनि फिनल्यान्डमा भइरहेको आप्रवासी कामदारको शोषणमा आँखा चिम्लिए आफूहरूले त्यसलाई स्वीकार गरेको ठहर्ने बताएका थिए।
नगर परिषद्को हिजोको बैठकमा एसडीपी पार्टीका अध्यक्ष तथा फिनल्यान्डको आगामी प्रधानमन्त्रीको रूपमा ‘प्रोजेक्ट’ गरिएका आन्ति लिन्डम्यान समेत उपस्थित थिए। उनी पनि भान्ता नगरमा नगर सदस्य छन्।
बैठकमा वामपन्थी गठबन्धनको नगर परिषद् समूह तथा अन्य १३ जना नगर परिषद् सदस्यले पेस गरेको ‘आधुनिक दासत्वको अन्त्य’ सम्बन्धी प्रस्तावमाथि सवाल जवाफ भएको थियो।
अनेक छन् समस्या
आचार्यले बैठकमा बताए अनुसार माथि भनिएजस्तो जघन्य अपराधको सिकार हुने ती कामदार एक्ला व्यक्ति होइनन्। भान्ता र फिनल्यान्डका अन्य ठाउँमा पनि तलब नदिने र सित्तैमा ओभर-टाइम गराउने काम बारम्बार भइरहेको छ।
अपराधीहरूलाई समातिने जोखिम एकदमै कम भएको र कानुनी सजाय ढिलो हुने कुरा राम्ररी थाहा भएका कारण उनीहरूले कम्पनी टाट पल्टिएको घोषणा गर्ने र नयाँ कम्पनी खोल्ने गरेको आचार्यले उल्लेख गरेका थिए।
“अपराधीहरूलाई समातिने जोखिम एकदमै कम छ भन्ने थाहा छ। अनि त्यसको परिणाम वा सजाय धेरै ढिलो गरी मात्र आउँछ। हाम्रो प्रणालीको सबैभन्दा ठूलो समस्या यही हो,” उनले भने।
भान्तामा बेरोजगारी दर उच्च रहे पनि विदेशबाट किन श्रमिक ल्याइन्छ भनेर पनि आचार्यले प्रश्न गरेका थिए। फिनल्यान्डमै काम खोजिरहेका हजारौँ विदेशी विद्यार्थीलाई अवसर नदिएकोमा पनि उनले असन्तुष्टि पोखे।
“भान्तामा बेरोजगारी दर १३ प्रतिशतभन्दा बढी हुँदाहुँदै पनि कम्पनीहरूले बेरी टिप्न, सरसफाइ गर्न र रेस्टुरेन्टहरूमा काम गर्न विदेशबाट किन श्रमिकहरू ल्याइरहेका छन्,” आचार्यले प्रश्न गरे। “हामीकहाँ काम खोजिरहेका हजारौँ विदेशी विद्यार्थीहरू पनि छन्। उनीहरूलाई किन अवसर दिइँदैन?”
साना व्यवसायी र इमानदार उद्यमीहरूलाई नियम खुकुलो बनाएर सहयोग गर्नु राम्रो भएपनि कानुन मिच्ने र मानिसहरूको बाध्यताको फाइदा उठाउने कम्पनीहरूमाथि कडा भन्दा कडा कदम चाल्नुपर्ने उनले प्रस्ट पारे।
फिनल्यान्डमा पछिल्लो समय विदेशी श्रमिक र विद्यार्थीहरूको सङ्ख्या बढ्दो छ। रेस्टुरेन्ट, सरसफाइ र कृषि क्षेत्रमा आप्रवासी कामदारमाथि आर्थिक शोषणका घटनाहरू बेलाबेलामा बाहिर आइरहेका छन्।
विदेशी श्रमिकहरू भाषागत कठिनाइ र कानुनी प्रक्रियाको पूर्ण जानकारी नहुँदा अक्सर रोजगारदाताबाट ठगिने गरेका छन्। कानुनी प्रक्रिया लामो हुने भएकाले पीडितले न्याय पाउन ढिलाइ हुने गरेको छ, जसको फाइदा उठाउँदै केही व्यवसायीले कम्पनी बन्द गरेर कारबाहीबाट बच्ने बाटो खोज्ने गरेको समेत देखिएको छ।
आचार्यको पुरा सम्बोधन तलको भिडियोमा हेर्न सक्नुहुन्छ।








